म्याग्दी (बेनी), २४ फागुनः म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३:१४ बजे मुदीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदी, मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो।
बिहानपख सुतिरहेका मानिसहरू अचानक ठूलो धक्का महसुस भएपछि त्रसित हुँदै घर बाहिर निस्किएको धौलागिरि गाउँपालिका–४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि, फागुन १३ गते पनि पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युड, देवीस्थान आसपास ३.४ म्याग्निच्युड र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।


