Thursday, May 7, 2026
Home Blog Page 51

नेपाली कांग्रेस को १५औँ महाधिवेशन तालिका सार्वजनिक, असोज १६–१९ मा केन्द्रीय अधिवेशन

0

काठमाडौं । नेपाली कांग्रेस ले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णयअनुसार विस्तृत तालिका सार्वजनिक गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक विशेष अभियान सञ्चालन गरिनेछ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइने र वितरणका लागि १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

आगामी वैशाख १ देखि मसान्तसम्म देशभरका ६,७४३ वडामा सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ। सदस्यहरूले आफू आवद्ध वडाबाटै सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

जिल्लास्तरमा प्रारम्भिक छानबिन समितिमा परेका उजुरीको निराकरण गरी जेठ मसान्तसम्म केन्द्रमा पठाइनेछ भने केन्द्रले असार १५ गतेभित्र अन्तिम टुंगो लगाउने समयसीमा निर्धारण गरेको छ।

अद्यावधिक सदस्यहरूको नामावली असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ। त्यसपछि सभापतिबाट प्रमाणित अन्तिम नामावली उपलब्ध गराएर अधिवेशन प्रक्रिया अघि बढाइनेछ।

कार्यतालिकाअनुसार भदौ २ गते वडा अधिवेशन सम्पन्न गरिनेछ भने भदौ ७ गते गाउँ/नगर अधिवेशन हुनेछ। भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुने जनाइएको छ।

त्यसैगरी असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरिनेछ भने अन्तिम रूपमा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गरिनेछ।

पार्टीले महाधिवेशन तयारीसँग सम्बन्धित अन्य विभिन्न निर्णयहरू समेत गरेको जनाएको छ।

राजीनामा हल्लामा गभर्नर डा. विश्वनाथ पौडेलको व्यङ्ग्यात्मक प्रतिक्रिया

0

काठमाडौँ । नेपाल राष्ट्र बैंक का गभर्नर डा. विश्वनाथ पौडेल ले आफ्नो राजीनामाबारे चलिरहेका चर्चा र हल्लालाई व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र राष्ट्र बैंकले संयुक्त रूपमा आयोजना गरेको बैंकिङ तालिम कार्यक्रममा बोल्दै उनले अहिलेसम्म कसैले पनि आफूलाई राजीनामा दिन आग्रह नगरेको स्पष्ट पारे।

‘व्यक्ति हुनु वा नहुनुमा धेरै चासो राख्नु पर्दैन, पदहरू अस्थायी हुन्,’ उनले भने, ‘म यहीँ बसेर जिन्दगी बिताउँछु भनेर आउने पद होइन।’

गभर्नर पौडेलले हरेक पदको निश्चित अवधि हुने उल्लेख गर्दै पदप्रति अत्यधिक मोह राख्नु उपयुक्त नहुने बताए। ‘जिम्मेवारी पाउनु एउटा तथ्य हो, तर त्यसमा अनावश्यक आसक्ति राख्नु हुँदैन,’ उनले थपे।

मिडियामा मात्र राजीनामासम्बन्धी चर्चा देखिएको भन्दै उनले कसैले प्रत्यक्ष रूपमा यस्तो प्रस्ताव नगरेको बताए। साथै, सार्वजनिक पदमा रहेकाले जनचासो र मिडियाको बहसलाई स्वाभाविक रूपमा लिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको उनले बताए।

संसदीय दलको नेता चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी को बैठक आज

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकपछि संसदीय दलको बैठक पनि बस्ने कार्यसूची तय गरिएको छ।

पार्टीका अनुसार दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संसदीय दलको नेता चयनसहित विभिन्न एजेण्डामा छलफल गरिनेछ।

नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। त्यससँगै दलको नेता चयन प्रक्रिया अघि बढाइने बताइएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत हासिल गरेको दाबी गर्दै संविधानको धारा ७६(१) अनुसार सरकार गठनका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

आज २७४ सांसदको शपथ: अर्जुननरसिंह केसी ले गराउने सपथ ग्रहण

0

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सबै नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहण आज दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ।

केसीले बुधबार ज्येष्ठ सदस्यको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका थिए।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार कुनै पनि सदस्यले प्रतिनिधि सभा वा त्यसको समितिको बैठकमा सहभागी हुनुअघि अध्यक्षता गर्ने व्यक्तिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

आजको विनिमयदर: अमेरिकी डलर १५० रुपैयाँमाथि, अन्य मुद्राको दर सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा कायम गरिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा रहेको छ।

त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ २३ पैसा र बिक्रीदर १९० रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७६ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा तोकिएको छ।

यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४० पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरले कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र बागमती प्रदेशको हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

‘जेनजी’ आन्दोलन छानबिन: शेरबहादुर देउवा निवासमा भेटिएको रकममाथि अनुसन्धान सिफारिस

0

काठमाडौं । भदौ २३ गते संसद् भवन परिसरमा भएको ‘जेनजी’ प्रदर्शनको क्रममा भएको गोलीकाण्ड तथा भदौ २४ गते भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरूको घरमा भेटिएको रकमबारे गम्भीर प्रश्न उठाएको छ।

आयोगले आफ्नो प्रतिवेदनमार्फत देउवाको निवासमा आक्रमणका क्रममा फेला परेको जलेको तथा नजलेको अवस्थाको नगद रकमको स्रोतबारे कानुनअनुसार विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न व्यक्तिका घरमा आक्रमण गर्दा ठूलो मात्रामा नगद फेला परेको विषय सार्वजनिक भएको थियो। उक्त रकमको स्रोत र अवस्थाबारे स्पष्ट हुनुपर्ने भन्दै गौरी बहादुर कार्की नेतृत्वको आयोगले यसलाई कानुनी अनुसन्धानको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो।

आयोगले भदौ २३ गतेको घटनालाई केवल तत्कालीन सरकारद्वारा गरिएको दमनको प्रतिफल मात्र मान्न नसकिने पनि उल्लेख गरेको छ। छानबिनका क्रममा सीसीटीभी फुटेज, श्रव्यदृश्य सामग्री तथा नेपाल टेलिकमNcell जस्ता सेवा प्रदायकबाट प्राप्त डाटाको विश्लेषण गरिएको थियो।

प्रतिवेदनअनुसार तोडफोड, लुटपाट र आगजनीका घटनामा ‘जेनजी’ आन्दोलनको आडमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू समेत संलग्न रहेको ठहर गरिएको छ।

यस क्रममा विभिन्न राजनीतिक दलका तत्कालीन नेताहरूले आफ्ना कार्यकर्ताहरू दोषी ठहरिए कारबाही गर्नुपर्ने धारणा आयोगसमक्ष व्यक्त गरेका छन्। आयोगले यसबाट दोषी पहिचान र कारबाही प्रक्रियामा सहजता आउने विश्वास व्यक्त गरेको छ।

आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

देउवाको घरमा भेटिएको अमेरिकी डलरको बन्डल: भिडियो साभार- सामाजिक संजाल

 

 

 

इनिशाको बलात्कार र हत्या घटनामा आयो प्रहरी प्रतिवेदन, मुख्य आरोपीलाई दुई कसुरमा कारबाही माग

0

सुर्खेत । १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार बुधबार अनुसन्धान प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा मुख्य अभियुक्तका रूपमा घटनास्थलबाट पक्राउ परेका एक किशोरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी कसुरमा जन्मकैदको माग गरिएको छ।

अन्य तीन किशोरविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई घटनापछि पीडितलाई समयमै अस्पताल नपुर्‍याएको आरोपमा जिम्मेवार ठहर गरिएको छ।

प्रहरीले डीएनए, मोबाइल फरेन्सिक र टक्सिकोलोजी रिपोर्ट नआउँदै प्रतिवेदन बुझाएको हो। एसपी शाहीका अनुसार केही परीक्षण नेपालमा सम्भव नभएकाले नमूना विदेश पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ। ती रिपोर्टपछि मृत्युको कारण अझ स्पष्ट हुने उनले बताए।

फागुन २३ गते बिहान ट्युसन पढ्न निस्केकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वन क्षेत्रमा मृत फेला परेकी थिइन्। प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख गरिएको थियो।

घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरीले अलग–अलग रूपमा गरेका थिए।

परिवारले भने अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै शव बुझ्न अस्वीकार गरेका छन्। हालसम्म १९ दिनदेखि शव कर्णाली प्रादेशिक अस्पतालमा राखिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादुर महतले प्रतिवेदन अध्ययन भइरहेको र आवश्यक परे फिर्ता पठाउन सकिने बताए। अध्ययनपछि मात्र कसलाई कुन अभियोग लगाउने भन्ने विषय सार्वजनिक गरिने उनले जानकारी दिए।

घटनापछि देशव्यापी विरोध प्रदर्शन भएको थियो भने निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग उठेको थियो।

ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर

0

काठमाडौं । नेपाली कांग्रेस का केन्द्रीय सदस्य विजयबहादुर स्वाँर ले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो अपनाउनुपर्ने बताएका छन्।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने प्रस्ताव संवैधानिक अधिकारसँग जोडिएको गम्भीर विषय भएको उल्लेख गरे।

उनका अनुसार ट्रेड युनियनभित्र देखिएका विकृतिहरू सुधार गर्न सकिने भए पनि सम्पूर्ण रूपमा खारेज गर्नु उचित नहुने धारणा व्यक्त गरे। ‘ट्रेड युनियनमा सुधार आवश्यक छ, तर यसलाई नै समाप्त गर्ने कुरा संवैधानिक अधिकार खारेज गर्ने जस्तै हो,’ उनले भने।

स्वाँरले नेपाली कांग्रेस को ऐतिहासिक आधारसमेत ट्रेड युनियनसँग जोडिएको उल्लेख गर्दै यसलाई कमजोर बनाउने अभिव्यक्ति पार्टीभित्रैबाट आउनु अनुचित हुने बताए।

उनले पार्टीभित्र ट्रेड युनियनसम्बन्धी स्पष्ट धारणा चाँडै ल्याउनुपर्नेमा जोड दिँदै सरोकारवालासँग छलफल गरेर यसको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।

‘हाम्रो जग नै ट्रेड युनियन हो। यदि त्यो कमजोर भयो भने पार्टीको आधार नै कमजोर हुन्छ,’ उनले भने, ‘त्यसैले सम्बन्धित पक्षसँग छिट्टै संवाद आवश्यक छ।’

चुनौतीबीच पनि समयमै निर्वाचन सम्पन्न: कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी

0

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले विभिन्न जटिलता र व्यवधानका बाबजुद निर्वाचन आयोगले निर्धारित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताएका छन्।

आयोग परिसरमा आज आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन घोषणा भएदेखि नतिजासहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने करिब छ महिनाको अवधिमा आयोगले अनेक चुनौती पार गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको उल्लेख गरे।

उनका अनुसार आयोगका कर्मचारीहरूको पेशागत दक्षता, व्यावसायिकता र निरन्तर सक्रियतासँगै विभिन्न निकाय तथा सरोकारवालाको सहकार्यले मतदाता नामावली दर्ता, राजनीतिक दल दर्ता, अन्तिम नामावली प्रकाशन, बन्दसूची पेश, निर्वाचन अधिकृत नियुक्ति, अभिमुखीकरण, मतदाता शिक्षा, सामग्री व्यवस्थापन, अनुगमन, मतदान र मतगणना लगायतका सबै कार्य समयमै सम्पन्न गर्न सम्भव भएको हो।

भण्डारीले मतदाता नामावली दर्तामा देखिएको समस्या समाधान गर्न कानुनी संशोधन गरी राष्ट्रिय परिचयपत्र प्रणालीसँग अन्तःआबद्धता कायम गर्दै अनलाइन प्रणालीमार्फत दर्ता प्रक्रिया अघि बढाइएको जानकारी दिए।

निर्वाचनबारे विभिन्न शंका–उपशंकाका बीच आयोगले राजनीतिक दल, सरकार र सरोकारवालासँग निरन्तर संवाद र समन्वय गर्दै अनुकूल वातावरण सिर्जना गरेको उनले बताए।

संविधानले दिएको जिम्मेवारीअनुसार जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्दै लोकतन्त्र सुदृढीकरणमा आयोग सफल भएको उनको भनाइ थियो।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि कठिन परिस्थितिबीच आयोगले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सफल भएको बताएका थिए।