Friday, June 26, 2026
Home Blog Page 536

कुलमानबारे ऊर्जामन्त्रीलाई गगनले भने- “नचाहिने काममा नलाग्नु”

0

सिन्धुली: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई अनावश्यक विषयमा नअल्मलिन सुझाव दिएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति संकेत गर्दै उनले सरकारले एक व्यक्तिप्रति आवश्यकता भन्दा बढी ध्यान दिएको टिप्पणी गरे ।

सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘ऊर्जा मन्त्रालयलाई लिएर अहिले विभिन्न चर्चाहरू चलिरहेका छन् । मन्त्रालय अन्तर्गत विद्युत् प्राधिकरण पर्छ । मलाई यो कुरा बुझ्न गाह्रो भएको छ कि यो बदनियत हो कि व्यवस्थापनको असक्षमता । तीन–चार महिनामा अवकाश पाउने व्यक्तिप्रति सरकार अनावश्यक रूपमा केन्द्रित हुनु ठीक होइन । यस्तो नचाहिने कुरामा मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि योग्य व्यक्तिलाई नेतृत्व दिने परिपाटी बसाल्नुपर्छ ।’

उनले मन्त्रीहरू अनावश्यक विषयमा लागेमा त्यसलाई रोक्ने जिम्मेवारी प्रधानमन्त्रीको रहेको स्पष्ट पारे । प्रधानमन्त्री सरकार र क्याबिनेटको मुख्य नेतृत्वकर्ता भएकाले राम्रो कामको श्रेय र नराम्रो कामको अपजस दुवै उनैले लिनुपर्ने बताए ।

‘प्रधानमन्त्रीले राम्रो काम गरे श्रेय पाउनुहुन्छ, तर नराम्रो काम गरे त्यसको दोष पनि उहाँकै हुन्छ । हामी सरकारलाई सफल होस् भन्ने चाहन्छौँ । प्रदेश सरकारको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ,’ उनले भने ।

थापाले सरकारलाई राम्रो काम गर्न र यदि राम्रो गर्न नसके कम्तीमा नराम्रो काम नगर्न सुझाव दिए । उनले भने, ‘५० वटा राम्रो काम गरे पनि एउटा मात्र नराम्रो काम गरियो भने त्यसकै हल्लाले सबै राम्रो काम छोपिन्छ । त्यसैले सरकारको ध्यान नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ ।’

राष्ट्रिय गौरवको कागबेनी–कोरला मार्ग कालोपत्र हुने

0

मुस्ताङ: उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीदेखि उत्तरी कोरलानाकासम्मको ग्राभेल सडकमा कालोपत्रे गरिने भएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा ९७ किलोमिटर लामो (कागबेनी–कोरला) सडक कालोपत्रे गर्ने तयारी अघि बढेको हो।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षको असार मसान्तसम्म कागबेनीदेखि उत्तरी चीनसँग जोडिने कोरला नाकासम्म प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) प्रस्ताव स्वीकृत हुने पक्का भएको छ। यसले (कागबेनी–कोरला) ग्राभेल सडकलाई कालोपत्रे गर्न मार्ग खुला गरेको छ।

सडक कालोपत्रे प्रक्रिया अघि बढ्दै

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, लोकमार्ग निर्देशनालयमार्फत कागबेनीदेखि लोघेकर दामोदरकुण्ड–२ घमिसम्मको ५० किलोमिटर सडकको IEE प्रस्ताव स्वीकृत भइसकेको छ। कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकका आयोजना प्रमुख ध्रुव झाले कागबेनी–घमि सडकको IEE प्रस्ताव स्वीकृत भइसकेको र अब घमिदेखि कोरला नाकासम्मको ४७ किलोमिटर सडकका लागि IEE प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

