Thursday, May 7, 2026
Home Blog Page 54

इरानको सन्देश: अमेरिका–इजरायलविरुद्ध रणनीतिक कारबाही जारी, युद्ध अन्त्यका ६ सर्त सार्वजनिक

0

काठमाडौं । एक वरिष्ठ इरानी अधिकारीले लेबनानी सञ्चारमाध्यम अल मायादीनसँगको कुराकानीमा इरानले अमेरिका र इजरायलविरुद्ध पूर्वनियोजित रणनीतिअनुसार कारबाही गरिरहेको बताएका छन्।

उनका अनुसार इरानले सावधानीपूर्वक र चरणबद्ध रूपमा कदम चाल्दै आएको छ, जसले शत्रुपक्षका सैन्य प्रणालीहरूमा क्षति पुर्‍याएको दाबी गरिएको छ। साथै, इजरायली आकाश क्षेत्रमा आफ्नो प्रभाव बढ्दै गएको पनि उनले उल्लेख गरेका छन्।

इरानी पक्षले आफ्ना विरोधीलाई ‘पाठ नसिकाउँदासम्म’ कारबाही जारी रहने चेतावनी दिएको छ। साथै, युद्ध अन्त्यका लागि इरानले ६ वटा सर्तहरू अघि सारेको जनाएको छ।

  • भविष्यमा पुनः युद्ध नहुने स्पष्ट ग्यारेन्टी हुनुपर्छ।
  • यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू बन्द गरिनुपर्छ।
  • इरानले बेहोरेको क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्छ।
  • सम्पूर्ण क्षेत्रमा भइरहेका युद्धहरू अन्त्य गरिनुपर्छ।
  • हर्मुज जलडमरूका लागि नयाँ नियमहरू लागू गरिनुपर्छ।
  • इरान विरोधी मिडियासँग सम्बन्धित व्यक्तिहरूमाथि कारबाही गरिनुपर्छ।

यस अभिव्यक्तिले मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किन सक्ने आकलन गरिएको छ।

न्यूयोर्क विमानस्थलमा विमान–ग्राउन्ड गाडी ठक्कर: दुईको मृत्यु, उडान अवरुद्ध

0

काठमाडौं । लागार्डिया विमानस्थल मा मोंट्रियलबाट आएको एयर क्यानडा एक्सप्रेस को विमान अवतरणका क्रममा ग्राउन्ड भेहिकलसँग ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ भने अन्य उडानहरूलाई अन्यत्र मोडिएको छ।

दुर्घटनामा कम्तीमा १३ जना घाइते भएका छन्, जसमा ११ यात्रु र दुई उद्धारकर्मी रहेका छन्। उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। जाज एभिएसन द्वारा सञ्चालित विमान आइतबार राति करिब ११:४० बजे रनवे ४ मा आगलागी नियन्त्रण गर्ने ट्रकसँग ठोक्किएको थियो। उक्त ट्रक अर्को घटनास्थलतर्फ जाँदै थियो।

प्रारम्भिक विवरणअनुसार एसी ८६४६ उडानमा ७६ जना सवार थिए, जसमा ४ जना चालकदल सदस्य रहेका थिए। सीआरजे–९०० विमान करिब ३९ किलोमिटर प्रतिघण्टा गतिमा ट्रकसँग ठोक्किएको Flightradar24 ले जनाएको छ।

पोर्ट अथोरिटी अफ न्यूयोर्क एण्ड न्यू जर्सी ले विमानस्थल तत्काल बन्द गरी आपतकालीन प्रतिक्रिया सुरु गरिएको जनाएको छ। फेडरल एभिएसन प्रशासन ले लागार्डियातर्फ हुने सबै उडान स्थगित गरेको छ। विमानस्थल कम्तीमा ०५:३० जीएमटीसम्म बन्द रहने र अवधि थपिन सक्ने जनाइएको छ।

नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड ले घटनास्थलमा ‘गो टिम’ पठाएर दुर्घटनाको अनुसन्धान सुरु गरेको छ। आगमन उडानहरूलाई अन्य विमानस्थलमा मोडिएको वा मूल स्थानमा फर्काइएको जनाइएको छ।

न्यूयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्ट ले उडान रद्द, सडक अवरोध र ट्राफिक ढिलाइ हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसअघि खराब मौसमका कारण पनि विमानस्थलमा उडान अवरोध भइरहेको थियो। साथै, संघीय बजेट अभावका कारण कर्मचारी संख्या घट्दा यात्रुहरूले सुरक्षा जाँचमा लामो समय कुर्नुपरेको अवस्था रहेको बताइएको छ।

क्विन्स क्षेत्रमा अवस्थित लागार्डिया न्यूयोर्कको तेस्रो व्यस्त विमानस्थल हो, जसले २०२४ मा ३३.५ मिलियन यात्रुलाई सेवा दिएको पोर्ट अथोरिटीले जनाएको छ।

यसअघि सन् २०२५ जनवरीमा वाशिङ्टन डीसी नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको घटना पनि उल्लेखनीय रहेको छ।

