काठमाडौँ: सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने निर्णय कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घले सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ र आफ्ना सम्पूर्ण सदस्यलाई सहयोग गर्न आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार, ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ सरकारद्वारा पारित हुनु स्वागतयोग्य कदम हो। यस निर्देशिकाले स्वदेशी उत्पादन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याउने विश्वास गरिएको छ।
सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै यो निर्देशिका जारी गरेको हो। यसको उद्देश्य स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आयात व्यवस्थापन गर्ने, र उत्पादित वस्तुको बजार प्रवर्द्धन सुनिश्चित गर्नु हो।
महासङ्घले सरकारको यो निर्णयको समर्थन गर्दै आफ्ना सदस्यहरूलाई नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको छ। यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनका साथै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास महासङ्घले व्यक्त गरेको छ।