उनका अनुसार दोश्रो फेज अन्तर्गत (घमि–कोरला) सडकको IEE प्रस्ताव दुई–तीन महिनाभित्र स्वीकृत हुने अपेक्षा गरिएको छ। IEE प्रक्रिया पूरा भइसकेपछि कागबेनीदेखि कोरला जोड्ने बहुवर्षीय कालोपत्रे योजना कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित हुने उनले बताए।

बजेट अभावका कारण ढिलाइ

आयोजना प्रमुख झाले कात्तिक महिनासम्म कागबेनी–घमिसम्मको ५० किलोमिटर सडकको IEE प्रस्ताव स्वीकृत भएको भए त्यस क्षेत्रमा कालोपत्रेका लागि बजेट सुनिश्चित हुने बताएका छन्। तर, प्राविधिक कारणले ढिलाइ हुँदा चालु आर्थिक वर्षमा कागबेनी–छुसाङ ९.८ किलोमिटर सडकका लागि मात्र बजेट सुनिश्चित गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) र अन्नपूर्ण संरक्षण क्षेत्र (ACAP) अन्तर्गत पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रियामा कानुनी जटिलता उत्पन्न भएको हो। त्यसैले आयोजनाले ५० किलोमिटर दूरीलाई दुई चरणमा विभाजन गरी IEE प्रक्रिया अघि बढाएको छ।

स्थानीय तहको माग र सरकारको प्राथमिकता

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उत्तरी कोरला नाकालाई उच्च प्राथमिकतामा राखी सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। चीनको मानसरोवर जाने तीर्थयात्री, नेपाल–चीन व्यापार, र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कोरला नाका महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

बजेट कटौतीले असर पर्ने चिन्ता

भारतीय नाकाबन्दीपछि २०७३/७४ देखि सञ्चालनमा आएको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत हालसम्म मालढुंगादेखि छुसाङसम्म ११५ किलोमिटर सडक कालोपत्रे ठेक्का सम्झौता भइसकेको छ। जोमसोम–कोरला खण्डको ११० किलोमिटर सडक ग्राभेल भइसकेको छ भने हाल ९७ किलोमिटर सडक अझै ग्राभेलमै रहेको छ।

तर, कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको ९० करोड रुपैयाँ बजेटबाट ३२ करोड रुपैयाँ कटौती गरिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख झाले बजेट कटौतीका कारण सडक निर्माणको गति प्रभावित हुन सक्ने बताए।

उनले भने, “कोरला सडकको बजेट अन्य योजनामा सारिएको छ, जसले आयोजना अघि बढाउन गाह्रो बनाउँछ। यदि यस्तो क्रम जारी रह्यो भने, काम प्रभावित हुनेछ।”

अर्थ मन्त्रालयले कागबेनी–छुसाङ सडकका लागि ५० करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ भने यसको ठेक्का प्रक्रिया अघि बढिसकेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू

0

चितवन: चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने कार्य सुरू भएको छ। विगत एक सातादेखि घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइँदै आएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो।

निकुञ्जका कर्मचारी, नेपाली सेना तथा सरोकारवाला टोलीको सहभागितामा नियन्त्रित डढेलो लगाइने गरिएको छ। थापामगरका अनुसार, “घाँसेमैदानमा रहेका जलनशील पदार्थलाई नियन्त्रित रूपमा डढाउँदा पछि अनियन्त्रित डढेलोको जोखिम कम हुन्छ।”

चितवन राष्ट्रिय निकुञ्जमा करिब १० हजार हेक्टर घाँसेमैदान रहेको छ, जसको हाल ३०० हेक्टर क्षेत्रफलमा मात्र व्यवस्थापन गरिएको छ। बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न कठिन भएको निकुञ्ज प्रशासनले जनाएको छ।

