काठमाडौँ: ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करणमा ६० देशबाट २४० प्रतिभा छनोट
लिस्बन (पोर्चुगल)। नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करणका लागि ६० देशबाट २४० जना प्रतिभा छनोट भएका छन्।
‘इन्ट्रा-नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले नेपालसहित १२ भन्दा बढी देशमा अडिसन सञ्चालन गरी ‘मेरो भ्वाइस युनिभर्स’का लागि १२० र ‘मेरो डान्स युनिभर्स’का लागि १२० प्रतियोगी छानेको हो।
फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईका अनुसार, पहिलो चरणको स्थलगत अडिसनमा सात हजारभन्दा बढी नेपाली मूलका प्रतियोगी सहभागी भएका थिए। छनोट भएका प्रतियोगीहरूलाई फाउन्डेसनले आफ्नै खर्चमा काठमाडौं ल्याई अर्को चरणको प्रतिस्पर्धाका लागि तयारी गराइएको छ।
देश अनुसार सहभागी संख्याः
– अमेरिका १०,
– क्यानडा २,
– बेलायत १०,
– पोर्चुगल १०,
– थाइल्याण्ड १०,
– हङकङ १०,
– जापान १०,
– अफ्रिका २,
– दुबई १०,
– कतार १०,
– अष्ट्रेलिया १०,
– भूटान ४,
– भारत ६०,
– नेपाल ८२
नेपाली कला र संस्कृति जोड्ने अभियान
कार्यकारी निर्देशक भट्टराईका अनुसार, यो कार्यक्रम संसारभर छरिएर रहेका नेपालीभाषीहरूलाई मातृभूमिसँग जोड्ने सांस्कृतिक अभियान हो। “हामीले मलेसिया, थाइल्याण्ड, फिजी, बर्मा, भूटानजस्ता मुलुकका स्थानीय नेपालीभाषी समुदायबाट पनि उत्साहजनक सहभागिता पाएका छौं,” उनले भने, “यो अभियानले नयाँ पुस्तालाई आफ्ना पुर्खाको भाषा र संस्कृतिसँग जोड्न सहयोग पुर्याएको छ।”
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शोको उद्देश्यबारे प्रस्ट पार्दै भने, “नेपालबाहिर जन्मेका र हुर्केका नेपाली मूलका सन्तानमा नेपालीपन कायम राख्ने हाम्रो प्रयास हो। हाम्रो परम्परा, भाषा र संस्कृतिलाई विश्वभर नेपालीको साझा सम्पदा बनाउने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं।”
पुरस्कार राशीः ऐतिहासिक स्तरको आकर्षण
– ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का विजेतालाई एक-एक करोड रुपैयाँ
– उपविजेता: २५ लाख रुपैयाँ
– तृतीय स्थान: १० लाख रुपैयाँ
– समूह नृत्यतर्फ: विजेता समूहलाई २० लाख, उपविजेता १० लाख, तृतीय समूहलाई ५ लाख
– उत्कृष्ट १० मा पुग्नेलाई तीन-तीन लाख रुपैयाँको पुरस्कार
निर्णायक प्यानलः संगीत र नृत्य क्षेत्रका दिग्गजहरू
‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक छन्।
‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा छन्।
दर्शकसम्मको यात्रा सुरु
नेपाल टेलिभिजनमार्फत प्रसारण हुने यी कार्यक्रमको अर्को चरणको प्रतिस्पर्धा र प्रतिभा छनोट प्रक्रिया यसै साताबाट सुरु भइसकेको छ। सन् २०२३ मा सम्पन्न पहिलो संस्करणमा ५२ देशका नेपालीभाषीको सहभागिता रहेकोमा यसपटक त्यो संख्या बढेर ६० देश पुगेको छ।
पहिलो संस्करणमा ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि सिक्किमका प्रीतम राईले जितेका थिए भने ‘मेरो डान्स युनिभर्स’मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी थिइन्।


