Wednesday, June 24, 2026
Home Blog Page 571

आईसीसी यू-१९ महिला टी-२० विश्वकप:अस्ट्रेलियासँग पराजय भोगेसँगै समूह चरणबाटै बाहिरियो नेपाल

0

काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग ८३ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो।

अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो। कप्तान पुजा महतोले सर्वाधिक १८ रन जोडे पनि अरुले सम्झन लायक खेल्न सकेनन्।

अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २-२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन्।

त्यसअघि मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।

नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन्। नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन्। सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन्।

यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ। नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो। नेपालले प्रतियोगिताका तीनै खेलमा पराजय बेहोरेको छ।

रविको बयान सकियो, थुनछेक बहस भोलि

0

बुटवल: रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।

न्यायाधीश पल्हादकुमार योगीको इजलासमा लामिछानेको बयान मात्र सकिएकाले थुनछेक बहस बुधवार नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

बुटवलको सुप्रिम सहकारीको बचत ठगीसम्बन्धी आरोपमा आइतबार पूरक अभियोग दर्ता गरिएको थियो। बयानका लागि मंगलबार लामिछाने भैरहवा पुगेका थिए।

यस मुद्दामा लामिछानेसहित छविलाल जोशी, जीबी राई र अन्य ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। आरोपअनुसार सुप्रिम सहकारीका १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरिएको छ।

पछिल्लो छानबिनमा प्रहरीले सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएकाे र २ करोड रुपैयाँ लामिछानेको नाममा ऋण गएकाे पत्ता लगाएको थियो।

यसअघि लामिछाने कास्की र काठमाडौंका मुद्दामा क्रमशः ६५ लाख र ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। हाल उनीमाथि चितवन र पर्साका अदालतमा बयान दिन बाँकी छ। चितवन र पर्साका सरकारी वकिलसमक्ष बयानका लागि उनीमाथि पक्राउ पुर्जी जारी भएको छ।

वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः कांग्रेस नेता कोइराला

0

मोरङ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै पनि अवस्थामा परिवर्तन नहुने स्पष्ट पारेका छन्।

आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन, मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै डा. कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिको आधारमा निर्माण भएको सरकार परिवर्तन हुने कुनै कारण नरहेको बताए।

उनले भने, “छ महिनाको अवधिमा कुनै सरकारले ठूलो उपलब्धि हासिल गर्न सक्दैन।” संविधान संशोधन, सुशासन, र आर्थिक विकासजस्ता विषयमा सरकारले गम्भीर भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो। साथै, संविधान संशोधनको मुद्दालाई जनतामाझ लैजान जोड दिनुपर्ने धारणा व्यक्त गरे।

डा. कोइरालाले हालैको आफ्नो बेलायत भ्रमणका क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग स्थापना गर्न आह्वान गरेको जानकारी दिए। उनले यसले नेपालको दुई छिमेकी मुलुकसँगको व्यापार घाटा कम गर्ने विश्वास समेत व्यक्त गरे।

कस्तो रहला आज देशभरको मौसम ?

0

काठमाडौँ । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै भूभागमा भने बिहान हुस्सु र कुहिरो लागिरहेको छ।

आज कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भने आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान छ।

विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई र उपत्यकाका धेरै ठाउँमा बिहान हुस्सु र कुहिरोले ढाक्ने सम्भावना छ।

मौसमको यस परिस्थितिले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आप्रावासीप्रति कठोर बनेका ट्रम्पका आफ्नै हजुरबुबा जर्मन

0

काठमाडौं: अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन्। सपथपछि ३० मिनेट लामो सम्बोधनमा उनले मेक्सिकोसँगको दक्षिणी सिमामा संकटकाल घोषणा गर्दै अबैध आप्रवासीलाई देश निकाला गर्ने र तेल तथा ग्यास उत्पादन बढाउनेजस्ता झन्डै चार दर्जन योजना सार्वजनिक गरेका छन्।

ट्रम्प परिवारको इतिहास
डोनाल्ड ट्रम्पका हजुरबुवा फ्रेडरिक ट्रम्प जर्मनीमा जन्मेका थिए। उनी १६ वर्षको उमेरमा जर्मनीको सेनामा भर्ती हुनुपर्ने कानुनबाट बच्न अमेरिका आएका थिए। उनले न्यूयोर्कमा नाइको काम सुरु गरे र पछि अलास्कामा खानी व्यवसायबाट धेरै सम्पत्ति जोडे।

