म्याग्दी: धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रधानाध्यापक न्याउली छन्त्यालले पालिकाको केन्द्र मुना पुग्न अघिल्लो दिनसम्म पूरै दिन पैदलयात्रा गर्नुपर्थ्यो। काम सकेर फर्कन तीन दिन लाग्थ्यो। तर बिहीबार भएको नियमित बैठकमा सहभागी हुन उहाँ चार घण्टामै मुना पुग्न सफल हुनुभयो।
“लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी सञ्चालनमा आएपछि यात्राको समय चार घण्टामा छोटिएको छ,” उहाँले भन्नुभयो, “अब दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानी र बिरामीलाई अस्पताल पुर्याउन सहज भएको छ।”
भौगोलिक रूपमा विकट गुर्जावासीको यात्राअवधि सडक निर्माणपछि उल्लेख्य रूपमा घटेको छ। छन्त्याल र दलित समुदायको प्रमुख बसोबास रहेको गुर्जा म्याग्दीको एक मात्र वडा हो, जहाँ हालसम्म सडक यातायातको सुविधा पूर्ण रूपमा पुगेको थिएन। लत्रवाङसम्म सडक पुगे पनि हिउँ जमेकाले ३,३०० मिटर उचाइको देउराली धुरीसम्म मात्र जिप, ट्रयाक्टर, मोटरसाइकल सञ्चालन भइरहेका छन्। हिउँ पग्लिएपछि देउरालीदेखि लत्रवाङसम्मको थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन चल्न सक्नेछ।
यात्रा समयमा उल्लेखनीय कमी
लुलाङबाट देउराली पुग्न पहिला तीनदेखि चार घण्टा लाग्थ्यो। अब सडक खुलेपछि सो दूरी ३० मिनेटमै तय गर्न सकिन्छ। “बिरामी बोकेर डोकामा ल्याउनुपर्ने अवस्थाको अन्त्य हुँदैछ,” स्थानीय बासिन्दा मोदीमान श्रीपालीले भन्नुभयो, “समयमै अस्पताल पुग्न नसक्दा बाटोमै ज्यान गुमाउने घटना न्यूनीकरण हुने आशा छ।”
हाल गुर्जासम्म सडक पुग्न अझै १० किलोमिटर निर्माण गर्नुपर्नेछ। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार गत वर्ष लुलाङ–देउराली–लत्रवाङ सडकखण्ड अन्तर्गत ९.५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ।
विकासको लागि बहु-आयामिक लगानी
गत आर्थिक वर्षमा संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई–दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो। योजनामार्फत सडक मार्ग निर्माणसँगै विभिन्न स्थानमा ग्याबियन, मेसिनरी र पलम पर्खालहरू बनाइएको छ।
गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङसम्म पहिल्यै सडक जोडिएको थियो। आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङ–लुलाङ खण्डमा ४.४ किलोमिटर सडक निर्माण गरिएको थियो।
थप बजेट र संरचना निर्माणको तयारी
धवलागिरि गाउँपालिकाका प्राविधिक शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको दूरी २५ किलोमिटर छ। लत्रवाङबाट गुर्जासम्म सडक विस्तारका लागि संघीय सरकार र गाउँपालिकाले ७० लाख रुपैयाँको बजेट छुट्याएको छ, जसको ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढिरहेको छ।
प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँबाट लुलाङ–देउराली खण्डको स्तरोन्नति कार्य अघि बढाइएको छ। संघीय सरकारको १ करोड रुपैयाँको बजेटमार्फत बाङखोला क्षेत्रमा पर्खाल निर्माण, ग्रेड सुधार, र महतलाको भीरमा ढलानको काम भइरहेको छ।
यसैगरी, लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न प्रदेश सरकारले ठेक्का सम्झौता गरिसकेको छ।
गुर्जामा विकासको सम्भावना बढ्दै
गुर्जा एक मात्र बस्ती भएको वडा हो, जहाँ २६५ घरपरिवार र १,५०५ जनसंख्या रहेको छ। यो क्षेत्र खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले बसोबास गरेका ऐतिहासिक स्थानहरूमध्ये एक हो। सडक सुविधा नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा महँगो लागत लाग्ने गरेको थियो।
सडक यातायात सञ्चालनमा आएसँगै गुर्जावासीलाई यातायात सहज भएको छ। साथै, आन्तरिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।


