Thursday, May 7, 2026
Home Blog Page 55

जेनजी प्रदर्शन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग, मध्यपूर्वस्थित नेपालीको सुरक्षामा चिन्ता

0

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाबारे न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि आइतबारसम्म बसेको बैठकले उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गरेको हो।

बैठकले हर्मुज क्षेत्रस्थित बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल स्वदेश फर्काउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ।

साथै, मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसले विश्वशान्तिको आवश्यकता औंल्याएको छ। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

बैठकले हाल देखिएका समस्या व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य भएको निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनपछि गठन भएको नयाँ नेतृत्वलाई सीमित समय (करिब ५० दिन) भित्र सबै चुनौती समाधान गर्न कठिन भएको पनि उल्लेख गरिएको छ।

त्यसैगरी, निर्वाचन परिणामबारे जिल्ला तथा निर्वाचन क्षेत्रबाट थप प्रतिवेदन पठाउन निर्देशन दिँदै प्रारम्भिक समीक्षा र स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी पुनः समीक्षा गर्ने निर्णय गरिएको छ। कांग्रेसले अब पार्टी गतिविधि पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय पनि गरेको छ।

पाम र एमएमएसीलाई अन्तर्राष्ट्रिय जुडोमा टिम च्याम्पियनको उपाधि

0

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन्। पाम जुनियरतर्फ तथा एमएमएसी क्याडेटतर्फ च्याम्पियन बन्न सफल भएका हुन्।

नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा सम्पन्न प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्दै शीर्ष स्थान हात पार्यो। २ स्वर्णसहित बङ्गलादेश क्रिरा शिखा प्रतिष्ठान दोस्रो तथा १ स्वर्ण र ३ रजतसहित दाङ जुडो डोजो तेस्रो स्थानमा रहे।

नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटतर्फ एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य जित्दै टिम च्याम्पियन बन्यो। ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित पाम दोस्रो तथा ३ स्वर्ण, १ रजत र २ कांस्यसहित भुटानको पेल्खिल डोजो क्लब तेस्रो भयो। जुनियर र क्याडेट दुवै समूहमा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषतर्फ पामका सविनकुमार दियाली तथा महिलातर्फ बङ्गलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए। क्याडेट पुरुषतर्फ एमएमएसीका प्रिन्स विक र महिलातर्फ भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्ट चारै खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए भने कविराम घर्ती मगर उत्कृष्ट निर्णायक घोषित भए।

प्रतियोगिताको अन्तिम दिन आइतबार जुनियरतर्फ ९ स्पर्धाका फाइनल खेल सम्पन्न भएका थिए। पुरुषतर्फ ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दीपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान टीखत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बङ्गलादेशका साहिन अहमदले स्वर्ण जिते। महिलातर्फ ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बङ्गलादेशकी फबिहा बुश्रा विजेता बने।

विजेताहरूलाई त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा. डा. रामकृष्ण महर्जन तथा आयोजक सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरे। सो अवसरमा जुडोका अग्रजमध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

पश्चिमी वायुको प्रभाव: पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ। यसका कारण कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली छ। कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा अन्य स्थानका एक–दुई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ।

अमेरिकाको ह्युस्टनमा उल्कापिण्ड खस्दा घरमा क्षति

0

काठमाडौं । अमेरिकाको ह्युस्टन क्षेत्रमा शनिबार राति एउटा सम्भावित उल्कापिण्ड खस्दा एक घरमा क्षति पुगेको छ।

अधिकारीहरूका अनुसार उक्त पिण्डले घरको छत चिर्दै दुई तलामा क्षति पुर्‍याउँदै भान्छासम्म प्रवेश गरेको थियो। पोन्डेरोसा फायर प्रमुख फ्रेड विन्डिसले यो “उल्कापिण्ड जस्तो देखिने” वस्तु भएको बताएका छन्।

घटना उत्तर ह्युस्टनको पोन्डेरोसा फरेस्ट क्षेत्रमा भएको हो। उक्त पिण्ड आकारमा हातको पञ्जाभन्दा केही ठूलो रहेको र ठूलो उल्कापिण्डको टुक्रा हुन सक्ने अनुमान गरिएको छ।