लामिछाने मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’, मंगलबार पुनः सुनुवाइ

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मंगलबार पुनः सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा सोमबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राख्दै मंगलबारका लागि सारिएको हो। न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि अर्को पेसी तोकिएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए।

यसअघि न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत ५ गते महान्यायाधिवक्ताको संशोधित निर्णयसम्बन्धी फाइल पेस गर्न आदेश दिएको थियो। सोहीअनुसार उक्त मुद्दा सुनुवाइका लागि अघि बढाइएको हो।

त्यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले पनि रिट निवेदनलाई नियमित सुनुवाइका लागि चैत १ गते पेसीमा राख्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दायर गरिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि सो निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

१०० दिनमा नीतिगत सुधार र सेवा प्रवाहमा प्रगति: मन्त्री श्रद्धा श्रेष्ठ

0

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ ले मन्त्रालय सम्हालेको छोटो अवधिमा नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएकी छन्।

१०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले आफ्नो कार्यकाल छोटो भए पनि अनुभव, सिकाइ र उपलब्धिका हिसाबले महत्वपूर्ण रहेको बताइन्। उनले महिला, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दामा गहिरो रूपमा काम गर्ने अवसर प्राप्त भएको उल्लेख गरिन्।

उनका अनुसार यस अवधिमा नीतिगत सुधार, संस्थागत सुदृढीकरण र सेवा प्रवाह सुधारका विभिन्न पहल अघि बढाइएका छन्। मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति–२०८२ कार्यान्वयनमा आएको, राष्ट्रिय लैङ्गिक लेखापरीक्षण कार्यविधि–२०८२, परियोजना सहजीकरण कार्यविधि–२०८२, बालबालिका उत्तरदायी बजेट सङ्केत सञ्चालन कार्यविधि–२०८२ तथा महिला उद्यमी समुन्नति पुरस्कार कार्यविधि–२०८२ स्वीकृत गरिएको छ।

सामाजिक सेवा प्रवाहअन्तर्गत नुवाकोटमा बाल सुधार गृह स्थापना गरिएको छ भने ज्येष्ठ नागरिकका लागि हटलाइन नम्बर १११५ सञ्चालनमा ल्याइएको छ। अपाङ्गता र ज्येष्ठ नागरिक परिचयपत्रमा एकरूपता ल्याउन सबै स्थानीय तहलाई निर्देशन दिइएको छ। दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न ब्रेल एम्बोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन्।

त्यस्तै, राष्ट्रिय अपाङ्ग कोषमार्फत १८५ जनालाई २४२ थान सहायक सामग्री वितरण गरिएको छ भने पूर्ण अशक्त व्यक्तिका लागि आवासीय पुनर्स्थापना सेवा सञ्चालन गरिएको छ। राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका १९ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

बालविवाह, दाइजो तथा तिलक प्रथाविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरिएको र जाजरकोटकी एक गर्भवती महिलालाई सुरक्षित आवास तथा स्वास्थ्य सुविधा उपलब्ध गराइएको पनि उल्लेख गरिएको छ।

मन्त्री श्रेष्ठले पशुपति वृद्धाश्रम, नुवाकोट, पोखरा र विराटनगरका बाल सुधार गृहहरूको अनुगमन गरिएको जानकारी दिँदै मन्त्रालयले ७६ जिल्लालाई समेट्ने तथ्याङ्क प्रणाली तयार गरेको बताइन्। उक्त प्रणालीले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकसम्बन्धी नीतिगत निर्णयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उनले प्रधानमन्त्री सुशीला कार्की प्रति विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा सुरु भएका कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक न्याय, समावेशी शासन र लैङ्गिक समानतामा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाइन्।

ओलीलाई समवेदना दिन रेनु र गंगा दाहाल गुन्डुमा

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई समवेदना व्यक्त गर्न नेकपाका संयोजक प्रचण्ड का छोरीहरू रेनु दाहाल र गंगा दाहाल गुन्डु पुगेका छन्।

ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो। सोही सन्दर्भमा रेनु दाहालले सोमबार गुन्डु पुगेर श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन्।

रेनुले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।

बीमा ऐन उल्लङ्घनमा आठ कम्पनी कारबाहीमा, जरिवाना र निलम्बनसम्मको निर्णय

0

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधान पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। कानुनी व्यवस्था बमोजिम काम नगरेको पाइएपछि ती कम्पनीमाथि कारबाही गरिएको हो।

कारबाहीमा पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेका छन्। प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेलका अनुसार ती कम्पनीहरूले ऐनविपरीत कार्य गरेका थिए।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ। त्यस्तै, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई नियमविपरीत कार्य गरेको पाइएपछि तीन महिनाका लागि निलम्बन गरिएको छ।

अन्य कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनअनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

बीमा ऐनको दफा १३८ (४) अनुसार प्राधिकरणको निर्देशन उल्लङ्घन गर्ने निकायलाई २ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। पहिलोपटक उल्लङ्घन गरेमा २ लाख, दोस्रोपटक २५ लाख र तेस्रोपटक वा सोभन्दा बढी उल्लङ्घन भएमा प्रत्येक पटक ५० लाख रुपैयाँ जरिवाना हुने प्रावधान रहेको छ। यसपटक पहिलो उल्लङ्घनका आधारमा जरिवाना गरिएको हो।

लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन आदेश दिएको थियो। सोहीअनुसार महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्तासम्बन्धी निर्णय संशोधनको फाइल सर्वोच्च अदालतमा पेस गरेपछि आजबाट पुनः सुनुवाइ हुन लागेको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। पुस ३० गतेको ‘टिप्पणी र आदेश’मार्फत उनले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई मुद्दा हटाउने निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

महान्यायाधिवक्ताको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले सुनुवाइ अघि बढ्न सकेको छैन। काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने हालसम्म अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन्।

सात महिनापछि उज्यालो फर्कियो: बाजुराका विकट बस्तीमा पुनः विद्युत् सेवा सुचारु

0

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाका अधिकांश विकट बस्ती सात महिनापछि पुनः झिलिमिली बनेका छन्। गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजलविद्युत् आयोजनाको नहर बगाएपछि यहाँका बस्ती अन्धकारमा डुबेका थिए।

लामो समयसम्म विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी सोलार, टुकी र मैनबत्तीको भरमा बस्न बाध्य थिए। अहिले भने हिमाली गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाबीच भएको सहमतिपछि धुलाचौरसहित विभिन्न बस्तीमा पुनः विद्युत् सेवा सुचारु भएको छ।

बाढीले विद्युत् नहरसँगै घरजग्गा, खानेपानी, सडक लगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। अविरल वर्षाका कारण कुवासी खोला जलविद्युत् आयोजना अवरुद्ध हुँदा वडा नं. ४ (फैति, बोर्ता), वडा नं. ५ (रुँगिन, नदापाटा) र वडा नं. ६ (धिमा) का बस्तीमा विद्युत् सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो।

सात महिनापछि विद्युत् सेवा पुनः सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा बजार व्यवसायी उत्साहित भएका छन्। धुलाचौर बजारका व्यवसायी गणेश शाहीका अनुसार लामो समयसम्म विद्युतीय उपकरण सञ्चालन नहुँदा व्यवसायमा ठूलो घाटा व्यहोर्नुपरेको थियो।

हिमाली गाउँपालिकाले खत्याड गाउँपालिका, मुगुसँग २०८३ असारसम्मका लागि विद्युत् सेवा विस्तारसम्बन्धी सम्झौता गरेको छ। आवश्यकताअनुसार सम्झौता थप गर्ने योजना रहेको गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले जानकारी दिए।

कवाडी लघुजलविद्युत् आयोजनाले ०७८ फागुनदेखि एक सय किलोवाट विद्युत् उत्पादन गरी करिब १,१०० घरधुरीमा सेवा दिँदै आएको थियो। तर बाढीपछि नहर भत्किँदा सबै घरधुरी सेवाबाट वञ्चित भएका थिए।

हाल ‘उज्यालो हिमाली’ अभियानअन्तर्गत विभिन्न सहयोगी संस्थाको सहकार्यमा करिब १४ करोड रुपैयाँ लागतमा विद्युत् उत्पादन तथा विस्तार कार्य अघि बढाइएको छ। गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अधिकांश बस्तीमा पुनः विद्युत् पहुँच पुगेको छ र बाँकी क्षेत्रमा विस्तार गर्ने काम जारी छ।

वर्षौँदेखि अँध्यारोमा जीवन बिताउँदै आएका स्थानीयका लागि विद्युत् सेवा पुनः सञ्चालन हुनु ठूलो राहत बनेको छ।

विश्व मौसम विज्ञान दिवस आज: जलवायु सचेतनामा जोड

0
Gemini created image

काठमाडौं । आज विश्वभर विश्व मौसम विज्ञान दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। जलवायुसम्बन्धी चुनौतीबाट समाजलाई सुरक्षित राख्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागू भएको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ। प्रारम्भिक चरणमा जल तथा जलजन्य प्रकोप नियन्त्रणका विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुँदै आएका थिए।

हाल भने जलवायु परिवर्तन, मौसमीय जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीको सुदृढीकरणजस्ता विषयमा विशेष जोड दिँदै विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्।

बालुवाटारमा लामिछाने–कार्की भेट: निर्वाचन सफलतामा बधाई, देशका चुनौती मिलेर सामना गर्न आह्वान

0

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्की बीच बालुवाटारमा भेटवार्ता भएको छ।

भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक उपलब्धि भन्दै बधाई ज्ञापन गरे। उनले समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले लोकतान्त्रिक र शान्तिपूर्ण निकास पाएको उल्लेख गरे।

‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यस सफलताका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ उनले भने।

त्यसैगरी, प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताप्रति बधाई दिँदै देशको अपेक्षा पूरा गर्न एकताबद्ध भएर काम गर्न सुझाव दिइन्। उनले युवापुस्तामाथि ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै संयमता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरिन्।

‘अहिले देश रोएको छ। तपाईँ युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्।