काठमाडौं । भदौ २३ गते संसद् भवन परिसरमा भएको ‘जेनजी’ प्रदर्शनको क्रममा भएको गोलीकाण्ड तथा भदौ २४ गते भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरूको घरमा भेटिएको रकमबारे गम्भीर प्रश्न उठाएको छ।
आयोगले आफ्नो प्रतिवेदनमार्फत देउवाको निवासमा आक्रमणका क्रममा फेला परेको जलेको तथा नजलेको अवस्थाको नगद रकमको स्रोतबारे कानुनअनुसार विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न व्यक्तिका घरमा आक्रमण गर्दा ठूलो मात्रामा नगद फेला परेको विषय सार्वजनिक भएको थियो। उक्त रकमको स्रोत र अवस्थाबारे स्पष्ट हुनुपर्ने भन्दै गौरी बहादुर कार्की नेतृत्वको आयोगले यसलाई कानुनी अनुसन्धानको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो।
आयोगले भदौ २३ गतेको घटनालाई केवल तत्कालीन सरकारद्वारा गरिएको दमनको प्रतिफल मात्र मान्न नसकिने पनि उल्लेख गरेको छ। छानबिनका क्रममा सीसीटीभी फुटेज, श्रव्यदृश्य सामग्री तथा नेपाल टेलिकम र Ncell जस्ता सेवा प्रदायकबाट प्राप्त डाटाको विश्लेषण गरिएको थियो।
प्रतिवेदनअनुसार तोडफोड, लुटपाट र आगजनीका घटनामा ‘जेनजी’ आन्दोलनको आडमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू समेत संलग्न रहेको ठहर गरिएको छ।
यस क्रममा विभिन्न राजनीतिक दलका तत्कालीन नेताहरूले आफ्ना कार्यकर्ताहरू दोषी ठहरिए कारबाही गर्नुपर्ने धारणा आयोगसमक्ष व्यक्त गरेका छन्। आयोगले यसबाट दोषी पहिचान र कारबाही प्रक्रियामा सहजता आउने विश्वास व्यक्त गरेको छ।
आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।
देउवाको घरमा भेटिएको अमेरिकी डलरको बन्डल: भिडियो साभार- सामाजिक संजाल