नासाका अनुसार स्थानीय समयअनुसार दिउँसो ४:४० बजे ह्युस्टनको उत्तर–पश्चिम क्षेत्रमा आकाशमा उल्का देखिएको थियो। करिब ३५ हजार माइल प्रतिघण्टाको गतिमा अघि बढिरहेको उक्त उल्का वायुमण्डलमा प्रवेश गर्दा टुक्रा–टुक्रा भएको थियो।

करिब १ टन तौल र ३ फिट व्यास भएको उक्त उल्का विखण्डन हुँदा उत्पन्न भएको दबाबका कारण ठूलो आवाज सुनिएको बताइएको छ। स्थानीय बासिन्दाहरूले आकाश सफा हुँदाहुँदै पनि मेघ गर्जेको जस्तो आवाज सुनेको बताएका छन्।

यसअघि पनि अमेरिकामा यस्ता खगोलीय घटनाहरू देखिँदै आएका छन्। यस हप्ताको सुरुमा पनि ठूलो क्षुद्रग्रह विभिन्न राज्यहरूमा देखिएको थियो भने गत जुन महिनामा जर्जियामा चम्किलो उल्का विस्फोट भएको घटना सार्वजनिक भएको थियो।

‘संयमको आग्रह निरर्थक’ : इरानको कडा प्रतिक्रिया

0

काठमाडौं । इरानी विदेश मन्त्रालयका प्रवक्ताले इरानलाई संयम अपनाउन गरिएको आग्रहको कुनै अर्थ नरहेको बताएका छन्।

इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार प्रवक्ता इस्माइल बघेईले आक्रमणको सिकार बनेको देशसँग संयमको अपेक्षा गर्नु अनुचित भएको बताएका हुन्।

उनले आक्रमण गरेर द्वन्द्व सुरु गर्ने देशहरूले नै त्यसलाई रोक्ने जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा हवाई आक्रमण गरेपछि द्वन्द्व चर्किएको हो। त्यसयता इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी र सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिकारात्मक आक्रमण गर्दै आएको जनाएको छ।

जारी द्वन्द्वका कारण दुवै पक्षमा ठूलो क्षति भएको छ भने ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण हुँदा तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ। यसले विश्वका विभिन्न देशहरूमा आर्थिक तथा ऊर्जा संकट थप गहिरिएको छ।

इरानमा व्यापक क्षति: आक्रमणमा हजारौँ संरचना ध्वस्त, नागरिक हताहत बढ्दै

0
FILE PHOTO: Smoke rises in the Fujairah oil industry zone, caused by debris after interception of a drone by air defenses, according to the Fujairah media office, amid the U.S.-Israel conflict with Iran, in Fujairah, United Arab Emirates, March 14, 2026. Picture taken with a mobile phone. REUTERS/Staff/File Photo

तेहरान । संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानविरुद्ध युद्ध सुरु भएदेखि ८० हजारभन्दा बढी स्थलमा आक्रमण गरिएको दाबी गरिएको छ। विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनमा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ।

उपलब्ध विवरणअनुसार आक्रमण गरिएका संरचनामध्ये २० हजारभन्दा बढी तेहरानमा रहेका छन् भने ६० हजारभन्दा बढी अन्य स्थानमा रहेका छन्। करिब १८ हजार ७९० व्यापारिक स्थल, २६६ स्वास्थ्य संस्था र ४९८ विद्यालय प्रभावित भएको जनाइएको छ।

आक्रमणका कारण १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको र ९० भन्दा बढी घाइते भएका छन्। साथै बालबालिका र २३१ महिलासहित सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। विभिन्न सञ्चारमाध्यमका अनुसार युद्धमा कुल मृतक सङ्ख्या एक हजार ५०० भन्दा बढी पुगेको अनुमान गरिएको छ।

गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरानलगायत इरानका विभिन्न शहरहरूमा आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।

क्युबामा पुनः विद्युत् संकट, देशभर अन्धकारपछि विरोध चर्कियो

0

काठमाडौं । क्युबामा राष्ट्रिय विद्युतीय ग्रिड एक हप्ताभित्र दोस्रो पटक ध्वस्त हुँदा एक करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। देशभर घर, व्यवसाय र सार्वजनिक सेवा अवरुद्ध भएका छन्।

