Thursday, June 25, 2026
Home Blog Page 545

साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति विमोचन

0
Photo Credit: Deen Shrestha

काठमाडौँ: साहित्यकार मोतीशोभा श्रेष्ठका चार कृति एकैसाथ विमोचन गरिएको छ। नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा लिखित यी कृतिहरू आज एक औपचारिक समारोहका बीच लोकार्पण गरियो।

श्रेष्ठको नेपाली भाषामा लिखित ‘अल्झिएका धागाहरू’ कथासंग्रह, ‘रङ्गीचङ्गी फूलहरूले सजिएका फूलबारी’ लघुउपन्यास, नेपाल भाषामा लिखित ‘घुटु चियाया’ कथासंग्रह तथा अंग्रेजी भाषामा लिखित ‘नेचर’ लघुउपन्यास विमोचित गरिएका हुन्। पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइराला, जनमत प्रकाशनका अध्यक्ष मोहन दुवाल र कथाकार लोचन तारा तुलाधरले संयुक्त रूपमा ती कृतिहरूको विमोचन गरे।

‘अल्झिएका धागाहरू’ कथासंग्रहमा जीवनका विविध अनुभूति समेटिएका ५० कथा संग्रहित छन्। ‘रङ्गीचङ्गी फूलहरूले सजिएका फूलबारी’ लघुउपन्यास पारिवारिक सद्भाव, समन्वय, आपसी मेलमिलाप र सकारात्मक सोचको विषयवस्तुमा आधारित रहेको छ।

नेपाल भाषामा प्रकाशित ‘घुटु चियाया’ कथासंग्रहमा मानव संवेदना, प्रकृति, कला र संस्कृतिसम्बन्धी ६० कथा समेटिएका छन्। अंग्रेजी भाषाको ‘नेचर’ लघुउपन्यास भने प्रकृति प्रेम, प्राकृतिक सौन्दर्य तथा नेवारी समुदायका संस्कृति र परम्परालाई केन्द्रमा राखेर लेखिएको छ।

श्रेष्ठले यसअघि पनि चार लघुउपन्यास प्रकाशित गरिसकेकी छिन्।

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

0

धरान (सुनसरी): पन्ध्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ। इटहरी रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्र क्लबले मोरङको सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।

मच्छिन्द्र क्लबका खेलाडी मल्लिक हिसुबले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ८५औँ मिनेटमा ओमोलाजा नुरेन हरेनले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यो उपाधिसँगै मच्छिन्द्र क्लबले रु १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सगरमाथा युथ क्लबले रु पाँच लाख हात पारेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित भए, जसलाई नगद रु एक लाख प्रदान गरिएको छ।

त्यस्तै, खेलको ‘म्यान अफ दी म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन्।

काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

0

काभ्रेपलाञ्चोकमा ९५ प्रतिशत बालिकाले एचपिभी खोप लगाए

काभ्रेपलाञ्चोक: राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा कक्षा ६ देखि १० सम्म अध्ययनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापीलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, धुलिखेलका अनुसार १६ हजार ९७ बालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा १५ हजार तीन सय ४४ बालिकाले खोप लगाएका छन्, जसले ९५.३२ प्रतिशत उपलब्धि दर्शाउँछ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप विद्यालयमा अध्ययनरत कक्षा ६–१० सम्मका बालिका तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिएको हो। गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको खोप अभियान सफल रहँदै आए पनि अशिक्षा तथा चेतनाको कमी लगायतका कारणले पूर्ण लक्ष्य हासिल गर्न कठिनाइ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठका अनुसार, “केही बालिकाले खोप लगाउन अस्वीकार गरेको जानकारी विद्यालयबाट प्राप्त भएको छ। सम्भवतः चेतनाको कमी नै पूर्ण खोप सुनिश्चित गर्न नसक्नुको कारण हो।” तथापि, समग्रमा भौगोलिक विकटता बाबजुद खोप कार्यक्रम सफल मानिएको छ।

जिल्लाका १३ स्थानीय तहमध्ये अधिकांशमा ९९ प्रतिशत खोप लगाइएको छ। तथ्याङ्कअनुसार चौँरीदेउराली गाउँपालिकामा सबैभन्दा कम ८१ प्रतिशत र धुलिखेल नगरपालिकामा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन्। चौँरीदेउरालीमा लक्ष्य ४५० रहँदा ३६४ जनाले मात्र खोप लगाएका छन् भने धुलिखेल नगरपालिकामा १,४१६ मध्य १,२०४ जनाले खोप लगाएका छन्।

अन्य पालिकाहरुमा खोपको स्थिति यसप्रकार छः खानीखोला, नमोबुद्ध, भुम्लु, र तेमाल गाउँपालिकामा ९९ प्रतिशत, बनेपा, पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत, रोशी गाउँपालिकामा ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरपालिकामा ९४ प्रतिशत, तथा महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष २,२०० महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ, जसमध्ये १,३०० महिलाको निधन हुने गरेको छ। खोप अभियानले यो सङ्ख्या घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

लोकतन्त्रमा सुधार आवश्यक, तर ठूला राजनीतिक परिवर्तनको आवश्यकता छैन: प्रधानमन्त्री ओली

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा आवश्यकतानुसार हेरफेर हुनसक्ने भन्दै यसलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।

शनिबार उनकी पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रदेशहरूको संख्या नागरिक आवश्यकताअनुसार घटबढ हुन सक्ने संकेत गरे। उनले सात वटा प्रदेशलाई नौ बनाउनु वा पाँचमा सीमित गर्नु सम्भव रहेको उल्लेख गर्दै, देशको विकास र जनताको आवश्यकताअनुसार सुधार गर्नुपर्ने धारणा राखे।

“लोकतान्त्रिक प्रणाली भनेको स्थिर रहने होइन, समयअनुसार सुधार आवश्यक पर्छ,” उनले भने, “तर यसलाई परिवर्तनका नाममा अनावश्यक डर देखाउनु वा रुवाबासी गर्नु आवश्यक छैन।”

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक यात्रा सम्झँदै लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि लामो संघर्ष गरेको बताए। “२०२२ सालदेखि आन्दोलनमा लागेको थिएँ, मैले जुन लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गरेको थिएँ, अहिले हामी त्यही व्यवस्थामा छौं। अब ठूला राजनीतिक परिवर्तन गर्नु आवश्यक छैन, तर सुधार गर्दै अघि बढ्नुपर्छ,” उनले स्पष्ट पारे।

व्यक्तिगत जीवन र सम्पत्तिको खुलासा

प्रधानमन्त्री ओलीले आफ्नो भक्तपुर बालकोटस्थित घर आफ्नै आम्दानीबाट नभई पत्नी राधिका शाक्यको कमाइबाट निर्माण भएको खुलासा गरे। “मेरा बलबुताले होइन, राधिकाको कमाइले त्यो घर बनेको हो,” उनले बताए। साथै, उक्त घर उनले नेपाल ट्रस्टलाई दान गरिसकेको जानकारी गराउँदै, “मेरो कमाइ दान गरेको होइन, उनकै कमाइ दान गरेको हो,” भने।

आफ्नो वैवाहिक जीवनबारे कुरा गर्दै उनले श्रीमती राधिका शाक्यलाई आफ्नो जीवनको अभिन्न सहयात्री बताउँदै “म जति श्रीमतीसँग खुसी मानिस अरू सायदै छन्,” भने। “राधिका नहुँदो हो भने म अहिलेसम्म बाँच्न सम्भव थिएन,” उनले भावुक हुँदै थपे।

ट्रम्पले दिए प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश

0

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रविधि र महत्वपूर्ण पूर्वाधार क्षेत्रमा हुने लगानीमाथि अङ्कुश लगाउने उद्देश्यले शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

यो कदम विश्वका दुई ठूला अर्थतन्त्रहरू—अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनाव र रणनीतिक प्रतिस्पर्धाको बीचमा आएको हो। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार, आदेशपत्रको उद्देश्य विदेशी लगानीलाई प्रोत्साहन गर्नुका साथै अमेरिकी राष्ट्रिय सुरक्षालाई जोगाउनु हो, विशेष गरी चीनजस्ता राष्ट्रहरूबाट उत्पन्न सम्भावित खतराहरूबाट रक्षा गर्नु प्रमुख लक्ष्य रहेको छ।

ह्वाइट हाउसले भनेको छ, “चीनले अमेरिकी पूँजीको प्रयोग गर्दै आफ्नो सैन्य, गुप्तचर तथा अन्य सुरक्षासम्बन्धी प्रविधिको विकास र आधुनिकीकरण गरिरहेको छ। यसले अमेरिकी रणनीतिक क्षेत्रहरूमा गम्भीर प्रभाव पार्न सक्छ।”

राष्ट्रपति ट्रम्पको आदेशले Committee on Foreign Investment in the United States (CFIUS) लाई प्रविधि, महत्वपूर्ण पूर्वाधार, स्वास्थ्य सेवा, ऊर्जा तथा अन्य प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडाइ गर्न अधिकार प्रदान गरेको छ। CFIUS अमेरिकी भुमिमा विदेशी लगानीको राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमहरूको मूल्याङ्कन गर्ने प्रमुख निकाय हो।

यस आदेशअघि, ट्रम्प प्रशासनले चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरिसकेको थियो, जसले दुई देशबीचको व्यापार युद्धलाई थप चर्काएको छ। बेइजिङले उक्त आरोपको खण्डन गर्दै अमेरिकाको नीतिलाई ‘अन्यायपूर्ण’ भनेको छ।

यद्यपि, गत बुधबार राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार सम्झौता सम्भव रहेको संकेत दिएका थिए। तर, विश्लेषकहरूले तत्काल कुनै सम्झौता हुने सम्भावना नरहेको बताइरहेका छन्।

कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते

0

सप्तरी: भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाबाट घर फर्किंदै गरेका सप्तरीका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

उत्तर प्रदेशको गोरखपुर लिङ्क रोडमा गएराति भएको दुर्घटनामा कञ्चनरुप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर–५ की ५५ वर्षीया हरिहरवती यादव र सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलियादेवी यादवको निधन भएको छ।

कञ्चनरुप नगरपालिका–७ का वडाध्यक्ष समानन्द चौधरीका अनुसार सोही गाडीमा सवार लिलावतीका श्रीमान् उपेन्द्र नारायण चौधरी (लक्ष्मीनारायण माध्यामिक विद्यालय, बैरवाका शिक्षक), वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते भएका छन्। हाल उनीहरूको गोरखपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

तीन जना मृतकका छोरा शव बुझ्नका लागि तीनवटा एम्बुलेन्स लिएर गोरखपुर प्रस्थान गरेका वडाध्यक्ष चौधरीले जानकारी दिएका छन्।

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

0

फुङ्लिङ्: ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै भारी हिमपात भएको छ। गएराति समुद्री सतहबाट ३,७९४ मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रमा बाक्लो हिमपात परेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

यस वर्षकै बढी हिमपात
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार गत पुस महिनामा पहिलो पटक सामान्य हिमपात भएको थियो, भने फागुन महिनामा दोस्रो पटक पुनः सामान्य हिमपात भएको थियो। तर, गएरातिको हिमपात भने अत्यन्त बाक्लो भएको महतले बताउनुभयो।

उहाँका अनुसार, यसअघि भएको हिमपात पाथीभराको माथिल्लो फेदीसम्म मात्र पुगेको थियो, तर यसपटकको हिमपात काफ्ले पाटीसम्म पुगेको छ।

तीर्थयात्रीहरूलाई असर नपर्ने
बाग्लो हिमपात भए पनि तीर्थयात्रीहरूको यात्रा सहज रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो।

उहाँका अनुसार, पाथीभराधामबाट करिब दुई किलोमिटर लामो पदमार्गमा फाइबरको छानो लगाइएकाले हिमपातको असर तीर्थयात्रुहरूमा नपरेको हो।

सुविधासम्पन्न पदमार्गका कारण यात्रा सहज
विगतमा हिमपातका कारण बाटो चिप्लिने र पदमार्ग नै हिउँले ढाकिने समस्या रहेको थियो। तर, विकास समितिले फाइबरको छानो जडान गरेपछि हिमपात वा पानी पर्दा पनि तीर्थयात्रुहरू सहजै यात्रा गर्न सक्ने भएका छन्।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार, आज मात्र करिब ३०० जना तीर्थयात्रीहरूले पाथीभरा धाममा पूजापाठ सम्पन्न गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

0

काठमाडौं: प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औँ बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रतिष्ठानको नवौँ सभाबाट स्वीकृत बहुवर्षीय गुरुयोजना नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति प्रदान गरिएको छ।

नयाँ सदस्य मनोनयन
बैठकले कार्यकारी परिषद्को सिफारिसमा प्रतिष्ठानको सभाका सदस्यमा प्राडा ब्रह्मदेव झालाई मनोनयन गर्ने निर्णय गरेको छ।

तलब भत्ता वृद्धि प्रस्ताव थप अध्ययनपछि मात्र
प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरूको तलब-भत्ता पाँच प्रतिशत वृद्धि गर्ने प्रस्तावलाई भने थप अध्ययन र छलफल गरी पेस गर्न निर्देशन दिइएको छ।

प्रधानमन्त्रीको निर्देशन
बैठकमा प्रधानमन्त्री ओलीले विधि र कानुनअनुसार निर्णय लिनुपर्नेमा जोड दिँदै, सिनेट बैठक समयमा गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिनुभयो।

उहाँले दीर्घकालीन आर्थिक प्रभाव पार्ने निर्णयहरू तत्काल स्वीकृत गर्न नसकिने स्पष्ट गर्दै, त्यस्ता निर्णयहरूमा थप अध्ययन आवश्यक पर्ने उल्लेख गर्नुभयो।

बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना

0

काठमाडौं: भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियम उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारतीय रुपैयाँ (झन्डै ५.५ करोड नेपाली रुपैयाँ) जरिवाना गरेको छ।

ईडीले बीबीसीका तीन निर्देशकहरूलाई पनि व्यक्तिगत रूपमा १.१४ करोड भारतीय रुपैयाँभन्दा बढी जरिवाना तोकेको छ। यो कारबाही भारतको विदेशी विनिमय व्यवस्थापन ऐन (फेमा) १९९९ अन्तर्गत गरिएको हो।

बीबीसीमाथि लगाइएको आरोप
इकोनोमिक टाइम्सका अनुसार, बीबीसी वर्ल्ड सर्भिस इन्डिया भारतमा सात प्रतिशत एफडीआई कम्पनीका रूपमा दर्ता भए पनि, कम्पनीले पूर्ण (१००%) विदेशी स्वामित्व कायम राखेको देखिएको छ।

भारत सरकारले सन् २०१९ मा जारी गरेको नियम अनुसार, डिजिटल समाचार मिडिया कम्पनीहरूमा एफडीआईको सीमा अधिकतम २६ प्रतिशत मात्र राख्नुपर्ने प्रावधान छ। ईडीले बीबीसी वर्ल्ड सर्भिस इन्डियाले यो सीमा पार गरेको निष्कर्ष निकालेको छ।

यसअघि अगस्ट ४, २०२३ मा ईडीले बीबीसी वर्ल्ड सर्भिस इन्डिया, यसको तीन जना निर्देशकहरू र वित्त प्रमुखलाई कारण देखाऊ सूचना जारी गरेको थियो।

ईडीको आदेशअनुसार, बीबीसी वर्ल्ड सर्भिस इन्डियाले जरिवाना तिर्नुपर्ने मात्र नभई नियमको उल्लङ्घन जारी रहेमा, २०२१ को अक्टोबर १५ पछि प्रत्येक दिनका लागि थप ५,००० रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

बीबीसीमाथिको पछिल्ला कारबाहीहरू
बीबीसीमाथि भारतमा पछिल्लो समय विभिन्न सरकारी कारबाहीहरू भइरहेका छन्। फेब्रुअरी २०२३ मा, भारतको आयकर विभागले बीबीसीको दिल्ली र मुम्बई कार्यालयहरूमा छापा मारेको थियो। बीबीसीमाथि अन्तर्राष्ट्रिय कर छलीको आरोप लगाइएको थियो।

त्यस क्रममा आयकर विभागले दिल्लीको केजी मार्गस्थित एचटी टावर र मुम्बईको सान्ताक्रुजस्थित बीबीसी स्टुडियो मा छापा मारेको थियो।

बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको पृष्ठभूमि
बीबीसी वर्ल्ड सर्भिस टेलिभिजन बेलायत सरकारद्वारा सञ्चालित समाचार सेवा हो। यसले ४० भन्दा बढी भाषाहरूमा समाचार प्रसारण गर्छ।

बीबीसीको कोष ब्रिटिश संसदले अनुदान मार्फत जुटाउने गर्छ। यो बेलायतको विदेश तथा राष्ट्रमण्डल कार्यालय अन्तर्गत व्यवस्थापन हुन्छ भने, डिजिटल, संस्कृति, मिडिया तथा खेलकुद विभाग अन्तर्गत सञ्चालन हुन्छ।

बीबीसीको स्थापना सन् १९२७ मा शाही चार्टर अन्तर्गत भएको थियो।

बीबीसी र भारत सरकारबीच बढ्दो तनाव

भारतमा बीबीसीमाथि पछिल्ला कारबाहीहरूलाई राजनीतिक रूपमा पनि हेरिएको छ। बीबीसीले केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र २००२ गुजरात दंगाबारे वृत्तचित्र (डकुमेन्ट्री) प्रसारण गरेपछि भारत सरकार र बीबीसीबीच तनाव बढेको थियो।

सरकारले उक्त डकुमेन्ट्री युट्युब र ट्वीटरबाट हटाउन निर्देशन दिएको थियो, जसलाई धेरैले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा लिएका थिए।

बीबीसीमाथिको पछिल्लो कारबाहीलाई केही विश्लेषकहरूले भारतमा प्रेस स्वतन्त्रतामाथि नियन्त्रणको संकेतका रूपमा हेरेका छन्। यद्यपि, भारत सरकारका अधिकारीहरूले भने यो कानुनी प्रक्रिया अनुसार भएको कारबाही भएको दाबी गरेका छन्।

नौ वर्षपछि ‘फेरि रेशम फिलिली’

0

काठमाडौं: नौ वर्षअघि प्रदर्शन भएको ‘रेशम फिलिली’ मा समावेश गीत ‘पिरतीको जालमा’ ले सङ्गीतकार कालीप्रसाद बाँस्कोटालाई स्थापित गराएको थियो। विसं २०७२ को वैशाख ११ गते प्रदर्शन भएको उक्त चलचित्रले पहिलो दिनमै झन्डै एक करोडको ‘ग्रस’ व्यापार गर्न सफल भए पनि दोस्रो दिनमै भूकम्पका कारण प्रदर्शन रोकिएको थियो।

अब सोही चलचित्रको सिक्वेल ‘फेरि रेशम फिलिली’ निर्माण गरिएको छ। अभिनेता तथा निर्माता विनय श्रेष्ठका अनुसार दर्शकको अपेक्षाअनुसार कथा तयार गर्न समय लागेको हो।

“दर्शकका कारण लोकप्रिय बनेको चलचित्रको अर्को भाग केवल व्यापारिक मात्र नभई सृजनात्मक रूपमा पनि बलियो होस् भनेर पटकथामा धेरै मेहनत गरेका छौँ,” श्रेष्ठले भने। “यसले अहिलेको युवापुस्तामा बढ्दो विदेश मोह र त्यसले निम्त्याउने समस्यालाई मनोरञ्जनात्मक तर गम्भीर ढंगले प्रस्तुत गर्छ।”

श्रेष्ठका अनुसार, ‘फेरि रेशम फिलिली’ मा अघिल्लो चलचित्रका पात्र र परिवेशलाई निरन्तरता दिइएको छ। निरोज महर्जनको पटकथा तथा निर्देशनमा बनेको यस चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ।

निर्देशक महर्जनका अनुसार चलचित्रका प्रमुख पात्रहरू रेशम र हरिया नेपाली युवाको प्रतिनिधित्व गर्छन्। “हामीले विदेश मोहले निम्त्याउने परिस्थितिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छौँ,” महर्जनले भने।

रौनकविक्रम कँडेलले निर्माण गरेको यो चलचित्र शिवरात्रिको अवसर पारेर यही फागुन १४ देखि प्रदर्शन हुँदैछ।