Friday, June 26, 2026
Home Blog Page 529

देशभर मौसम बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

0

काठमाडौँ: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावसँगै स्थानीय वायुको असर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने लुम्बिनी प्रदेशलगायतका केही पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

हाल कर्णाली प्रदेशका केही स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसोको मौसम पूर्वानुमान
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा अपराह्नतिर हावाहुरी चल्न सक्ने सम्भावना छ।

रातिको मौसम पूर्वानुमान
आज राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। देशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

साथै, कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ। मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई पनि जरिवाना

0

काठमाडौँ: अब सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई जरिवाना लाग्ने छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी र यातायात व्यवस्थापनका लागि बनाएको विधेयक २०८१ को मस्यौदामा यस्तो प्रावधान राखिएको हो।

विधेयक अनुसार, सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई पाँच सय रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ। त्यस्तै, अनधिकृत व्यक्तिले ट्राफिक सङ्केत राख्ने, फेरबदल गर्ने वा नष्ट गर्ने कार्यमा पाँच हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको जरिवाना लाग्ने प्रावधानसमेत राखिएको छ।

बाल सुधार गृहमा झडप र आगजनी, ४९ जना घाइते

0

बुटवल: बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा भएको झडपमा ४९ जना घाइते भएका छन्। दुई समूहबीचको भिडन्तका कारण घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।

तत्काल नियन्त्रणमा लिइएको झडप सम्बन्धी जानकारी दिँदै बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रातोपाटीलाई भने, “दुई समूहबीचको झडपका क्रममा अस्पताल जानु पर्ने घाइतेहरूको संख्या ४९ पुगेको छ।”

गम्भीर घाइते मध्ये एक जना र दुई जनालाई नेपालगन्जको नेपाल प्रहरी मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ, जहाँ चिकित्सकहरूले साँझसम्म कति जनालाई डिस्चार्ज गर्ने र कति जनालाई भर्ना गर्ने निर्णय गर्नेछन्।

झडपका क्रममा सुधार केन्द्रमा आगजनीसमेत गरिएको छ। बालबन्दीहरूले आफू बस्ने लत्ताकपडा, भाँडाकुँडा र फर्निचर जलाएका थिए। यस घटनामा तीन जना प्रहरी पनि घाइते भएका छन्।

प्रहरीका अनुसार, बाल सुधार गृहमा गए राति सुरु भएको विवाद दुई पक्षबीचको झडपमा परिणत भएको हो। बालबन्दीहरूले सुधार गृहको तल्लो तलामा आगजनी गरेपछि परिसरमा ठूलो क्षति भएको छ।

सुधार गृहमा हाल २ सय ५५ जना भन्दा बढी बालबन्दी रहेका छन्। त्यसमध्ये केही बालबन्दीहरू घटनापछि भाग्न असफल भएका छन् र सबैलाई प्रहरीको घेरामा राखिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए। उनले भने, “भित्रको अवस्था सफा हुँदैछ, र सफा भएपछि सबैलाई भित्र राखिनेछ। अहिले सबै बालबन्दीहरू प्रहरी नियन्त्रणमा चौरमा रहेका छन्।”

घटनाको कारणबारे प्रहरी अनुसन्धान जारी राखेका छन्, तर प्रारम्भिक जानकारी अनुसार क्याप्टेनहरूले घरबाट पैसा माग्ने र अन्य तनाव दिने कार्य गर्दा लफडा भएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी जोशीले रातोपाटीसँग भने, “यकिन कारण अझै बाहिर आएको छैन, तर घाइतेहरूले क्याप्टेनहरूले तनाव दिएर झडप गराएको बताएका छन्।”

यसअघि असोज ४ गते बाल सुधार गृहमा भएको अर्को झडपमा एक बालबन्दीको मृत्यु भएको थियो। केही दिनअघि तीन जना प्रहरीकर्मी कुटिएका थिए। यसअघि झडप गर्ने बालबन्दीहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो।

हाल बाल सुधार गृह प्रशासनलाई सुरक्षा चुनौती भैरहेको छ। प्रहरी बल प्रयोग गर्न निषेधित भएकाले, भित्र रहेका बालबन्दीहरू आपसमा झडप गर्दै आएका छन्।

प्रमुख जिल्ला अधिकारी जोशीले भने, “१८ वर्ष नपुगेका बालबन्दीलाई राख्नका लागि बनाइएको सुधार गृहमा, १८ वर्ष माथिका बालबन्दीहरूलाई पनि मुद्दा समाप्त नगरेसम्म राख्दा झडपका घटनाहरू बढ्दै गएका छन्। यस विषयमा छानबिन समिति गठन गरिनेछ।”

महेश बस्नेतले भने- “मलाई नजिताएकोमा जनतालाई पछुतो छ”

0

काठमाडौं: नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरको विकास स्यालको सिंह हराएजसरी हराएको टिप्पणी गरेका छन् ।

पछिल्लो निर्वाचनमा भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका बस्नेतले आफू सांसद् रहँदा सुरु गरेका विकासका कामहरूलाई निरन्तरता नदिइएको गुनासो गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘भक्तपुरबाट निर्वाचित नेताले संसद्‌मा बोलेको सुनेको छैन । नयाँ बजेट ल्याउने कुरा त परै जाओस्, हाम्रो भौतिक विकास स्यालको सिंह हराएजसरी हरायो ।’

उनले हाल आफ्नो क्षेत्रका जनतासँग नियमित सम्पर्कमा रहेको बताउँदै भने, ‘डुल्दा भेट भएका जनताले तपाईंलाई नजिताएर गल्ती गरिएछ भन्छन् । मलाई भोट नदिएकाहरूले पनि यस्तो भनेको सुन्छु । तर, मैले भनेको छु— मलाई फरक पर्दैन ।’

पूर्वपदाधिकारीलाई सुविधा दिने कानुनको गगन थापाले गरे विरोध

0

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिने कानुनको विरोध गरेका छन् ।

शनिबार प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउँदै यस्तो अनुत्पादक खर्च रोक्ने कानुन आवश्यक रहेको उल्लेख गरे ।

स्वास्थ्य मन्त्री रहँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने कानुन ल्याएका उनले जनताको ढुकुटीबाट जीवनभर सेवा सुविधा दिने कानुनको तयारीप्रति आपत्ति जनाए ।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु अन्यायपूर्ण छ । सरकार चलाउन नसके पनि कम्तीमा यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्छ ।’

गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

गृह मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने विधेयकको मस्यौदा निर्माण प्रक्रिया सुरु भएको छ ।

विधेयक पारित हुँदा शिक्षा क्षेत्रका धेरै समस्या हल हुन्छन् : राष्ट्रियसभा अध्यक्ष दाहाल

0

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित बृहत्त शैक्षिक सम्मान कार्यक्रममा अध्यक्ष दाहालले पञ्चायतकालीन ऐनको प्रभावका कारण परिवर्तित सन्दर्भका समस्या समाधान गर्न नसकिएको उल्लेख गर्दै विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आउने धारणा व्यक्त गरे ।

उनले नागरिकका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनहरू अझै बन्न नसकेको स्वीकार्दै संघीय संसदको चालू अधिवेशनबाट महत्वपूर्ण विधेयकहरू पारित हुने विश्वास व्यक्त गरे ।

शिक्षाले मुलुकको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न उपयुक्त वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

अध्यक्ष दाहालले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा उल्लेखनीय सुधार नआएको स्वीकार्दै शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

साथै, उनले जनतामा बढ्दै गएको निराशालाई उपयोग गर्दै परिवर्तनविरोधी शक्तिहरू सक्रिय हुन सक्ने चेतावनी दिंदै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि हुनसक्ने षड्यन्त्रप्रति सबै सचेत रहनुपर्ने बताए ।

सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च

0

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको खर्च आम्दानीभन्दा बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्म सरकारको कुल आम्दानी रू ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख भए पनि कुल खर्च रू ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख पुगेको छ। यसरी सरकारको आम्दानीभन्दा खर्च रू १ खर्ब ५३ करोड ४७ लाखले बढी भएको देखिन्छ।

यस अवधिमा सरकारको विकास खर्च अत्यन्तै न्यून देखिएको छ। फागुन मसान्तसम्म पुँजीगत खर्च वार्षिक विनियोजनको २३.३७ प्रतिशत मात्रै रहेको छ। चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत खर्चतर्फ रू ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन गरेकोमा हालसम्म मात्र रू ८२ अर्ब ३३ करोड ६० लाख खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५.१२ प्रतिशत अर्थात रू ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भइसकेको छ। चालु खर्चतर्फ विनियोजित रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाखमध्ये ५१.२१ प्रतिशत अर्थात रू ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाख खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ विनियोजित रू ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाखमध्ये ४७.०७ प्रतिशत अर्थात रू १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख खर्च भइसकेको छ।

राजस्व संकलन पनि लक्ष्यअनुसार प्रभावकारी देखिएको छैन। सरकारले चालु आर्थिक वर्षका लागि रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ५०.२ प्रतिशत अर्थात रू ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख संकलन भएको छ।

कर राजस्वतर्फ लक्ष्य रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख भए पनि हालसम्म ४९.७४ प्रतिशत अर्थात रू ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख मात्र संकलन भएको छ। त्यस्तै, गैरकर राजस्वतर्फ लक्ष्य रू १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख भए पनि हालसम्म ६०.३६ प्रतिशत अर्थात रू ८१ अर्ब ५४ करोड ७७ लाख मात्र उठाइएको छ।

वैदेशिक अनुदान संकलन झनै कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि सरकारको लक्ष्य रू ५२ अर्ब ३२ करोड ६५ लाख भए पनि हालसम्म वार्षिक लक्ष्यको १७.५१ प्रतिशत अर्थात रू ९ अर्ब १६ करोड २५ लाख मात्र प्राप्त भएको छ।

प्रसिद्ध गजल गायक गुलाम अलीले आज पुल्चोकमा साङ्गीतिक प्रस्तुति दिने

0

काठमाडौँ: प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अली यतिबेला नेपालमा छन्। उनी ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रममा सहभागी हुन बिहीबार नेपाल आएका हुन्। ललितपुरको पुल्चोकमा शनिबार आयोजना हुने कार्यक्रममा उनले प्रस्तुति दिनेछन्।

साधना कला केन्द्रको आयोजनामा हुने कार्यक्रममा भाग लिन अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौं आइपुगेका हुन्। आयोजकका अनुसार उनलाई काठमाडौँको एक तारे होटलमा राखिएको छ।

पहिलो पटक नेपालमा प्रस्तुति
गुलाम अलीले करिब तीन घण्टासम्म आफ्ना लोकप्रिय गजल प्रस्तुत गर्नेछन्। नेपालमा पहिलो पटक प्रत्यक्ष प्रस्तुति दिन लागेका उनले यस अवसरलाई विशेष रूपमा लिएको आयोजक मिलन मोक्तानले जानकारी दिए। कार्यक्रममा गायक अलीका छोरा अमिर अली र नाति नाजिर अलीले पनि प्रस्तुति दिनेछन्।

को हुन् गुलाम अली?
गुलाम अली पाकिस्तानका प्रख्यात गजल तथा पार्श्वगायक हुन्। उनी गायक बडे गुलाम अली खान र छोटे गुलाम अली खानका चेला हुन्। भारत, नेपाल, बङ्गलादेश, अमेरिका, बेलायत, र मध्यपूर्वी एसियासमेत विभिन्न मुलुकमा उनी चर्चित छन्। उनका थुप्रै गजल बलिउड फिल्ममा पनि समावेश छन्।

लोकप्रिय गजलहरू
गुलाम अलीले गाएका कैयौँ गजलहरू निकै लोकप्रिय छन्। तीमध्ये—

‘छुप छुप रात दिन’
‘हङ्गामा हे क्युँ’
‘यह दिल यह पागल दिल’
‘किया है प्यार जिसे’
यी गजलहरू बलिउड फिल्ममा समेत समावेश छन्।
नेपालसँग विशेष सम्बन्ध
गुलाम अलीले तत्कालीन राजा महेन्द्रले लेखेका नेपाली गीतहरू पनि गाएका छन्। उनले संगीतकार दीपक जंगमको शब्द तथा संगीतमा आधारित नेपाली चार गीत गाएका छन्। उनका चर्चित नेपाली गीतहरूमा—

‘किन किन तिम्रो तस्बिर’
‘गाजलु ती ठूला ठूला आँखा’
‘लोलाएका ती ठूला’
‘के छ र दिउँ’
यी गीतहरू तत्कालीन राजा महेन्द्रका मनपर्ने सिर्जना थिए।
सांगीतिक यात्रा
सन् १९६० मा रेडियो पाकिस्तान, लाहोरका लागि गीत गाएर सांगीतिक यात्रामा प्रवेश गरेका अलीले धेरै गजल एल्बम सार्वजनिक गरिसकेका छन्। उनका चर्चित एल्बमहरूमा—

‘तेरे सहर मे’
‘लम्हा लम्हा’
‘महताव’
‘मदहोस’
‘खुस्बु’
‘रब्बा यार मिलादे’
‘सज्दे’
‘विशाल गजल’
‘आवरागी’
‘दिल लगी’
‘परछाइयाँ’
‘हुसन-ए-गजल’
‘गजल’ आदि छन्।
नेपालका श्रोतामाझ उनको प्रस्तुति विशेष रहन अपेक्षा गरिएको छ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा रहेको छ।

युरोपियन युरोको खरिददर १५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रूपैयाँ ०३ पैसा छ भने, युके पाउन्ड स्टर्लिङको खरिददर १७९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १८० रूपैयाँ ५३ पैसा कायम भएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ७० पैसा रहेको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रूपैयाँ, क्यानेडियन डलरको खरिददर ९६ रूपैयाँ २५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६७ पैसा, तथा सिङ्गापुर डलरको खरिददर १०४ रूपैयाँ १० पैसा र बिक्रीदर १०४ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, जापानी येन (१०) को खरिददर ९ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९ रूपैयाँ ३८ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा छ।

खाडी मुलुकका मुद्रामध्ये,

साउदी अरेबियन रियालको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा,
कतारी रियालको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा,
युएई दिरामको खरिददर ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९८ पैसा,
कुवेती दिनारको खरिददर ४५० रूपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८० पैसा,
बहराइन दिनारको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा,
ओमनी रियालको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।
अन्य मुद्राहरुमा,

थाई भाटको खरिददर ४ रूपैयाँ १३ पैसा र बिक्रीदर ४ रूपैयाँ १५ पैसा,
मलेसियन रिङ्गेटको खरिददर ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा,
साउथ कोरियन वन (१००) को खरिददर ९ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९ रूपैयाँ ५९ पैसा,
स्वीडिस क्रोनरको खरिददर १३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३ रूपैयाँ ७८ पैसा,
डेनिस क्रोनरको खरिददर २० रूपैयाँ २९ पैसा र बिक्रीदर २० रूपैयाँ ३८ पैसा,
हङकङ डलरको खरिददर १७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७ रूपैयाँ ९५ पैसा रहेको छ।
भारतीय रूपैयाँ १०० को विनिमय दर १६० रूपैयाँ खरिददर र १६० रूपैयाँ १५ पैसा बिक्रीदर निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुनसक्ने तथा अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।