उनका छोरा फ्रेड ट्रम्पले घर निर्माण व्यवसायमार्फत ट्रम्प परिवारको प्रतिष्ठा स्थापना गरे। उनले दोस्रो विश्वयुद्धका समयमा सरकारी योजनाहरूको फाइदा उठाउँदै ब्रुकलिन र क्वीन्सजस्ता क्षेत्रमा सस्तो घर निर्माण गरेका थिए।

डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा न्यूयोर्कमा भएको हो। उनी फ्रेड ट्रम्पका पाँच सन्तानमध्ये चौथो हुन्। धनी परिवारमा जन्मेका कारण ट्रम्पलाई ‘चाँदीको चम्चा लिएर जन्मेका’ भनेर पनि उल्लेख गरिन्छ।

ट्रम्पले आफ्नो व्यवसायिक करियरमा ठूलाठूला परियोजनाहरू पूरा गरे। तर, उनीसँग केही विवाद पनि जोडिएका छन्। १९७० को दशकमा उनीमाथि अश्वेतहरूलाई घर भाडामा नदिएको आरोप लागेको थियो।

सपथपछि घोषणा गरिएको नीतिहरू
सपथ ग्रहणपछि ट्रम्पले:

मेक्सिको सिमानामा संकटकाल लागू।
अबैध आप्रवासीलाई देश निकाला।
देशमा तेल र ग्यास उत्पादन वृद्धि।
पनामा नहरको स्वामित्व लिने।
डोनाल्ड ट्रम्पको यो सपथग्रहणले अमेरिकी नीतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

दुई जना अमेरिकी नागरिक रिहा गर्ने तालिबानको घोषणा

0

काबुल: अफगानिस्तानको तालिबान सरकारले अमेरिकासँगको बन्दी आदानप्रदान सम्झौतामा थुनिएका अमेरिकीहरूलाई रिहा गर्ने घोषणा गरेको छ। काबुलस्थित तालिबानको विदेश मन्त्रालयले अमेरिकी नागरिकहरूको नाम वा सङ्ख्या खुलाएको छैन। तथापि, दुई दशकअघि पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा गिरफ्तार भई क्यालिफोर्नियामा आजीवन कारावासको सजाय भोगिरहेका खान मोहम्मदको साटासाटमा यो कदम उठाइएको बताएको छ।

तालिबानको विदेश मन्त्रालयले मंगलबार एक्समार्फत जानकारी दिँदै भनेको छ, “अफगानिस्तानको इस्लामिक इमिरेट्स र संयुक्त राज्य अमेरिकाबीचको व्यापक र फलदायी वार्तापछि अमेरिकी नागरिकहरूको रिहाइको बदलामा अफगान मुजाहिद खान मोहम्मदलाई अमेरिकी जेलबाट रिहा गर्न सहजीकरण गर्ने सम्झौता भएको छ।”

यो घटनाले अफगानिस्तान र अमेरिकाबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ। यसअघि, सन् २०२१ मा अमेरिकी फौजले अफगानिस्तानबाट पूर्ण रूपमा फिर्ता भएपछि तालिबानले देशको नियन्त्रण लिएको थियो।

यस बन्दी आदानप्रदानले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधारको सङ्केत गरेको छ। थप विवरणहरू सार्वजनिक हुन बाँकी छ।

“प्रधानमन्त्रीले मसँग फेस गर्नै सकेनन्”- हर्क साम्पाङ्ग

0

काठमाडौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भेट गर्न नचाहेको आरोप लगाएका छन्।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका मेयर साम्पाङले प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि सामाजिक सञ्जालमा लेखे, ‘केपी ओलीले मलाई फेस गर्न सकेनन्।’

खानेपानीको समस्याबारे कुरा राख्न मेयर साम्पाङ सोमबार रित्तो गाग्रोसहित काठमाडौं आएका थिए। मंगलबार सिंहदरबार पुगेका बेला प्रहरीद्वारा गाग्रो खोसिएको बताइएको छ।

उनले खानेपानी मन्त्रालयलाई धरानको पानी समस्या समाधानका लागि बारम्बार ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको गुनासो व्यक्त गरेका छन्।

राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ।

खुट्टाले बज्र थिचेका खेम सेन्चुरीलाई शिव परियारले दिए यस्तो सुझाव

0

काठमाडौं: गायक शिव परियारले खेम सेन्चुरीलाई सुझाव दिएका छन् कि उनले आफूलाई अन्य कलाकार जस्तो बनाउनको लागि प्रयास नगर्नुहोस्। भ्वाइस अफ नेपालमा जर्जको रूपमा देखा परेका परियारले बर्जर थिच्ने विषयमा व्यापक आलोचना भएसँगै यस्तो टिप्पणी गरेका हुन्। खुट्टाले बर्जर थिच्ने नक्कल अरू कसैबाट गरेको भन्ने परियारको धारणा छ।

“खेम भाइको भिडियो हेर्दा अलिकति अस्वाभाविक लाग्यो। भविष्यमा आफूलाई छोडेर अरूको जस्तो बन्ने प्रयास नगर्नुहोस्,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। “मौलिक खेम सेन्चुरी नै नेपाली लोकसंगीतलाई प्रिय र आवश्यक छ। आफूलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्रायः नकारात्मक अनुभवहरू सिर्जना हुने गर्छ। भाइको अवस्थाले भविष्यमा सोच्नुपर्ने विषय हो।”

परियारले संगीतमा केही विवाद उत्पन्न हुँदा जात, धर्म, वर्गमाथि आक्रमण हुने विषयमा धारणा राखेका छन्। “मैले पढेको संगीतको शास्त्रमा संगीतको कुनै जात, धर्म, वर्ग, रंग र भूगोल हुँदैन भनेर उल्लेख छ। म त्यही शास्त्रको आधारमा संगीतमा जीवनको यात्रा गरिरहेको छु,” उनले थपे। “तर मेरो देशमा संगीतकार कलाकारको विवाद आउँदा पहिलो हमला जात र वर्गमा गरिन्छ। यसपटक पनि यही भयो।” परियारले सामाजिक सञ्जालमा जात भनेर गाली गर्नेहरूलाई संगीतका श्रोता नभई जातका श्रोता र हिमायती रहेको टिप्पणी गरेका छन्।

सगरमाथा संवादको घोषणा गर्दै सरकार

0

काठमाडौँ: सरकारले आगामी जेठको पहिलो साता ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीका साथ आज यसको घोषणा गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोहमार्फत संवादको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

समारोहमा मन्त्री, सचिव, कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रतिनिधि, जलवायु क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको उपस्थिति रहने बताइएको छ। जलवायु परिवर्तनका प्रभाव र समाधानमा नेतृत्व प्रदान गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद आयोजना गर्न लागिएको हो।

परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले यसका लागि विभिन्न समिति गठन गरी तयारी थालेका छन्। मन्त्रिपरिषद्ले सगरमाथा संवादलाई दुई वर्षमा एकपटक आयोजना गर्ने निर्णय गरिसकेको छ। आगामी जेठ २, ३ र ४ गते यो संवाद आयोजना गर्ने प्रस्ताव गरिएको छ।

वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार संवादलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको एक अंगका रूपमा विकास गरिनेछ। संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउने तयारी गरिरहेको छ।

पहिलोपटक हुन लागेको सगरमाथा संवादको मुख्य विषयवस्तु ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ। संवादमा हिमाली देशहरूमा जलवायु परिवर्तनका असर र समाधानबारे विषयगत छलफल गरी निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने योजना छ।

नेपालले न्यून कार्बन उत्सर्जनका बावजूद जलवायु परिवर्तनका उच्च जोखिम सामना गर्नु परेको पीडा, क्षतिपूर्ति प्राप्ति, र नेपालले प्रदान गरेका वातावरणीय सेवाबापतको भुक्तानीका लागि संवादका क्रममा पैरवी गरिने बताइएको छ।

संवादको तयारीका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा निर्देशन समिति, प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा व्यवस्थापन समिति र वन मन्त्रालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ।

संवादले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायमा एकरूपता ल्याउने, जलवायु न्यायका लागि पैरवी गर्ने, तथा जलवायु विज्ञान र प्रविधिको विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

यस संवादमा विशेषगरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानमा कार्यरत विज्ञ, राष्ट्रिय र अन्तर्राष्ट्रिय निजी क्षेत्रका प्रतिनिधि, सञ्चार विज्ञ, र समाजका प्रभावशाली व्यक्तित्वलाई निमन्त्रणा गरिनेछ।