नियन्त्रित डढेलोका फाइदा

वन्यजन्तुले नखाने घाँस हट्न मद्दत गर्छ।
नयाँ र कलिला घाँस पलाउँदा जनावरका लागि चरन सहज हुन्छ।
वन्यजन्तुलाई क्षति पुर्‍याउने जोखिम रहँदैन।
अनियन्त्रित डढेलोको सम्भावना घट्छ।
थापामगरका अनुसार, चर्को गर्मीमा डढेलो फैलने सम्भावना बढी हुने भएकाले यही मौसममा नियन्त्रित डढेलो लगाइन्छ। साथै, यसले वन्यजन्तु बस्तीमा पस्ने सम्भावना कम गर्छ भने पर्यापर्यटनमा असर नपर्ने उहाँको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुहरू—गैँडा, बाघ, हात्ती, चित्तल आदिको वासस्थान हो। यहाँ विश्वभरबाट पर्यटकहरू जङ्गल सफारीका लागि आउने गर्छन्। नियन्त्रित डढेलोपछि पलाउने नयाँ घाँसका कारण वन्यजन्तु देख्न सहज हुने भएकाले पर्यटकहरूको चासो बढ्ने निकुञ्ज प्रशासनको विश्वास छ।

निकुञ्जभित्र चर्को गर्मीसँगै अनियन्त्रित डढेलो लाग्ने समस्या रहँदै आएको छ, जसले वन तथा वन्यजन्तुलाई क्षति पुर्‍याउने गर्छ। सीमित स्रोतसाधनका कारण अनियन्त्रित डढेलो नियन्त्रण चुनौतीपूर्ण हुने भए पनि क्षति न्यूनीकरणका लागि नियन्त्रित डढेलोको प्रयोग गरिने गरिएको छ।

म्याग्दीको मुदी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

0

म्याग्दी (बेनी), २४ फागुनः म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान ४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३:१४ बजे मुदीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदी, मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो।

बिहानपख सुतिरहेका मानिसहरू अचानक ठूलो धक्का महसुस भएपछि त्रसित हुँदै घर बाहिर निस्किएको धौलागिरि गाउँपालिका–४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यसअघि, फागुन १३ गते पनि पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युड, देवीस्थान आसपास ३.४ म्याग्निच्युड र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना, समानुपातिक समावेशी सिद्धान्तलाई कोशेढुङ्गा भन्दै विशेष जोड

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया र राजनीतिजस्ता राज्यका सबै क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँले भन्नुभयो, “लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य पूरा गर्न हरेक क्षेत्रमा महिलाको समान अवसर आवश्यक छ।”

परम्पराका नाममा समाजमा रहेका हानिकारक अभ्यास र प्रथाका कारण किशोरी तथा बालिकामाथि शारीरिक तथा मानसिक हिंसा बढिरहेको उल्लेख गर्दै उहाँले यस्ता विकृतिलाई निर्मूल गर्न प्रभावकारी र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ।

राष्ट्रपतिले जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाहरू सशक्त भएमा परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्ने बताउँदै यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। साथै, महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्यका लागि सबै क्षेत्रबाट योगदान गर्न आह्वान गर्नुभएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको ११५औँ वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरू, महिला अधिकारकर्मी, तथा महिलाको हक र अधिकार प्रवर्द्धनमा सक्रिय सबैलाई राष्ट्रपतिले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले सन्देशमा थप्नुभयो, “यस दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तिकरण तथा सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”

लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले यस वर्षको आदर्श वाक्य ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ तय गरेको छ।

यो दिवसले विश्वभर कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै प्रविधिमा पहुँच विस्तार, महिला सशक्तिकरण अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने तथा महिलालाई शिक्षित, आत्मनिर्भर र सम्मानित बनाउनका लागि पहल गर्ने लक्ष्य लिएको छ।

एलन मस्कको स्पेसएक्स स्टारशिप रकेट प्रक्षेपणपछि विस्फोट, अन्तरिक्षयान सम्पर्कविहीन

0

काठमाडौं: अमेरिकी अर्बपति व्यापारी र ट्रम्प प्रशासनका पूर्वसल्लाहकार एलन मस्कको कम्पनी स्पेसएक्स द्वारा विकसित स्टारशिप रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयमै विस्फोट भएको छ।

यस घटनाका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरिएका छन् भने अन्तरिक्षयानको भग्नावशेष खस्न सक्ने चेतावनी जारी गरिएको छ।

स्पेसएक्सले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उनीहरूको चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा सम्पर्कविहीन भएको पुष्टि गरेको छ। यो हालसम्म निर्मित सबैभन्दा ठूलो रकेट हो, तर प्रक्षेपण भएलगत्तै नियन्त्रण बाहिर गइसकेको थियो।

हालसम्म घाइते वा अन्य क्षतिको कुनै रिपोर्ट छैन। तर, क्यारिबियन टापु राष्ट्रहरूबाट खिचिएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष खसिरहेको दृश्य देखिएको छ।

यो परीक्षण स्टारशिपको आठौं मिशन थियो र लगातार दोस्रो असफलता। यद्यपि, स्पेसएक्सले भविष्यमा थप सुधार गर्दै अन्तरिक्ष मिसनलाई निरन्तरता दिने जनाएको छ।

पेरिसको सबैभन्दा व्यस्त रेलवे स्टेशनमा बम भेटियो

0

काठमाडौं: पेरिसको व्यस्त गारे दु नोर्ड स्टेशनमा दोस्रो विश्वयुद्धकालीन बम फेला परेपछि युरोस्टार र स्थानीय रेल सेवाहरू प्रभावित भएका छन्। सुरक्षा जोखिमका कारण यी सेवाहरू अस्थायी रूपमा रोकिएका छन्।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, उक्त बम सेन्ट-डेनिस क्षेत्रमा रेल ट्र्याकको बीचमा फेला परेको थियो। यद्यपि, बम निष्क्रिय अवस्थामा रहेको पुष्टि गरिएको छ।

युरोस्टारले एक विज्ञप्ति जारी गर्दै लन्डन र पेरिसबीचको सेवा रद्द गरिएको जानकारी गराएको छ। यात्रुहरूलाई अर्को सूचना नभएसम्म यात्रा योजना पुनःनिर्धारण गर्न आग्रह गरिएको छ।

गारे दु नोर्ड युरोपकै सबैभन्दा व्यस्त रेलवे स्टेशनमध्ये एक हो, जहाँ हरेक दिन ६ लाखभन्दा बढी यात्रुहरू ओहोरदोहोर गर्छन्। यो स्टेशन फ्रान्सको राष्ट्रिय रेल सेवा एसएनसीएफका साथै युरोस्टार, थेालिस, र अन्य अन्तर्राष्ट्रिय रेलहरूको प्रमुख केन्द्र हो।

फ्रान्सेली सुरक्षा अधिकारीहरूले बमको सुरक्षित डिस्पोजलका लागि विशेष टोली परिचालन गरेको बताएका छन्। घटनाका कारण पेरिसको सार्वजनिक यातायातमा अस्थायी अवरोध सिर्जना भए पनि अधिकारीहरूले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक कदम चालिरहेको जनाएका छन्।

कुलमानको ठाउँमा अर्जुनको दौडधूप

0

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी सरकारले गरेको छ। यद्यपि, आधिकारिक निर्णय हुन बाँकी छ, तर सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमाले घिसिङलाई हटाउने विषयमा सहमत भएको स्रोतको दाबी छ। घिसिङको कार्यकाल अब चार महिना मात्र बाँकी छ।

यसअघि मन्त्रिपरिषद्ले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो। ‘पदबाट किन नहटाउने ?’ भन्ने प्रश्नसहित सरकारको पत्र पुगे पनि घिसिङले जवाफ पठाएका छैनन्। तर, सरकार कुनै पनि अवस्थामा उनलाई हटाउने मनस्थितिमा पुगेको स्रोत बताउँछ।

उनको स्थानमा अर्जुनकुमार कार्कीको नियुक्ति तयारी

सरकारले घिसिङलाई हटाएर अवकाशप्राप्त पूर्वसचिव अर्जुनकुमार कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रक्रिया अघि बढाएको छ। कार्कीलाई नियुक्त गर्ने प्रमुख प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवाको रहेको स्रोतको दाबी छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन जनाएका छन्।

तर, कार्कीको छवि विवादमुक्त छैन। उनीमाथि २०७२ को भूकम्पपछि राहत सामग्री खरिदमा अनियमितता गरेको आरोप लागेको थियो। अख्तियारले भूकम्पपीडितका लागि किनिएका त्रिपाल र जस्तापातामा भ्रष्टाचार भएको भन्दै कारबाहीका लागि शहरी विकास मन्त्रालयमा पत्राचार गरेको थियो।

कार्की यसअघि नेपाल विद्युत प्राधिकरणकै कार्यकारी निर्देशक, ऊर्जा सचिव, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव, र नेपाल ट्रस्टका सचिव समेत भइसकेका छन्। ती जिम्मेवारी सम्हाल्दा उनीमाथि ट्रान्सफर्मर खरिदमा अनियमितता, इम्बोस्ड नम्बर प्लेट ठेक्कामा अनियमितता, र नेपाल ट्रस्टको जग्गा कौडीको मूल्यमा भाडामा दिएको आरोप लागेको थियो।

सरकारले घिसिङलाई हटाउने निर्णय किन लिएको हो र कार्कीको नियुक्ति कति सुनिश्चित छ भन्ने विषयमा भने औपचारिक रूपमा स्पष्ट गरिएको छैन।

एमजी एसको ५ को नयाँ इभी सार्वजनिक

0

काठमाडौँ: नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतीक्षित एमजी एस ५ इभी औपचारिक रूपमा सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा प्यारामाउन्ट मोटर्सले एमजी एस ५ इभी सार्वजनिक गरेको हो। कम्पनीले विद्युतीय सवारी साधन (EV) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

एमजी जेडएस इभीको उत्तराधिकारीका रूपमा आएको एमजी एस ५ इभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक सुविधाहरूले भरिपूर्ण छ। नेपालमा यो कम्फर्ट र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ।

दुवै भेरियन्टमा ४९ किलोवाट-आवर ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम २५० न्युटन मिटर टर्क उत्पन्न गर्न सक्छ। विशेष क्षमतासहितको डिलक्स भेरियन्ट उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प हो।

एमजी एस ५ इभीको सुरुवाती मूल्य कम्फर्ट भेरियन्टका लागि ४३.९९ लाख, डिलक्स भेरियन्टका लागि ४९.९९ लाख, र ६२ किलोवाट-आवर ब्याट्री भएको संस्करणका लागि ५४.९९ लाख तोकिएको छ।

जेड फोर इभी प्लेटफर्ममा निर्मित एमजी एस ५ इभीले सेग्मेन्टमै अग्रणी नवीनता प्रस्तुत गर्छ। यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउँछ।

यसमा रियर-व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिङ्क सस्पेन्सन प्रणाली, र उन्नत इन्जिनियरिङ जडान गरिएको छ, जसले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउँछ।

सार्वजनिक कार्यक्रममा बोल्दै एमजी मोटर्स नेपालका प्रतिनिधि, जेनेरल म्यानेजर सुनिल बहादुर छेत्रीले भने, “एमजी एस ५ इभी नवीनता, सुरक्षा, र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यसका प्रविधि र सेग्मेन्ट-अग्रणी विशेषताहरूले नेपालको इभी बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ।”

दिगोपनलाई प्राथमिकता दिँदै, एमजी मोटर्सले विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ सीमा तोड्दै उपभोक्ताको माग पूरा गर्ने लक्ष्य राखेको छ।

पूर्वमन्त्री दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

0

काठमाडौँ: ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत कैद छुट भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त छुटको फैसला गरेको हो।

मनाङेले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते अदालतमा निवेदन दिएका थिए।सो व्यवस्थाअनुसार, अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ।

सजाय छुटपछि अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ।