Friday, June 26, 2026
Home Blog Page 537

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ११ पैसा र बिक्रीदर २० रुपैयाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९० पैसा र बिक्रीदर १७ रुपैयाँ ९७ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ २८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बेइजिङ+३० समीक्षामा नेपालले १२ क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने

0

काठमाडौँ: संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गर्ने बेइजिङ+३० समीक्षामा नेपालले १२ प्राथमिक सरोकार क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ। आगामी मार्च १० देखि २५ तारिखसम्म हुने यस समीक्षामा नेपालले महिला सशक्तीकरण र लैङ्गिक समानतासँग सम्बन्धित विभिन्न विषयलाई उठाउनेछ।

नेसनल नेटवर्क फर बेइजिङ समीक्षा नेपाल (NNBN) र महिला, कानुन तथा विकास मञ्च (FWLD) ले नागरिक समाजको तर्फबाट तयार पारेको प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेश गरिनेछ। बिहीबार आयोजित कार्यक्रममा मञ्चकी अधिवक्ता बिनु लामाले प्रतिवेदनमा समेटिएका मुख्य विषयवस्तुहरूबारे जानकारी दिइन्। कार्यक्रममा प्रतिवेदन तयार गर्ने प्रक्रिया दर्शाउने भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो।

१२ प्राथमिक विषयलाई चार भागमा विभाजन गरिएको ८२ पृष्ठ लामो प्रतिवेदनमा निम्न विषय समेटिएका छन्:
१. महिला र शिक्षा
2. महिला र अर्थतन्त्र
3. महिलाको मानवअधिकार
4. महिला र गरिबी
5. महिला र स्वास्थ्य
6. शक्ति संरचनामा महिलाको सहभागिता
7. महिला र सञ्चार
8. महिला र वातावरण
9. महिलाको उन्नतिका लागि संस्थागत संरचना
10. महिला र सशस्त्र द्वन्द्व
11. महिलाविरुद्धको हिंसा
12. बालिकासँग सम्बन्धित सरोकारका विषयहरू

कार्यक्रमका सहभागीहरूले प्रतिवेदनमा यौनकर्मी महिला र आप्रवासी महिलाका विषय समावेश गर्नुपर्ने माग राखेका थिए। तर, FWLD का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले समीक्षा प्रतिवेदनमा आवश्यक सबै विषय उठाइएको बताए। उनले बेइजिङ+३० समीक्षा सन् २०३० को दिगो विकास लक्ष्य (SDGs) र विश्वव्यापी लैङ्गिक समानता प्रतिबद्धताको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण अवसर हुने उल्लेख गरे।

पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले प्रतिवेदन तयार पार्दा राजनीतिक तहका नीति निर्मातालाई समावेश गरेको भए अझ प्रभावकारी हुने धारणा व्यक्त गरिन्। उनले नेपालभित्रै गहन छलफल गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं गैरसरकारी संस्था नेटवर्ककी अध्यक्ष प्रा. डा. शशि अधिकारीले नागरिक समाजको प्रतिवेदनले महत्वपूर्ण मुद्दाहरू उठाएको बताइन्। संविधानमै महिलासम्बन्धी विभेद रहेको हुँदा कानूनी संशोधन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

संयुक्त राष्ट्रसंघीय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले नेपालले महिलाविरुद्धको हिंसा न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको बताइन्। उनले बेइजिङ+३० समीक्षाका क्रममा प्रस्तुत गरिने प्रतिवेदनले महिला सशक्तीकरणमा थप योगदान दिने विश्वास व्यक्त गरिन्।

महिलाविरुद्ध भेदभाव उन्मूलन समिति (CEDAW) की सदस्य बन्दना राणाले महिलाको निर्णायक तहमा कम उपस्थिति हुनु नै मुख्य चुनौती रहेको बताइन्। मानवअधिकारमा आधारित आर्थिक सशक्तीकरण आवश्यक रहेकोमा उनले जोड दिइन्।

संयुक्त राष्ट्रसंघले प्रत्येक पाँच वर्षमा बेइजिङ घोषणापत्र र कार्यसूचीको कार्यान्वयन मूल्याङ्कन गर्न समीक्षा कार्यक्रम आयोजना गर्दै आएको छ। यो समीक्षा ६९औँ सत्रअन्तर्गत पर्नेछ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले लैङ्गिक समानताका लागि वकालत गर्नेहरूसँग सहकार्य गर्दै अझै पिछडिएका समुदायका समस्याहरूलाई सरकार र समाजको ध्यानाकर्षण गराउने मौका बेइजिङ+३० समीक्षाले प्रदान गर्ने बताइन्।

इटहरीका मनराज पुरीको सफल उद्यमशीलता: विदेशबाट फर्किएर पशुपालन र मौरीपालनमा आत्मनिर्भरता

0

धरान (सुनसरी): करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएका इटहरीका मनराज पुरी अहिले व्यावसायिक पशुपालन र मौरीपालनमा सफलतापूर्वक अगाडि बढिरहेका छन्। आठ वर्षसम्म साउदी अरब र मलेसियामा काम गरेर फर्किएपछि सानो लगानीमा सुरु गरेको व्यवसाय अहिले उनको प्रमुख आम्दानीको स्रोत बनेको छ।

१७ वर्षको उमेरमै बाबुआमा गुमाएका मनराजले विदेशमा गरेको परिश्रमबाट संकलित पूँजीलाई आफ्नै देशमा लगानी गर्ने निर्णय गरे। “विदेशमा कमाएको थोरै पैसा आफ्नो देशमै लगानी गरेर केही व्यवसाय गरौँ भन्ने सोच थियो। अन्य व्यवसाय गर्ने विचार पनि थियो, तर सही तरिका थाहा नभएकाले पशुपालनबाट सुरु गरें,” उनले सम्झिए।

शुरुमा गाईबाख्रा पालेर व्यवसाय थालेका उनले पछिल्लो समय मौरीपालनलाई पनि प्राथमिकता दिएका छन्। “मौरीपालनबाट राम्रो आम्दानी भइरहेको छ। अहिले वार्षिक आठदेखि नौ लाख रुपैयाँसम्म कमाइ हुन्छ, जसले घरव्यवहार सहजै चलिरहेको छ,” उनले सुनाए।

स्वरोजगारको अवसर र व्यावसायिक चुनौती
गाईपालन सुरु गर्दा दूधको बजार पाउने कुरामा केही चिन्ता भए पनि स्थानीय होटल, डेरी र बजारसम्म आफैँ दूध पुर्याउने उनको दैनिकी छ। हाल उनी दैनिक ४० देखि ५० लिटरसम्म दूध बिक्री गर्छन्।

विदेशबाट फर्किएपछि गाउँमै रोजगारी सिर्जना गर्न पाउँदा उनलाई आत्मसन्तुष्टि मिलेको छ। उनले आफ्नो गाईफार्ममा दुई जनालाई रोजगारी दिएका थिए। “कामदारलाई मासिक २२ हजार रुपैयाँ तलब दिइन्थ्यो, तर केही महिनाअघि उनीहरू बाहिरिएका छन्। अहिले परिवारकै सदस्यहरू मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,” मनराजले बताए।

घाँसको समस्या नरहेको बताउँदै उनले भने, “गाईका लागि घाँस आफ्नै बारीमा रोपेको छु। धान खेतीबाट पराल पनि प्राप्त हुन्छ, त्यसैले बाहिरबाट किन्ने आवश्यक पर्दैन।”

मौरीपालनमा नयाँ अवसर
एक वर्षअघि चारवटा मौरीका घार किन्दै मौरीपालन सुरु गरेका मनराजसँग अहिले ४० भन्दा बढी घार छन्। “सुरुमा सानो लगानीबाट थालेँ, तर यसबाट राम्रो आम्दानीको सम्भावना देखेर मौरीपालनलाई अझ प्राथमिकता दिन थालेको छु,” उनले भने।

मौरीबाट मह उत्पादनको समय मौसम अनुसार फरक पर्ने उनी बताउँछन्। “फूल फुल्ने सिजनमा २२ देखि ३० दिनमा मह निकाल्न सकिन्छ, तर कहिलेकाहीँ तीन महिनासम्म पनि लाग्न सक्छ,” उनले अनुभव सुनाए।

हाल उनले प्रतिघार १४ हजार रुपैयाँमा मौरी किनेका छन्। एउटा घारबाट एक पटकमा करिब छ किलो मह उत्पादन हुने उनले जानकारी दिए। उत्पादन गरिएको मह स्थानीय बजारमै प्रतिकिलो ७५० देखि १,००० रुपैयाँसम्म बिक्री भइरहेको छ।

मौरीपालनको सम्भावना र सरकारी सहयोगको अपेक्षा
कम लागतमा सुरु गर्न सकिने मौरीपालन व्यवसायलाई उनले दीर्घकालीन आम्दानीको स्रोतका रूपमा देखिरहेका छन्। “मौरीपालन व्यवसायमा सरकारी अनुदान, तालिम र आधुनिक प्रविधिको समावेश भए अझ राम्रो आम्दानी गर्न सकिन्छ,” उनले जोड दिए।

गाउँमै उत्पादन भएको अर्गानिक मह राम्रो मूल्यमा बिक्री गर्न सकिने उनको अनुभव छ। “विदेशमा गएर अर्काको लागि काम गर्नुभन्दा आफ्नै देशमा सानो लगानी गरेर व्यवसाय गर्न सकिन्छ। यसले आफैँ मात्र होइन, अरूलाई पनि रोजगारी सिर्जना गर्न मद्दत गर्छ,” मनराजले भने।

उनको सफलताको कथा विदेशबाट फर्केर स्वदेशमै सम्भावना खोजिरहेका अन्य युवाहरूका लागि प्रेरणादायी बन्न सक्छ।

पूरै दिन लाग्ने यात्रा चार घण्टामा छोटियो

0

म्याग्दी: धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रधानाध्यापक न्याउली छन्त्यालले पालिकाको केन्द्र मुना पुग्न अघिल्लो दिनसम्म पूरै दिन पैदलयात्रा गर्नुपर्थ्यो। काम सकेर फर्कन तीन दिन लाग्थ्यो। तर बिहीबार भएको नियमित बैठकमा सहभागी हुन उहाँ चार घण्टामै मुना पुग्न सफल हुनुभयो।

“लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी सञ्चालनमा आएपछि यात्राको समय चार घण्टामा छोटिएको छ,” उहाँले भन्नुभयो, “अब दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानी र बिरामीलाई अस्पताल पुर्याउन सहज भएको छ।”

भौगोलिक रूपमा विकट गुर्जावासीको यात्राअवधि सडक निर्माणपछि उल्लेख्य रूपमा घटेको छ। छन्त्याल र दलित समुदायको प्रमुख बसोबास रहेको गुर्जा म्याग्दीको एक मात्र वडा हो, जहाँ हालसम्म सडक यातायातको सुविधा पूर्ण रूपमा पुगेको थिएन। लत्रवाङसम्म सडक पुगे पनि हिउँ जमेकाले ३,३०० मिटर उचाइको देउराली धुरीसम्म मात्र जिप, ट्रयाक्टर, मोटरसाइकल सञ्चालन भइरहेका छन्। हिउँ पग्लिएपछि देउरालीदेखि लत्रवाङसम्मको थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन चल्न सक्नेछ।

यात्रा समयमा उल्लेखनीय कमी

लुलाङबाट देउराली पुग्न पहिला तीनदेखि चार घण्टा लाग्थ्यो। अब सडक खुलेपछि सो दूरी ३० मिनेटमै तय गर्न सकिन्छ। “बिरामी बोकेर डोकामा ल्याउनुपर्ने अवस्थाको अन्त्य हुँदैछ,” स्थानीय बासिन्दा मोदीमान श्रीपालीले भन्नुभयो, “समयमै अस्पताल पुग्न नसक्दा बाटोमै ज्यान गुमाउने घटना न्यूनीकरण हुने आशा छ।”

हाल गुर्जासम्म सडक पुग्न अझै १० किलोमिटर निर्माण गर्नुपर्नेछ। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार गत वर्ष लुलाङ–देउराली–लत्रवाङ सडकखण्ड अन्तर्गत ९.५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ।

विकासको लागि बहु-आयामिक लगानी

गत आर्थिक वर्षमा संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई–दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो। योजनामार्फत सडक मार्ग निर्माणसँगै विभिन्न स्थानमा ग्याबियन, मेसिनरी र पलम पर्खालहरू बनाइएको छ।

गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङसम्म पहिल्यै सडक जोडिएको थियो। आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङ–लुलाङ खण्डमा ४.४ किलोमिटर सडक निर्माण गरिएको थियो।

थप बजेट र संरचना निर्माणको तयारी

धवलागिरि गाउँपालिकाका प्राविधिक शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको दूरी २५ किलोमिटर छ। लत्रवाङबाट गुर्जासम्म सडक विस्तारका लागि संघीय सरकार र गाउँपालिकाले ७० लाख रुपैयाँको बजेट छुट्याएको छ, जसको ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढिरहेको छ।

प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँबाट लुलाङ–देउराली खण्डको स्तरोन्नति कार्य अघि बढाइएको छ। संघीय सरकारको १ करोड रुपैयाँको बजेटमार्फत बाङखोला क्षेत्रमा पर्खाल निर्माण, ग्रेड सुधार, र महतलाको भीरमा ढलानको काम भइरहेको छ।

यसैगरी, लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न प्रदेश सरकारले ठेक्का सम्झौता गरिसकेको छ।

गुर्जामा विकासको सम्भावना बढ्दै

गुर्जा एक मात्र बस्ती भएको वडा हो, जहाँ २६५ घरपरिवार र १,५०५ जनसंख्या रहेको छ। यो क्षेत्र खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले बसोबास गरेका ऐतिहासिक स्थानहरूमध्ये एक हो। सडक सुविधा नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा महँगो लागत लाग्ने गरेको थियो।

सडक यातायात सञ्चालनमा आएसँगै गुर्जावासीलाई यातायात सहज भएको छ। साथै, आन्तरिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

गृहमन्त्रीद्वारा भूकम्पपीडितलाई लाभग्राही अनुदान हस्तान्तरण,असार मसान्तभित्र आवास निर्माण गरिसक्न आग्रह

0

डडेल्धुरा: गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटीमा गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण गर्दै पुनर्निर्माण प्रक्रियाको औपचारिक थालनी गर्नुभएको छ।

गृहमन्त्री लेखकले डडेल्धुराको अमरगढी नगरपालिका–३ का भूकम्प प्रभावित प्रकाशराज उप्रेतीलाई पहिलो किस्ता स्वरूप रु ५० हजार हस्तान्तरण गर्दै पुनर्निर्माण कार्य अघि बढाउनु भएको हो।

सो अवसरमा मन्त्री लेखकले प्रभावित परिवारलाई आगामी असार मसान्तभित्र आवास निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो। उहाँले डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रवलीकरणमा ढिलाइ भएको स्वीकार्दै पछिल्लो सात महिनामा मापदण्ड, बजेट व्यवस्थापन, र कार्यविधि तयार पारेर अनुदान वितरणको प्रक्रिया सुरु गरिएको बताउनुभयो।

“डेढ वर्ष बित्दा पनि स्थायी आवास निर्माणको प्रबन्ध हुन सकेको थिएन,” मन्त्री लेखकले भन्नुभयो, “अब पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन प्रत्येक प्रभावित जिल्लामा इकाई कार्यालय स्थापना गर्ने तयारीसहित यहाँ आएका हौँ।”

उहाँका अनुसार शुक्रबार बझाङ, शनिबार अछाम, र आइतबार जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गरिनेछ। जाजरकोटमा अझै क्षति आकलन गर्न बाँकी रहेको भन्दै आवश्यक तालिमप्राप्त प्राविधिक टोली परिचालन गरिने जानकारी दिनुभयो।

“जाजरकोटमा तालिमप्राप्त प्राविधिक टोली खटाइनेछ, लाभग्राही छनोट र पुनर्निर्माण कार्यमा स्थानीय सरकारको मुख्य भूमिका रहनेछ,” मन्त्री लेखकले बताउनुभयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार डोटी भूकम्पबाट करिब ९,४०० प्रभावित परिवार पहिचान भइसकेका छन्, र अब पुनर्निर्माणले गति लिनेछ।

“स्थायी आवास निर्माणका लागि अनुदान वितरण सुरु गरिसकेका छौँ,” डा. भुसालले भन्नुभयो, “डडेल्धुराबाट पुनर्निर्माणको औपचारिक सुरुवात भएको छ।”

त्यसैगरी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जिल्लाका विभिन्न पालिकामा २६ घर पुनर्निर्माण र ५२ घर प्रवलीकरण गरी ७८ लाभग्राही परिवारलाई अनुदान प्रदान गरिएको जानकारी दिनुभयो।

पनौतीमा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी-क्रसर उद्योग बन्द

0

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गरिएको छ। नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका ती उद्योग नगरपालिकाले अनुगमनपछि बन्द गराएको हो।

वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिए। उनका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अनुमति अवधि सकिएपछि समेत बिनाजानकारी सञ्चालन भइरहेको पाइएको थियो। पटक–पटक ताकेता गर्दा पनि उद्योगले अटेर गरेकाले अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो।

नगरपालिकाले आज बिहान अनुगमन गरी उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो। अनुगमनमा नगरप्रमुख भण्डारी, उपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मी सहभागी थिए।

यसअघि, गत माघ ९ गते जिल्ला स्तरीय अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योगहरू बाढीपहिरोको मुख्य कारण भएको निष्कर्ष निकालेको थियो। साथै, नियमविपरीत सञ्चालित ढुङ्गा तथा क्रसर उद्योगले ठूलो धनजनको क्षति पुर्‍याएको जनगुनासो आएको भन्दै ती उद्योग बन्द गराउने निर्णय गरेको थियो।

पनौतीमा १४ वटा क्रसर तथा खानीमध्ये हालसम्म आठ खानी र पाँच क्रसर उद्योग सञ्चालनमा आएका छन्। तीमध्ये तीनवटा उद्योग नगरपालिकाले बन्द गराएको हो। समितिले माघ ३ गते जिल्लाका सबै स्थानीय तहलाई गैरकानुनी रूपमा सञ्चालित ढुङ्गाखानी तथा क्रसर बन्द गर्न पत्राचार गरेको थियो। तर कार्यान्वयन नभएपछि ९ गते पुनः बैठक बसेर नियमविपरीतका उद्योग बन्द गराउने निर्णय लिइएको हो।

यसैबीच, समितिको निर्णय कार्यान्वयन नगरी अन्य स्थानीय तहमा रहेका केही खानी तथा क्रसर उद्योग अझै सञ्चालनमा रहेको पाइएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहाव परिवर्तन भएको, बस्ती जोखिममा परेको, वरपरका भूभाग भत्किएको र बगाएको, साथै पहिरो गएको तथ्य उजागर भएको छ। धुलो (डस्ट) र ग्राभेलले खोलाको सतहसमेत बढाएको देखिएको छ।

यस परिप्रेक्ष्यमा, हालको अवस्थाबारे गम्भीर एवं विस्तृत अध्ययन आवश्यक रहेको भन्दै समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आवश्यक अध्ययनका लागि अनुरोध गरिसकेको छ।

विशेष गरी बाढी प्रभावित स्थानीय तहहरू पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा धेरै क्रसर तथा खानी छन्। विपद् अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक–एक क्रसर तथा खानी सञ्चालनमा रहेका थिए।

नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने काम गर्छु : प्रशिक्षक रस

0

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यस वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

रसले साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित काम गर्ने बताउँदै नेपाली टोलीमा योग्य र क्षमतावान् खेलाडीहरू रहेको उल्लेख गरे। विशेषगरी यु–२० टोलीका खेलाडीहरूको क्षमतालाई निखार्ने योजना रहेको उनले बताए।

करिब २० वर्षको प्रशिक्षण अनुभव रहेका प्रशिक्षक रसले तल्लो तहदेखि खेलाडी विकासको आवश्यकता औंल्याउँदै केही खेलाडीलाई केपी ओली कप र झापा गोल्डकपमा मूल्यांकन गरिसकेको र उनीहरूसँग काम गर्न उत्साहित रहेको बताए।

अष्ट्रेलियामा सेमि–प्रोफेसनल फुटबल खेलिरहेका नेपाली खेलाडीहरूका लागि राष्ट्रिय टोलीको ढोका खुला रहने उल्लेख गर्दै उनले योग्य खेलाडीहरूलाई अवसर दिने प्रतिबद्धता व्यक्त गरे।

रसले म्यानमारविरुद्धको नेपाली महिला टोलीको खेल हेरेको अनुभव साझा गर्दै नेपालमा फुटबलप्रति अपार क्रेज रहेको पनि बताए।

सप्तरीबाट २४ क्विन्टल गाँजा बरामद

0

सप्तरी: राजविराज—९ मलेठमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मार्दा २४ क्विन्टल १९.५ किलोग्राम गाँजा, १४२ कार्टुन स्याउ, तथा विभिन्न हार्डवेयर सामग्री बरामद गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए।

गोदाम घरको बाहिरी गेटमा ताल्चा लागेको अवस्थामा कम्पाउन्डभित्र राखिएको दुई ट्रकमा ती सामग्री फेला परेका थिए। साथै, घटनास्थलबाट बीआर ० जेबी ९७३५ नम्बरको सेतो स्कारपियो र डब्लू बी ७४ एम १५५८ नम्बरको मारुती कार समेत खाली अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एमालेले गर्यो जनसङ्गठनका पदाधिकारी र केन्द्रीय कमिटीको सदस्य सङ्ख्या घटाउने र पाथीभरा केबुलकार निर्माण अघि बढाउने

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका जनसङ्गठनहरूको केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाउने निर्णय गरेको छ। आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका संशोधन गर्दै ठूला जनसङ्गठनको केन्द्रीय कमिटी १५१ सदस्यीय र साना जनसङ्गठनको केन्द्रीय कमिटी ९९ सदस्यीय राख्ने निर्णय गरेको हो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव शङ्कर पोखरेलले जनसङ्गठनलाई थप व्यवस्थित बनाउन आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाउने निर्णय गरिएको जानकारी दिनुभयो।

जनसङ्गठनका पदाधिकारीको सङ्ख्या घटाइयो

बैठकले जनसङ्गठनका पदाधिकारी सङ्ख्यामा पनि कटौती गरेको छ। यसअघि १७ जना पदाधिकारी रहने व्यवस्था थियो, तर अब पदाधिकारी सङ्ख्या नौमा सीमित गरिएको छ।

महासचिव पोखरेलका अनुसार नयाँ संरचना अनुसार:

अध्यक्ष – १ जना
उपाध्यक्ष – २ जना (जसमध्ये एक महिला)
महासचिव – १ जना
उपमहासचिव – १ जना
सचिव – ३ जना (प्रचार, विदेश विभाग, सङ्गठन हेर्ने गरी)
कोषाध्यक्ष – १ जना
संगठनात्मक संरचनामा परिमार्जन
बैठकले जनसङ्गठनमा अब केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्रै रहने व्यवस्था मिलाएको छ। यसअघि रहेको स्थायी कमिटीको व्यवस्था हटाइएको छ। महासचिव पोखरेलका अनुसार, “अब स्थायी कमिटी नरहने, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्र रहने गरी निर्णय भएको छ।”

नयाँ मनोनयन र अन्य निर्णयहरू

बैठकले पार्टी प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे र स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गर्ने निर्णय गरेको छ।

पार्टीका विजयी क्षेत्रहरूमा नीति, कार्यक्रम, र बजेटबारे समीक्षा गर्न बैठकले छलफल गरेको छ। साथै, पार्टीले स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, र उपाध्यक्षहरूको राष्ट्रिय भेला चैत महिनामा गर्ने निर्णय गरेको छ।

प्रदेश तहमा मुख्यमन्त्री, मन्त्री, दलका नेता, प्रमुख सचेतक, प्रदेश पदाधिकारी, र इन्चार्जहरूको संयुक्त भेला आयोजना गरी नीति, कार्यक्रम, र बजेटबारे छलफल गरिनेछ।

पार्टीको विदेश भ्रमण मापदण्ड

बैठकले पार्टी नेताहरूको विदेश भ्रमणका लागि नयाँ मापदण्ड बनाएको छ। महासचिव पोखरेलका अनुसार:

विदेश जानुअघि पार्टीबाट अनुमति लिनुपर्ने।
भ्रमण आयोजक संस्था, उद्देश्य, र विस्तृत जानकारी दिनुपर्ने।
विदेश भ्रमणपछि मुलुकको प्रतिष्ठा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने।
फर्किएपछि भ्रमण प्रतिवेदन पार्टीलाई बुझाउनुपर्ने।
स्थापना दिवसमा सम्मान कार्यक्रम
बैठकले एमालेको ७६औँ स्थापना दिवसको अवसरमा प्रत्येक प्रदेशबाट एक-एक जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिममा मनोनयन अनुमोदन

सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सदस्यमा मनोनयन गरेका जयचन्द्र स्वाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत, र अमर विकको नाम अनुमोदन गरिएको छ।

पाथीभरा केबुलकार निर्माण अघि बढाउने निर्णय

बैठकले ताप्लेजुङको पाथीभरा मन्दिरमा निर्माणाधीन केबुलकार परियोजना अघि बढाउन सरोकारवालालाई आग्रह गरेको छ।

महासचिव पोखरेलले पाथीभरा केबुलकारबारे भएको विवाद समाधान गर्न स्थानीय जनप्रतिनिधि, प्रशासन, र सरोकारवाला समूहसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिनुभयो।

शोक प्रस्ताव पारित

बैठकले पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडालकी धर्मपत्नी शान्ति वडालको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो।

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

0

काठमाडौँ: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक महिनामा ६ हजार ८७९ यात्रुले आवागमन गरेका छन्। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान–अवतरणमार्फत यात्रु आवागमन भएको हो।

यस अवधिमा फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, र थाई एयर एसियामार्फत १,०९७ यात्रुले यात्रा गरेका थिए। साथै, नेपाल एयरलाइन्सका एक नियमित तथा अन्य १३ चार्टर उडानबाट २११ यात्रु आएका विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४,०४० ट्रान्जिट यात्रु रहेका थिए। विमानस्थलमा पछिल्लो समय नियमित उडानहरू भइरहेका छन्, जसले यसको सञ्चालनलाई थप सक्रिय बनाएको महाप्रबन्धक तिवारीले बताउनुभयो।