काठमाडौं: राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाको एक दशकमा झण्डै रु १५ अर्ब खर्च भएको छ। तर, सो रकम उद्देश्यअनुसार खर्च भए वा भएन भन्ने विषयमा समीक्षा भइरहेको छ।
२०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरिसकेको छ। समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८.९३ प्रतिशत र भौतिक प्रगति ९१.८४ प्रतिशत रहेको छ। समितिमा मासिक तलब सुविधा लिने ६ पदाधिकारीसहित १२४ जना कर्मचारी दरबन्दी भए पनि हाल ८६ जनाले मात्र पदपूर्ति गरेका छन्।
समितिको कार्यप्रगति
समितिले हालसम्म १,४५९ स्थानमा गल्छी, पहिरो, र खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार, ५,२३० हेक्टर क्षेत्रमा हरियाली प्रवर्द्धन, र दुई करोड ९३ लाख ४९ हजार विरुवा उत्पादन तथा वितरण गरेको छ।
अध्यक्ष डा. किरण पौडेलका अनुसार, “हालसम्म नदी/खोला किनारमा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार संरक्षण तथा पुनःनिर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण, र ५४८ वटा पानी मुहान संरक्षण गरिसकिएको छ।”
तर, उहाँले आवश्यक बजेट नपाएको र जनशक्ति अभावका कारण अपेक्षित काम गर्न नसकिएको स्वीकार गर्नुभयो।
समितिको प्रभावकारिता र आलोचना
समितिले ललितपुरस्थित केन्द्रीय कार्यालयका साथै सलकपुर, जनकपुर, चितवन, बुटवल, र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाइ स्थापना गरी चुरे क्षेत्रका ३७ जिल्ला र ३२५ स्थानीय तहमा कार्य गर्दै आएको जनाएको छ।
चुरेको संरक्षणका लागि समिति गठन भए पनि यसले निरन्तर आलोचना खेप्दै आएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले समितिले स्थानीय समुदायलाई वेवास्ता गर्दै काम गरेको आरोप लगाउँदै भने, “समितिले स्थानीय जनतालाई शासन गर्न खोजेको छ। समुदायलाई पन्छाएर गरिएका काम दीगो हुँदैनन्। यो समिति खारेज गर्नुपर्छ।”
समितिका संस्थापक अध्यक्ष रामेश्वर खनालले भने समितिको संरक्षण प्रयास सराहनीय रहेको बताउँदै गुरुयोजना कार्यान्वयनका लागि बजेट र जनशक्ति व्यवस्थापन आवश्यक रहेको सुझाव दिनुभयो।
चुरे विज्ञ डा. विजयसिंह दुनवारले चुरेको विनाश भए तराई मरुभूमि बन्ने चेतावनी दिँदै समितिको कामलाई प्रभावकारी बनाउन चुरेसम्बन्धी ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो।
महालेखापरीक्षकको रिपोर्ट: लक्ष्यअनुसार प्रगति भएन
महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले समितिको गुरुयोजना कार्यान्वयन प्रभावकारी नभएको औंल्याएको छ। ३६ जिल्लामा वन व्यवस्थापन, १४ हजार १५० हेक्टर वन अतिक्रमण नियन्त्रण, ४,८०० कृषक समूहमा चरिचरन व्यवस्थापन, ७,२६५ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार, १८० नदीमा नदीजन्य पदार्थ व्यवस्थापनजस्ता लक्ष्यमा उल्लेख्य प्रगति नभएको प्रतिवेदनमा उल्लेख छ।
साथै, ८९ सीमसार क्षेत्र व्यवस्थापन गर्ने लक्ष्य भए पनि ६५ मात्र पूरा भएको, ८१,१३७ घरधुरीमा गोबरग्यास विस्तार गर्ने लक्ष्य भए पनि मात्र १,९१७ घरधुरीमा विस्तार भएको प्रतिवेदनले देखाएको छ।
महालेखापरीक्षकको कार्यालयले गुरुयोजना कार्यान्वयनमा सुधार आवश्यक रहेको बताउँदै सरकारलाई कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिएको छ। यसैबीच, समितिलाई प्रभावकारी बनाउन सरकार पुनःसंरचनाका लागि कार्यदल गठन गरी सुझाव सङ्कलन गर्दै छ।