क्युबाको ऊर्जा मन्त्रालयले राष्ट्रिय विद्युतीय प्रणाली पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिँदै पुनःस्थापनाको काम सुरु गरिएको जनाएको छ। ग्रिड अपरेटरले अस्पताल र खानेपानी जस्ता अत्यावश्यक सेवाहरूलाई प्राथमिकतामा राखेर क्रमशः विद्युत् आपूर्ति पुनः सुरु गरिरहेको छ।

अमेरिकी इन्धन प्रतिबन्धका कारण विद्युत् उत्पादनका लागि आवश्यक विदेशी तेल आयातमा समस्या उत्पन्न भएको छ। यही कारण यस महिनामात्र क्युबाले तीनपटक ठूला ब्ल्याकआउटको सामना गर्नुपरेको छ।

पुरानो विद्युत् पूर्वाधार र इन्धन अभावले समस्या झन् जटिल बनेको छ। पछिल्लो विद्युत् संकटपछि सर्वसाधारणमा असन्तोष बढ्दै गएको छ।

राजधानी हवानामा प्रदर्शनकारीहरूले भाँडाकुँडा ठोकेर विरोध जनाएका छन् भने मोरोन शहरमा केही प्रदर्शनकारीहरूले कम्युनिष्ट पार्टीको कार्यालयमा आक्रमण तथा आगजनी गरेका छन्। क्युबामा अनुमति बिना विरोध प्रदर्शन गर्न भने कानूनी रूपमा प्रतिबन्ध छ।

निर्वाचन परिणामपछि लोहनीको राजीनामा, महाधिवेशनको माग

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको बताएका हुन्।

लोहनीले तदर्थ समितिमार्फत महाधिवेशन गरिनुपर्ने माग समेत गरेका छन्। महाधिवेशनपछि प्राप्त पदमा मात्र आफू रहने उनको राजीनामापत्रमा उल्लेख छ।

साथै, पार्टी नेतृत्व तहमा रहेका पदाधिकारीहरूले पनि तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको धारणा रहेको छ।

कांग्रेसमा पुनः विवाद चर्कियो, देउवा–कोइराला समूहद्वारा छुट्टै बैठक आह्वान

0

काठमाडौं । नेपाली कांग्रेसमा पुनः आन्तरिक विवाद चर्किन थालेको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सानेपामा जारी रहँदा शेरबहादुर देउवा–शेखर कोइराला समूहले छुट्टै केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

उक्त समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। आज बिहान नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो।

देउवा–कोइराला समूहले आह्वान गरेको बैठकमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई भने नबोलाउने जनाइएको छ। यसअघि खड्काको अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको कारण बैठकमा सहभागी नगराइने बताइएको छ।

उक्त समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन रहेको छ।

आजको कार्यसम्पादन समिति बैठकमा पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत नेताहरू सहभागी थिए।

कांग्रेसद्वारा गगन थापाको राजीनामा अस्वीकृत, नेतृत्व निरन्तरतामा जोड

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकार गरेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेका थिए। तर सानेपामा बसेको केन्द्रीय समिति बैठकले उक्त राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।

प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिअनुसार वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व आवश्यक रहेको ठहर गर्दै राजीनामा अस्वीकार गरिएको हो। बैठकले निर्वाचन पराजयका कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको निष्कर्ष निकालेको छ।

त्यस्तै, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता र कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको, साथै सामूहिक जिम्मेवारीको सिद्धान्तलाई ध्यानमा राखेर नेतृत्व निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको बैठकको निष्कर्ष छ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ। समीक्षा अनुसार गुटबन्दी, आन्तरिक असहयोग, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, संरचनागत समस्या र नयाँ पुस्ताको असन्तोषजस्ता कारणले निर्वाचन परिणाम प्रभावित भएको उल्लेख गरिएको छ।

नेपाली कांग्रेस अब आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय गरिएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति तय गरिने जनाइएको छ।

साथै, बैठकले पार्टी एकता सुदृढ गर्दै संगठन पुनर्निर्माणमा लाग्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेको छ।

बैठकले मध्यपूर्वको युद्ध अन्त्यको अपेक्षा गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेको छ। साथै, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ।

कार्यसमितिको बैठकले दिवंगत नेताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ।