Friday, July 3, 2026
Home Blog Page 466

गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

0

काठमाडौं: नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।

योग्यता नपुगेको व्यक्तिलाई गभर्नरमा नियुक्त गरिएको दाबी गर्दै पौडेलको नियुक्ति बदर गर्न मागसहित रिट पेस गरिएको हो।

रिट निवेदनमा सरकार र गभर्नर छनोट समिति दुवैलाई विपक्षी बनाइएको छ। अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको उल्लंघन गर्दै राजनीतिक स्वार्थका आधारमा गैरकानुनी रूपमा नियुक्ति गरिएको आरोप लगाउँदै रिट दर्ता गराएका हुन्।

रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी जोशीको रिटमा आज पनि सुनुवाइ, आदेश आउने सम्भावना

0
file photo

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट र पूर्वडीआईजी छविलाल जोशीको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी रहने भएको छ।

बिहीबारको सुनुवाइमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए भने त्यसपछि जोशीका तर्फबाट उनका कानुन व्यवसायीले बहस गरेका थिए। तत्पश्चात सरकारका तर्फबाट सरकारी वकिलहरू — गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका थिए। सरकारी वकिलहरूको बहस सकिएकोले आज पीडितका तर्फबाट कानुन व्यवसायीहरू बहस गर्ने छन्।

अधिवक्ता प्रमोद न्यौपानेका अनुसार आजै अन्तिम आदेश आउने सम्भावना रहेको छ। उनले भने, “न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाइ भईरहेको छ। आज प्रतिवादीका वकिलको बहस सकिएपछि जाहेरवालातर्फबाट बहस हुनेछ र जवाफी बहस पनि आजै सकिने सम्भावना छ।”

रवि लामिछाने र छविलाल जोशीको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ।

थाइल्याण्डमा सेरेस ३ लन्च, ग्लोबल बजार विस्तारमा सेरेसको रणनीतिक अघि बढाइ

0

बैंकक, थाईल्याण्ड: चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ इभी एसयूभी ‘सेरेस ३’ को औपचारिक थाई लन्चमार्फत दक्षिणपूर्वी एसियालगायत विश्व बजारमा उपस्थिति विस्तार गर्ने रणनीतिक संकेत दिएको छ।

थाई बजारमा एडिसन ईभी कम्पनी लिमिटेडमार्फत भित्रिएको ‘सेरेस ३’ चीनबाट पूर्णरूपमा आयात गरिएको हो। कम्पनीका अनुसार यो एसयूभी दुई भेरियन्टमा उपलब्ध छ—

सेरेस ३ कम्फर्ट : मूल्य ६,७०,००० थाई भाट

सेरेस ३ कम्फर्ट सनरुफ : मूल्य ६,९९,९०० थाई भाट

एडिसन ईभीकी डिलर नेटवर्क विकास म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले सन् २०२५ भित्र थाइल्याण्डभर ३० वटा डिलर शोरूम स्थापना गर्ने र पहिलो वर्षमै १,००० युनिट बिक्री गर्ने लक्ष्य लिएको छ। यसका लागि स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै थाई बजारमा विद्युतीय सवारीको पहुँच विस्तार गरिनेछ।

‘सेरेस ३’ सेतो, रातो, निलो, कालो र खरानी गरी पाँच रंगमा उपलब्ध छ भने भित्री सजावटका लागि कालो र खैरो रंगका विकल्प छन्।

डीएफएसके र सेरेस ब्रान्डद्वारा दक्षिणपूर्वी एसियामा गरिएको यो बजार विस्तार प्रयास स्मार्ट, दिगो र शहरी अनुकूल विद्युतीय सवारी समाधानको माध्यमबाट सेरेसको विश्वव्यापी रणनीति अघि बढाउने महत्वपूर्ण पाटोका रूपमा हेरिएको छ।

थाई बजारमा ‘सेरेस ३’ को सुरुवातलाई विद्युतीय सवारी उद्योगमा सेरेसको सशक्त अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने दिशामा एक कोसेढुंगाका रूपमा लिइएको छ।

लुम्बिनीका अस्पताल विकास समिति राजनीतिक भागबण्डाको मारमा- एमाले र कांग्रेस हाबी- अन्य दलको विरोध

0

बुटवल, ९ जेठ – लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १४ अस्पताल विकास समितिको अध्यक्ष पद सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आपसमा बाँडेका छन्। कांग्रेस र एमालेले ७–७ अस्पतालको नेतृत्व ग्रहण गरेपछि सत्तारुढ अन्य दलहरूबाट विरोध आवाज उठेको छ।

पूर्वसामाजिक विकासमन्त्री तथा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील स्थानमा दलगत भागबन्डा गरिएको भन्दै आपत्ति जनाए। उनले प्रदेशसभा बैठकमै यसको विरोध गर्ने चेतावनी दिए।

सत्तारुढ दलमै रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले आफूहरूसँग कुनै सल्लाह नगरी मनोमानी ढंगले निर्णय भएको आरोप लगाएका छन्। जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सरकारको निर्णय प्रक्रिया अलोकतान्त्रिक भएको भन्दै आलोचना गरे।

नागरिक उन्मुक्ति पार्टीकी सचेतक नरमाया ढकालले अस्पताल विकास समितिको अध्यक्ष चयन सल्लाहविना गरिएको भन्दै आपत्ति जनाउँदै प्रदेश सभामा विरोध गर्ने बताइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष चौधरीले कांग्रेस र एमालेले आफ्ना कार्यकर्ता नियुक्त गरेर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पार्टी स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए।

प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री दिनेश पन्थीले विकास समितिका सदस्यहरूको नाम छिट्टै टुंगो लगाइने जानकारी दिए। उनीहरूलाई आइतबारसम्ममा नियुक्तिपत्र दिने र सबैलाई एकैपटक शपथ गराउने तयारी भइरहेको बताइएको छ।

कसलाई कहाँ जिम्मेवारी?

राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर, दाङ) – महेन्द्र लामिछाने (नेपाली कांग्रेस)

लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल) – अजयमान श्रेष्ठ (एमाले)

प्युठान अस्पताल – कृष्णप्रसाद बसेल (कांग्रेस)

रोल्पा अस्पताल – शेरबहादुर थापा (कांग्रेस)

रामपुर अस्पताल (पाल्पा) – युवराज खनाल (एमाले)

पाल्पा अस्पताल – अजयमान कर्माचार्य (कांग्रेस)

भालुवाङ अस्पताल (दाङ) – सूर्यप्रकाश शर्मा (एमाले)

रुकुम पूर्व अस्पताल – लोकेन्द्र शाह (कांग्रेस)

पृथ्वीचन्द्र अस्पताल (नवलपरासी) – जगदीश चौधरी (एमाले)

गुल्मी अस्पताल – राजेन्द्रप्रसाद पाण्डे (एमाले)

अर्घाखाँची अस्पताल – बलाराम मिश्र (एमाले)

कपिलवस्तु अस्पताल – रन्जिकुमार बर्मा (एमाले)

भीम अस्पताल (भैरहवा) – कुलप्रसाद न्यौपाने (कांग्रेस)

नागरिक लगानी कोष र अभिलेख विभागबीच धितो रोक्का/फुकुवा अनलाइन गर्ने सम्झौता अब काठमाडौँ उपत्यकामा कोषका कर्जा सेवा अझ छिटो र प्रभावकारी हुने

0

काठमाडौँ: नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो रोक्का तथा फुकुवा प्रक्रिया अनलाइन प्रणालीमार्फत सम्पन्न गर्ने विषयमा सम्झौता भएको छ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागका तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतापछि काठमाडौँ उपत्यकाभित्र नागरिक लगानी कोषबाट प्रदान गरिने आवास तथा सरल कर्जाको धितो रोक्का र फुकुवा प्रक्रिया अब अनलाइन माध्यमबाट सञ्चालन हुने भएको छ।

यस व्यवस्थाले कर्जासम्बन्धी कार्यहरू छिटोछरितो रूपमा सम्पन्न हुने र सेवाग्राहीले सहज तथा प्रभावकारी सेवा प्राप्त गर्ने कोषको विश्वास छ।

लन्डनमा डा. वाग्लेको कडा अभिव्यक्ति : “जुन जोगी आए पनि कानै चिरेको” रास्वपाको बेलायत अधिवेशनमा नेपाली राजनीतिप्रति असन्तोष पोख्दै नयाँ विकल्पको संकेत

0

लन्डन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले बेलायतमा आयोजित पार्टीको पहिलो अधिवेशनमा नेपाली राजनीतिप्रति गहिरो असन्तोष व्यक्त गर्दै तीव्र अभिव्यक्ति दिएका छन्।

रास्वपाको प्रवास सम्पर्क विभाग, बेलायत शाखाको पहिलो अधिवेशनमा सहभागी हुन लन्डन पुगेका वाग्लेले “जुन जोगी आए पनि कानै चिरेको” भन्ने उखान引用 गर्दै, अनुहार नयाँ देखिए पनि नेपालको राजनीतिमा पुरानै चरित्र दोहोरिइरहेको टिप्पणी गरे। वाग्लेको उक्त भनाइपछि बैठकमै छलफल तातिएको र केही बेर भनाभनसमेत भएको स्रोतले जानकारी दिएको छ।

वाग्लेले रास्वपाको ध्यान आगामी २०८४ को आम निर्वाचनमा केन्द्रित रहेको स्पष्ट पार्दै पार्टी संगठन विस्तार अभियान तीव्र गतिमा अगाडि बढिरहेको बताए। “हामी अबको निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसाथ अघि बढिरहेका छौं,” उनले भने, “यदि बहुमत नआए पनि सबैभन्दा ठूलो दल बन्नेमा हामी ढुक्क छौं।”

पार्टी गठनको छोटो समयमै जनमतको बलमा रास्वपा चौथो ठूलो शक्ति बनेको उल्लेख गर्दै उनले परम्परागत ठूला दलहरू रास्वपासँग डराएको दावी गरे। “पार्टी सभापति रवि लामिछानेलाई फसाउने र रास्वपालाई कमजोर पार्ने षड्यन्त्र रचियो, तर त्यो उनीहरूकै महाभ्रम सावित भयो,” वाग्लेले भने।

उनले जनताको अपेक्षा अनुरूप सुधार र परिवर्तनको नेतृत्व रास्वपाले नै गर्न सक्ने विश्वास व्यक्त गर्दै भने, “रास्वपाप्रति आम जनताको विश्वास र सहानुभूति दिनानुदिन बढ्दो छ। हामी अझ सशक्त रूपमा मुलुकको राजनीतिक परिवर्तनको नेतृत्व गर्नेछौं।”

कार्यक्रममा लन्डनस्थित नेपाली समुदायका प्रतिनिधिहरू, रास्वपाका प्रवासी संरचना तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्तरक्रियात्मक सत्रमा वाग्लेले ‘नयाँ राजनीतिक विकल्प निर्माण’ को सन्देश दिँदै परिवर्तनको नयाँ लहर ल्याउने संकेत गरे। कतिपय सहभागीले यसलाई ‘नयाँ पार्टी खोल्ने सम्भावित संकेत’ का रूपमा पनि व्याख्या गरेका छन्।

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर युट्युब ट्रेन्डिङमा, दर्शकको साथमा सिनेमा प्रदर्शनरत

0

काठमाडौं: नेपाली चलचित्र के घर के डेरा : घर नं २ को ट्रेलर युट्युबको मुभी सेक्सनमा पाँचौं स्थानमा ट्रेन्डिङमा आएको छ। सँगै, चलचित्रले पनि रिलिजपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले “वर्ड अफ माउथ” मार्फत सकारात्मक चर्चा बटुल्दै अफ टाइम शोहरूमा पनि उल्लेखनीय दर्शक उपस्थिति कायम राखेको वितरक करण श्रेष्ठले जानकारी दिए। “दिनप्रतिदिन अकुपेन्सी बढिरहेको छ,” श्रेष्ठले बताए, “हाम्रो जनरा र विषयवस्तु अनुसार दर्शकको राम्रो साथ पाएका छौं।”

चलचित्रको कथा प्रसिद्ध साहित्यकार बुद्धिसागरले लेखेका हुन् भने निर्देशन दीपेन्द्र के. खनालले गरेका छन्। प्रमुख भूमिकामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्टलगायत कलाकारहरू छन्।

के घर के डेरा : घर नं २ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुति हो। सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्। निर्माण टोलिले दर्शकले चलचित्रको कथा र कलाकारहरूको अभिनयलाई रुचाएको दाबी गरेको छ।

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

0

हेटौंडा: तपाईंलाई अचम्म लाग्न सक्छ, तर संघीय राजधानी काठमाडौँबाट केवल एक घण्टाको दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्न मात्र होइन, त्यति नै पुराना ढुङ्गेधाराको शुद्ध पानी पिउन पनि पाइन्छ। मकवानपुर जिल्लाको थाहा नगरपालिकाभित्र पर्ने यो गाउँ झट्ट हेर्दा स्वीटजरल्याण्ड वा इटलीका सुरम्य बस्तीजस्तै देखिन्छ। हरियालीबीच घेरिएको, बुट्टेदार झ्याल र रातो टायलले छाएका घरहरूले सजिएको कुञ्छाललाई टाढैबाट चिन्न सकिन्छ।

ऐतिहासिक, प्राचीन र सांस्कृतिक महत्व बोकेको यो बस्तीमा हाल सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ र गाउँलेहरू पर्यटकको पर्खाइमा छन्। थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपाली समुदायको बसोबास रहेको कुञ्छाल गाउँलाई नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एकका रूपमा घोषणा गरिएको छ। यो घोषणा ३८औँ विश्व पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले गरेको हो।

यद्यपि कुञ्छालको इतिहासलाई प्रामाणिक शिलालेख र ताम्रपत्रका आधारमा तीन सय वर्ष पुरानो मानिएको छ, स्थानीयहरू भने यसलाई हजार वर्ष पुरानो गोपालवंशी सभ्यताको प्रतिनिधि गाउँका रूपमा गर्वपूर्वक चिनाउँछन्। यो गाउँ अहिलेसम्म कुनै प्राकृतिक प्रकोपबाट अछुतो रहनु पनि यहाँको विशेषता हो।

राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथमार्ग भएर करिब ६० किलोमिटर वा नयाँ खुलाइएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै ३० किलोमिटर पार गरे पुगिने यो गाउँ फर्पिङ–मार्खु हुँदै ५५ किलोमिटरको दूरीमा पर्छ।

कुञ्छाल गोपालवंशीहरूको शुद्ध बस्ती हो, जहाँ अन्य नेवार समुदायको मिश्रण देखिँदैन। यहाँको मौलिक संस्कृति र परम्पराले अझै पुरातन नेपालमण्डलको झल्को दिन्छ। एक रोचक चलनअनुसार, यो बस्तीमा कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने परम्परा आजसम्म पनि जिवित छ।

हाल गाउँका १७३ घरपरिवारले सामूहिक रूपमा होमस्टे सञ्चालन गरिरहेका छन्। ७३ वर्षीय अगुवा विष्णु गोपालीका अनुसार पुर्खाले निर्माण गरेका संरचनाहरूलाई यथावत् राख्नमा गाउँलेहरू कटिबद्ध छन्। उहाँ भन्छन्, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँको भन्दा धेरै फरक छ, शब्द र लवज दुवैमा भिन्नता छ।” नेपाल भाषाको इतिहास अध्ययन गर्न धेरैजना कुञ्छाल पुग्ने गरेका छन्।

७० वर्षीया माइजुमाया गोपालीका अनुसार यहाँ महिलाहरूले पनि सधैं पुरुषसरह काम गर्दै आएका छन्। रूपचन्द्र विष्टको ‘थाहा आन्दोलन’ का बेला डबलीमा हुने शिक्षाले महिलाहरूलाई सचेत बनाएको उहाँ बताउनुहुन्छ। तत्कालीन सशस्त्र द्वन्द्वमा छोरी गुमाएकी माइजुमायालाई परिवारको बलिदानप्रति गर्व छ। उहाँ भन्छिन्, “हामीकहाँ पुरुष भान्सामा र महिला खेतबारीमा समान रूपमा काम गर्छन्।”

थाहा नगर प्रमुख विष्णु विष्टका अनुसार कुञ्छालमा हरेक १२ वर्षमा ‘देवीनाच’ लाग्ने चलन छ, जुन हनुमानढोका दरबारसँग सम्बन्धित छ। उहाँले कुञ्छाललाई ‘जीवित सङ्ग्रहालय’ का रूपमा संरक्षण गर्दै स्थानीयको परम्परागत पेसालाई समृद्धिको आधार बनाउने योजनामा नगरपालिकाले जोड दिएको जानकारी दिनुभयो।

गोपाली समुदायको मेहनत र स्वावलम्बी भावना प्रशंसनीय छ। कृषि र पशुपालन उनीहरूको मुख्य पेशा हो। यहाँ मिल भए पनि धेरैले अझै घरमै ओखलमा कुटेको चामल रुचाउँछन्। होमस्टेमा आउने पाहुनालाई आफ्नै बारीमा उत्पादन भएको अन्न, सागसब्जी र उबालेको चामल खुवाइन्छ।

पदयात्रा मार्गको विशेषता
थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्ग राजधानीबाट करिब एक घण्टाको यात्रा दूरीमा पर्छ। हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै तीन घण्टामा पुग्न सकिन्छ। सरस्वती बजारबाट यात्रा सुरु गरी वाराहीचौर, नासपाती बगैँचा, कुञ्छाल गाउँ, गणेश मन्दिर, टिस्टुङ वनस्पति उद्यान, कार्कीछाप गाउँ, गौखुरेश्वर महादेव, ढल्टगाउँ, अध्याय रिसोर्ट, उन्मत्तेश्वर महादेव हुँदै कोत दरबारसम्मको पदयात्रा रमाइलो अनुभव दिन्छ।

अन्त्यमा, थाहानगरको शक्तिपीठ वाराही मन्दिर र चौर पार गर्दै जंगल सफारी र ‘वाराही डाँडा’ पुग्न सकिन्छ। यहाँबाट फर्किँदा नन्दिकेश्वर महादेवको दर्शन गरी पदयात्रा सम्पन्न हुन्छ। यस रमणीय मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ। यात्रीहरूले स्थानीय आतिथ्य र प्राकृतिक सौन्दर्यसँगै साँच्चिकै अविस्मरणीय अनुभव बटुल्न सक्छन्।

काठमाडौँनजिकै रहेको, अझै पुरानो नेपाल बाँचिरहेजस्तो लाग्ने कुञ्छाल आजको दिनमा पनि एक ऐतिहासिक र सांस्कृतिक गहना हो — जसले न केवल अतीतको गाथा सुनाउँछ, तर भविष्यतर्फ पनि आशाको बत्ती बालिरहेको छ।

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

0

काठमाडौं: उत्तर कोरियाले नयाँ नौसैनिक विध्वंसक युद्धपोत प्रक्षेपण गर्ने क्रममा ठूलो दुर्घटना भएको पुष्टि गरेको छ। सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (KCNA) का अनुसार, बुधबार चोङजिन बन्दरगाहमा आयोजित प्रक्षेपण समारोहमा ‘गम्भीर दुर्घटना’ भएको हो।

नेता किम जोङ उनले यो घटनालाई ‘आपराधिक लापरबाही’ को नतिजा भन्दै जिम्मेवार अधिकारीहरूलाई कारबाहीको चेतावनी दिएका छन्। उनले भने, “यो घटनाले युद्धपोतको सन्तुलन बिगार्‍यो र तल्लो भागमा क्षति पुर्‍यायो।”

KCNA का अनुसार, दुर्घटना अनुभवहीन कमाण्ड र परिचालन त्रुटिको कारण भएको हो। किमले घटनामा संलग्न अधिकारीहरूको गल्तीलाई आगामी पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा उठाउने बताएका छन्।

यसैबीच, दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले बिहीबार धेरैवटा अज्ञात क्रुज मिसाइल पूर्वी सागर (जापान सागर) तर्फ प्रक्षेपण गरेको पुष्टि गरेको छ।

रुसी सहयोगको शंका
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार, दुर्घटना भएको युद्धपोत रुसको सहयोगमा निर्माण गरिएको हुनसक्ने अनुमान गरिएको छ। विश्लेषक परिणत चान–इलले भने, “चो ह्योन नामक विध्वंसक जहाजको निर्माण डकमा हतारमा गरिएको देखिन्छ, जसले प्राविधिक समस्या उत्पन्न गर्‍यो।”

चोङजिन शहर रुसको भ्लाडिभोस्टोक नजिकै पर्ने भएकाले पनि रुसी समन्वयको सम्भावना रहेको बताइएको छ।

नौसेना आधुनिकीकरण र आणविक क्षमता
उत्तर कोरियाले सो विध्वंसक जहाजलाई ‘सबैभन्दा शक्तिशाली हतियार’ले सुसज्जित बताएको थियो। विश्लेषकहरूका अनुसार, जहाजमा छोटो दूरीका आणविक क्षेप्यास्त्रहरू जडान गरिएको हुनसक्छ। तर उत्तर कोरियाको आणविक हतियार सानो बनाउने क्षमता अझै प्रमाणित भइसकेको छैन।

पछिल्लो समय उत्तर कोरियाले रुसी सहयोगमा युक्रेन युद्धमा सहभागिता जनाउने तथा नयाँ सडक पुल निर्माण सुरु गरेको जानकारी पनि सार्वजनिक भएको छ।

क्षेत्रीय तनावमा वृद्धि
उत्तर कोरियाको यो दुर्घटना र मिसाइल प्रक्षेपण क्षेत्रीय तनाव बढाउने संकेतका रूपमा हेरिएको छ। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास बढाएका छन्, र उत्तरले यस्ता अभ्यासलाई आक्रमणको तयारी भनी निन्दा गर्दै आएको छ।

उत्तर कोरियाले आफैंलाई ‘अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र’ घोषित गरिसकेको छ।

प्रसिद्ध कविको चर्चित कविता पढ्दा देशद्रोहको मुद्दा

0

काठमाडौं: उर्दूका प्रसिद्ध कवि फैज अहमद फैजको कविता ‘हम देखेंगे’ वाचन गरिएकोमा भारतको महाराष्ट्र राज्यमा देशद्रोहको मुद्दा दर्ता गरिएको छ।

मे १३ मा नागपुरमा प्रख्यात अम्बेडकरवादी समाजसेवी वीर सथिदारको सम्झनामा आयोजित कार्यक्रममा फैजको चर्चित कविता वाचन गरिएको थियो। उक्त कार्यक्रममा दिइएको अभिव्यक्तिलाई लिएर मे १६ मा जन संघर्ष समिति नामक स्थानीय संस्थाका अध्यक्ष दत्तात्रेय शिर्केले उजुरी दर्ता गरेपछि मुद्दा दर्ता गरिएको हो।

कार्यक्रम वीर सथिदारकी श्रीमती पुष्पा सथिदारको संयोजनमा आयोजना गरिएको थियो। नागपुरको सीताबुल्डी प्रहरी चौकीमा उजुरी दर्ता भएपछि आयोजक र सहभागीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ, जसमा देशद्रोहसम्बन्धी धारा पनि समावेश छ।

शिर्केले उजुरीमा कार्यक्रमको क्रममा “भडकाउने र आपत्तिजनक” अभिव्यक्ति दिइएको आरोप लगाएका छन्। उनले फैजको कविता वाचनपछि एक कलाकारले दिएको अभिव्यक्तिलाई विवादास्पद भनेका छन्। उजुरीमा “सब ताज उछाले जाएंगे, सब तख़्त गिराए जाएंगे…” जस्ता कविताका पंक्तिहरू उल्लेख गर्दै ती शब्दहरूले संवेदनशील वातावरण सिर्जना गरेको दाबी गरिएको छ।

शिर्केले बीबीसी मराठीलाई भनेअनुसार, उनले कार्यक्रमको भिडियो एबीपी माझा च्यानल र युट्युबमा हेरेर उजुरी दर्ता गरेका हुन्। उनले कार्यक्रममा प्रयोग गरिएको भाषा अधिनायकवादी प्रवृत्तिविरुद्ध भएको र सरकारलाई अस्थिर बनाउने आशय भएको जिकिर गरेका छन्।

नागपुर प्रहरीले उजुरीको आधारमा कार्यक्रम आयोजक पुष्पा सथिदार, एक अज्ञात पुरुष, एक अज्ञात महिला लगायत अन्य विरुद्ध भारतीय न्याय संहिता (BNS) का धारा १५२ (देशद्रोह), १९६ (समुदायबीच विद्वेष फैलाउने), ३५३ (अफवाह तथा सार्वजनिक शान्ति भंग गर्ने प्रयास) तथा ३(५) अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ।

प्रहरी निरीक्षक राखी गेडामका अनुसार, उजुरीमा आयोजकहरूले “जानाजानी जनतालाई भ्रमित गर्ने र देशको सार्वभौमिकतामा आँच पुर्याउने” कार्य गरेको आरोप छ। हाल मुद्दाको अनुसन्धान जारी छ।