Tuesday, June 30, 2026
Home Blog Page 498

प्रदीप शाही कान्स प्रोड्यूसर्स नेटवर्कमा चयन, ‘एक्लो’ फिल्ममार्फत नेपाली सिनेमा विश्वसामु

0

काठमाडौंः ब्रिटिश–नेपाली लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही सन् २०२५ मा आयोजना हुने Cannes Producers Network का लागि चयन भएका छन्। यो नेटवर्क विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल अन्तर्गतको Marché du Film को प्रतिष्ठित कार्यक्रम हो, जसमा विश्वभरका अग्रणी निर्माता तथा सर्जकहरूलाई आमन्त्रण गरिन्छ। यस उपलब्धिले शाहीलाई अन्तर्राष्ट्रिय फिल्म निर्माणको केन्द्रमा स्थापित गरेको छ।

शाहीले यस वर्ष मे महिनामा हुने कान्स फिल्म मार्केटमा आफ्नो नयाँ साइ–फाइ थ्रिलर फिल्म ‘एक्लो’ प्रस्तुत गर्नेछन्। पोस्ट-प्रोडक्सन चरणमा रहेको यो जम्बी थ्रिलर चलचित्र हिमालय क्षेत्रको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ। चलचित्रले अस्तित्वको संकट, पौराणिक विश्वास र अदृश्य शक्तिहरूबीचको सम्बन्ध उजागर गर्दै मानव सभ्यताको सम्भावित विनाशको चित्रण गर्दछ।

‘एक्लो’ त्रयी (ट्रिलोजी) चलचित्रको पहिलो भाग हो। निर्देशक शाहीका अनुसार, “कान्स प्रोड्यूसर्स नेटवर्कमा सहभागी हुन पाउनु केवल व्यक्तिगत सफलता होइन, नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर पनि हो। ‘एक्लो’ मार्फत मैले नेपालमै बसेर पनि विश्वस्तरीय सिनेमा निर्माण सम्भव छ भन्ने सन्देश दिन खोजेको हुँ।”

यसअघि शाहीले ‘1915: Legend of the Gurkha’ र ‘The Last Ritual’ निर्देशन गरिसकेका छन्, जसले पूर्वी संस्कृति र पश्चिमी कथावाचनबीचको सन्तुलन प्रस्तुत गरेका छन्। यी दुवै चलचित्र Amazon Prime मा उपलब्ध छन्।

‘एक्लो’ मा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय रहेको छ। साथै, बेलायती अभिनेता जेमी बेकनले पनि प्रमुख भूमिका निभाएका छन्।

शाइ प्रोडक्सन नेपाल को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा ह्याम्साएर एकाउन्टेन को सहकार्य रहेको छ। चलचित्रका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन तथा सन्तोष लामाको कला निर्देशन रहेको छ।

‘एक्लो’ लाई नेपाली सिनेमाको इतिहासमा नयाँ ढोका खोल्ने महत्वाकांक्षी प्रयासको रूपमा हेरिएको छ, जसले नेपालको सांस्कृतिक गहिराइ र सिनेम्याटिक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

वीरगञ्ज भन्सार कार्यालयद्धारा नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कुल रु १ खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ।

कार्यालयका अनुसार, साउन महिनामा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड, फागुनमा रु १४ अर्ब ६३ करोड र चैत महिनामा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको हो।

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

0

काठमाडौँ: सरकारले आन्दोलनरत शिक्षकहरूलाई आ–आफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल विद्यार्थी भर्ना प्रक्रिया, एसईई उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालन भइरहेकाले विरोध कार्यक्रमहरू स्थगन गरी शिक्षण कार्यमा फर्कन आग्रह गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर रूपमा ध्यानाकर्षित भएको बताउनुभयो। उहाँले सङ्घीय संसद्मा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ यथासक्य चाँडो पारित गर्ने उद्देश्यले यही वैशाख १२ गतेदेखि संसद् अधिवेशन आह्वान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिनुभयो।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै समाधानका लागि निरन्तर संवादमा रहेको स्पष्ट पार्नुभयो।

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

0

काभ्रेपलाञ्चोक: सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका थिए ।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने

0

काठमाडौ: हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतः सफा रहने अनुमान गरिएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सफा रहने अपेक्षा गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भागहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

घट्यो पेट्रोल र डिजेलको मूल्य

0

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

इण्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

निगमका अनुसार मंगलबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेलको मूल्य २ रुपैयाँ ६२ पैसाले घटाउने निर्णय गरेको हो।

भारतबाट आयात हुने इन्धनको मूल्य घटेकाले नेपालमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी सबै कागजात माग्यो

0

काठमाडौँ: सर्वोच्च अदालतले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न रहेका रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीसँग मिसिलमा संलग्न सम्पूर्ण कागजात माग गरेको छ।

उक्त प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यस आदेशविरुद्ध लामिछानेको तर्फबाट गत शुक्रबार सर्वोच्च अदालतमा थुनुवा दफा ७३ बमोजिम निवेदन दायर गरिएको थियो।

सो निवेदनमाथि आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइपछि इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासलाई लामिछानेलाई थुनामा पठाउने निर्णयका कारणसहितको लिखित कैफियत प्रतिवेदन पेस गर्न आदेश दिएको हो।

साथै, आदेशमा जिल्ला अदालत रुपन्देहीलाई मुद्दाको मिसिलमा संलग्न सबै कागजात समावेश गरी डिजिटल ढंगमा १५ दिनभित्र पठाउन भनिएको छ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, जबसम्म उच्च अदालतबाट कैफियत प्रतिवेदन र जिल्ला अदालतबाट मिसिलमा संलग्न कागजात प्राप्त हुँदैनन्, तबसम्म सर्वोच्चको निर्णय आउँदैन। यी विवरण आएपछि सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा थुनाबाहिर बसेर पुर्पक्ष गर्न मिल्ने आदेश दिनेछ।

दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट

0

काठमाडौँ: ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करणमा ६० देशबाट २४० प्रतिभा छनोट
लिस्बन (पोर्चुगल)। नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करणका लागि ६० देशबाट २४० जना प्रतिभा छनोट भएका छन्।

‘इन्ट्रा-नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले नेपालसहित १२ भन्दा बढी देशमा अडिसन सञ्चालन गरी ‘मेरो भ्वाइस युनिभर्स’का लागि १२० र ‘मेरो डान्स युनिभर्स’का लागि १२० प्रतियोगी छानेको हो।

फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईका अनुसार, पहिलो चरणको स्थलगत अडिसनमा सात हजारभन्दा बढी नेपाली मूलका प्रतियोगी सहभागी भएका थिए। छनोट भएका प्रतियोगीहरूलाई फाउन्डेसनले आफ्नै खर्चमा काठमाडौं ल्याई अर्को चरणको प्रतिस्पर्धाका लागि तयारी गराइएको छ।

देश अनुसार सहभागी संख्याः
– अमेरिका १०,
– क्यानडा २,
– बेलायत १०,
– पोर्चुगल १०,
– थाइल्याण्ड १०,
– हङकङ १०,
– जापान १०,
– अफ्रिका २,
– दुबई १०,
– कतार १०,
– अष्ट्रेलिया १०,
– भूटान ४,
– भारत ६०,
– नेपाल ८२

नेपाली कला र संस्कृति जोड्ने अभियान

कार्यकारी निर्देशक भट्टराईका अनुसार, यो कार्यक्रम संसारभर छरिएर रहेका नेपालीभाषीहरूलाई मातृभूमिसँग जोड्ने सांस्कृतिक अभियान हो। “हामीले मलेसिया, थाइल्याण्ड, फिजी, बर्मा, भूटानजस्ता मुलुकका स्थानीय नेपालीभाषी समुदायबाट पनि उत्साहजनक सहभागिता पाएका छौं,” उनले भने, “यो अभियानले नयाँ पुस्तालाई आफ्ना पुर्खाको भाषा र संस्कृतिसँग जोड्न सहयोग पुर्‍याएको छ।”

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शोको उद्देश्यबारे प्रस्ट पार्दै भने, “नेपालबाहिर जन्मेका र हुर्केका नेपाली मूलका सन्तानमा नेपालीपन कायम राख्ने हाम्रो प्रयास हो। हाम्रो परम्परा, भाषा र संस्कृतिलाई विश्वभर नेपालीको साझा सम्पदा बनाउने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं।”

पुरस्कार राशीः ऐतिहासिक स्तरको आकर्षण
– ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का विजेतालाई एक-एक करोड रुपैयाँ
– उपविजेता: २५ लाख रुपैयाँ
– तृतीय स्थान: १० लाख रुपैयाँ
– समूह नृत्यतर्फ: विजेता समूहलाई २० लाख, उपविजेता १० लाख, तृतीय समूहलाई ५ लाख
– उत्कृष्ट १० मा पुग्नेलाई तीन-तीन लाख रुपैयाँको पुरस्कार

निर्णायक प्यानलः संगीत र नृत्य क्षेत्रका दिग्गजहरू
‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक छन्।
‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा छन्।

दर्शकसम्मको यात्रा सुरु
नेपाल टेलिभिजनमार्फत प्रसारण हुने यी कार्यक्रमको अर्को चरणको प्रतिस्पर्धा र प्रतिभा छनोट प्रक्रिया यसै साताबाट सुरु भइसकेको छ। सन् २०२३ मा सम्पन्न पहिलो संस्करणमा ५२ देशका नेपालीभाषीको सहभागिता रहेकोमा यसपटक त्यो संख्या बढेर ६० देश पुगेको छ।

पहिलो संस्करणमा ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि सिक्किमका प्रीतम राईले जितेका थिए भने ‘मेरो डान्स युनिभर्स’मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी थिइन्।

ट्रम्पले युक्रेन युद्धका लागि जेलेन्स्की, पुटिन र बाइडेन तीनैलाई जिम्मेवार ठहराए

0

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा ज्यान गुमाएका लाखौं मानिसको मृत्युको जिम्मेवारी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेन तीनै जनामाथि रहेको टिप्पणी गरेका छन्।

मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले युद्धको सुरुवात र त्यसका परिणामबारे गम्भीर चेतावनी दिए। एल साल्भाडोरका नेताहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा ट्रम्पले भने, “जब तपाईं युद्ध सुरु गर्नुहुन्छ, तपाईंले त्यसलाई कसरी जित्ने हो भन्ने स्पष्ट योजना हुनु आवश्यक छ।”

उनले राष्ट्रपति जो बाइडेनमाथि समेत आरोप लगाउँदै भने, “यदि म राष्ट्रपति भएको भए, यो युद्ध नै सुरु हुने थिएन।” ट्रम्पको भनाइ अनुसार, बाइडेन प्रशासनको कमजोरीका कारण नै यो द्वन्द्व चर्किएको हो।

ट्रम्पको यो टिप्पणी रुसले आइतबार युक्रेनको उत्तरपूर्वी शहर सुमीमा गरेको घातक आक्रमणपछि आएको हो, जहाँ थुप्रै नागरिक मारिएका थिए। उक्त आक्रमणपछि विश्वभर आक्रोश चर्किएको थियो।

ट्रम्पले आफ्नो अभिव्यक्तिमा युद्धको सुरुवात गर्नेहरूलाई नै अन्ततः यसको मूल्य चुकाउनु पर्ने कुरा दोहोर्‍याए। उनले दुवै पक्षका नेताहरूले संवेदनशीलताका साथ कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई दिइने २ अर्ब डलर आर्थिक सहयोग बन्द गरे

0

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइँदै आएको २ अर्ब अमेरिकी डलरभन्दा बढीको संघीय कोष रोकेको जनाएको छ। हार्वर्डले यहूदी विरोधी भावना (anti-Semitism) विरुद्ध क्याम्पसमा लड्न भन्दै व्हाइट हाउसले अघि सारेका विभिन्न मागहरू अस्वीकार गरेपछि उक्त निर्णय गरिएको हो।

अमेरिकी शिक्षा विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हार्वर्ड विश्वविद्यालयको अभिव्यक्तिले देशका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा फैलिँदो अधिनायकवादी सोच र व्यवस्थाको चिन्ताजनक झलक दिन्छ।”

व्हाइट हाउसले हार्वर्डसहित अन्य विश्वविद्यालयलाई यहूदी विद्यार्थीहरू विरुद्ध बढ्दो घृणा, विरोध प्रदर्शन र भेदभावजन्य गतिविधिहरूको सन्दर्भमा कार्य गर्न दबाब दिँदै केही प्रमुख मागहरू अघि सारेको थियो। ती मागहरूमा विश्वविद्यालय प्रशासन, भर्ना नीति, संकाय नियुक्ति प्रक्रिया र आन्तरिक अनुशासन प्रणालीमा व्यापक सुधारको प्रस्ताव समावेश थियो।

तर हार्वर्डले सोमबार ती मागहरूलाई स्पष्ट शब्दमा अस्वीकार गर्दै विज्ञप्ति जारी गर्‍यो, “हामी शैक्षिक स्वतन्त्रताको पक्षमा दृढ छौं। यो विश्वविद्यालयमा अभिव्यक्ति स्वतन्त्रता कायम राख्ने हाम्रो ऐतिहासिक प्रतिबद्धता हो। ह्वाइट हाउसले हाम्रो क्याम्पस समुदायलाई नियन्त्रण गर्न खोजेको देखिन्छ, जुन हामी स्वीकार गर्न सक्दैनौं।”

पृष्ठभूमि:
गाजा युद्धपछिको अन्तर्राष्ट्रिय प्रतिक्रिया र अमेरिकी क्याम्पसहरूमा भइरहेको इजरायलविरोधी तथा प्यालेस्टाइनी समर्थक प्रदर्शनबीच हार्वर्ड लगायत केही प्रतिष्ठित विश्वविद्यालयहरू विवादमा तानिएका छन्। ट्रम्प प्रशासन र केही सांसदहरूले यस्ता कलेजहरूमा यहूदी विद्यार्थीहरूमाथि असहिष्णु व्यवहार भएको भन्दै ती संस्थानहरूलाई सार्वजनिक अनुदान बन्द गर्नुपर्ने माग उठाएका थिए।

हालको अवस्था:
यस विवादले अमेरिकामा शिक्षामा स्वतन्त्रता र सरकारी हस्तक्षेपबारे बहस पुनः चर्काएको छ। हार्वर्डसँगै केही अन्य विश्वविद्यालयहरू पनि संघीय दबाबको विरोधमा उभिएका छन् भने केही संस्थाहरूले आन्तरिक अनुसन्धान प्रक्रिया सुरु गरिसकेका छन्।