काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मंगलबार पुनः सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा सोमबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राख्दै मंगलबारका लागि सारिएको हो। न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि अर्को पेसी तोकिएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए।
यसअघि न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत ५ गते महान्यायाधिवक्ताको संशोधित निर्णयसम्बन्धी फाइल पेस गर्न आदेश दिएको थियो। सोहीअनुसार उक्त मुद्दा सुनुवाइका लागि अघि बढाइएको हो।
त्यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले पनि रिट निवेदनलाई नियमित सुनुवाइका लागि चैत १ गते पेसीमा राख्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दायर गरिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि सो निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्।


