काठमाडौं । अमेरिकाको ह्युस्टन क्षेत्रमा शनिबार राति एउटा सम्भावित उल्कापिण्ड खस्दा एक घरमा क्षति पुगेको छ।
अधिकारीहरूका अनुसार उक्त पिण्डले घरको छत चिर्दै दुई तलामा क्षति पुर्याउँदै भान्छासम्म प्रवेश गरेको थियो। पोन्डेरोसा फायर प्रमुख फ्रेड विन्डिसले यो “उल्कापिण्ड जस्तो देखिने” वस्तु भएको बताएका छन्।
घटना उत्तर ह्युस्टनको पोन्डेरोसा फरेस्ट क्षेत्रमा भएको हो। उक्त पिण्ड आकारमा हातको पञ्जाभन्दा केही ठूलो रहेको र ठूलो उल्कापिण्डको टुक्रा हुन सक्ने अनुमान गरिएको छ।
नासाका अनुसार स्थानीय समयअनुसार दिउँसो ४:४० बजे ह्युस्टनको उत्तर–पश्चिम क्षेत्रमा आकाशमा उल्का देखिएको थियो। करिब ३५ हजार माइल प्रतिघण्टाको गतिमा अघि बढिरहेको उक्त उल्का वायुमण्डलमा प्रवेश गर्दा टुक्रा–टुक्रा भएको थियो।
करिब १ टन तौल र ३ फिट व्यास भएको उक्त उल्का विखण्डन हुँदा उत्पन्न भएको दबाबका कारण ठूलो आवाज सुनिएको बताइएको छ। स्थानीय बासिन्दाहरूले आकाश सफा हुँदाहुँदै पनि मेघ गर्जेको जस्तो आवाज सुनेको बताएका छन्।
यसअघि पनि अमेरिकामा यस्ता खगोलीय घटनाहरू देखिँदै आएका छन्। यस हप्ताको सुरुमा पनि ठूलो क्षुद्रग्रह विभिन्न राज्यहरूमा देखिएको थियो भने गत जुन महिनामा जर्जियामा चम्किलो उल्का विस्फोट भएको घटना सार्वजनिक भएको थियो।


