Friday, July 3, 2026
Home Blog Page 460

वीरगञ्ज प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई, टाइटन ११ ६ विकेटले पराजित

0

वीरगञ्ज (पर्सा): वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिताको उपाधि वीरगञ्ज बासर्सले जितेको छ।

बुधबार राति आर्दशनगर रंगशालामा भएको फाइनल खेलमा बासर्सले टाइटन ११ लाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। पहिलो ब्याटिङ गरेको टाइटन ११ ले १५ ओभरमा ४ विकेटको क्षतिमा ७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बासर्सले ७.३ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै ७८ रन बनाएर जित सुनिश्चित गर्‍यो।

प्रतियोगिताको विजेता टोलीलाई नगद रू. २ लाख ५१ हजार र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता टाइटन ११ ले पनि नगद रू. २ लाख र प्रमाणपत्र प्राप्त गरेको छ।

पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विजयी तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गरे।

व्यक्तिगत प्रदर्शनतर्फ, ‘प्लेयर अफ द सिरिज’को उपाधि वीरगञ्ज बासर्सका सर्वनाथले प्राप्त गरे भने उत्कृष्ट ब्याट्सम्यानको उपाधि टाइटन ११ का गौतम अग्रवालले जिते।

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना: “जनताको स्वाभिमान स्थापित भएको दिन”

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले १८औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन।”

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको गरिमामय अवसरमा सम्पूर्ण नेपालीहरूलाई ‘जय–जय–जय नेपाल’ भन्दै हार्दिक शुभकामना दिएका छन्।

गणतन्त्र स्थापना भएको सम्झनामा आज देशभर विविध कार्यक्रमहरू आयोजना गरी १८औँ गणतन्त्र दिवस मनाइँदैछ।

अमेरिकाले विद्यार्थी भिसा अन्तर्वार्ता रोक्यो, सामाजिक सञ्जाल परीक्षण कडा

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिअन्तर्गत विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई विद्यार्थी भिसा (F, M, र J वर्ग) अन्तर्गतका नयाँ अन्तर्वार्ता तालिका बन्द गर्न निर्देशन दिएको छ।

मंगलबार जारी गरिएको कूटनीतिक केबलअनुसार, यहूदी-विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्न लक्षित गर्दै यस्तो निर्णय गरिएको हो। नयाँ निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ भने पहिल्यै तय भइसकेका अन्तर्वार्ताहरू भने यथावत् सञ्चालन हुनेछन्।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गरिन्। तर, उनले अमेरिका प्रवेशसम्बन्धी जाँचलाई गम्भीरतापूर्वक लिइने स्पष्ट पारिन्। विदेशमन्त्री मार्को रुबियोले गत हप्ता विद्यार्थी भिसा ‘विशेषाधिकार’ भएको उल्लेख गर्दै क्याम्पसमा अव्यवस्था निम्त्याउने विद्यार्थीको भिसा खारेज गरिने चेतावनी दिएका थिए।

यो कदम हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थी भर्ना रोक्ने गृह सुरक्षा विभागको प्रयासपछि आएको हो, जुन कदमलाई अदालतले शुक्रबार रोक लगाएको थियो।

त्यसैबीच, ट्रम्प प्रशासनले हार्वर्डसँगको १० करोड अमेरिकी डलरको सम्झौता रद्द गरी उक्त अनुदान ट्रेड स्कूलहरूमा स्थानान्तरण गर्ने योजना अघि सारेको छ।

यस नीतिले अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि जाने हजारौं नेपाली विद्यार्थीहरूलाई पनि असर पर्ने देखिएको छ। अमेरिका हाल विश्वभरिबाट १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वीकृति दिने देश हो।

यसअघि नै लागू गरिएको सामाजिक सञ्जाल परीक्षण प्रणालीलाई यो निर्देशनले थप विस्तार गर्नेछ। यद्यपि यो विश्वव्यापी रूपमा लागू गरिए पनि कुनै देश विशेषका आवेदकमाथि अतिरिक्त छानबिन हुने हो वा होइन भन्ने अझै स्पष्ट गरिएको छैन।

जन्मकैदको सजाय पाएका अफताब आलमलाई उच्च अदालतले दियो सफाइ

0

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएपछि रिहा भएका छन्।

बम विस्फोट गराई व्यक्तिहरूको हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई उच्च अदालतको संयुक्त इजलासले दोषमुक्त ठहर गरेको हो। अदालतको आदेश नख्खु कारागारमा पुगेसँगै उनी रिहा भएका हुन्।

बुधवार न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन, चैत २७ गते साँझ करिब ६ बजे, बम बनाउने क्रममा रौतहटको एक घरमा विस्फोट भएको थियो। उक्त घटनामा घाइते भएका पाँचजनालाई इँटाभट्टामा हालेर हत्या गरिएको आरोप आलममाथि लगाइएको थियो।

संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षको शैली दुखद : महेश बर्तौला

0

काठमाडौं: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री बोल्न लाग्दा प्रमुख प्रतिपक्षले देखाएको कार्यशैलीलाई दुखद बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारेमा जवाफ दिने तयारीमा रहँदा प्रतिपक्षको अवरोध अस्वीकार्य भएको बताए।

उनले भने, “गृहमन्त्रीसँगको प्रश्नोत्तर हिजो प्रतिपक्षकै कारण रोकिएको हो। प्रमुख प्रतिपक्षले हिजोको बैठक रोकौं, भोलि सहज रूपमा अघि बढाऔं भन्ने प्रस्ताव राखेका कारण बैठक रोकिएको थियो। तर आज गृहमन्त्रीले जवाफ दिन लाग्दा उहाँको अभिव्यक्तिमा अवरोध गर्नु प्रमुख प्रतिपक्षको दुर्भाग्यपूर्ण कार्यशैली हो। यसरी संसद चलाउनु स्वीकार्य हुन सक्दैन।”

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले हालको गृह प्रशासनको कार्यशैलीप्रति आलोचना गर्दै सात वर्षमा सात लाख मानिस भिजिट भिसामा विदेश गएको र २० हजार मात्रै फर्किएको तथ्यांक गम्भीर भएको बताए।

उनले भने, “हामीले परिकल्पना गरेको व्यवस्था यो होइन। भुटानी शरणार्थी प्रकरण आयो, हामीले अपेक्षा गरेका थियौं कि गृहमन्त्री आउनुहुन्छ र छानबिन अघि बढ्छ। तर उहाँ त फाइल नै बन्द गर्न आउनुभयो। सात वर्षमा सात लाख मानिस भिजिट भिसामा विदेश गएका छन्, तर फर्किएका जम्मा २० हजार छन्। यो त गम्भीर समस्या हो, यस्ता तथ्यांकलाई नजरअन्दाज गर्न मिल्दैन।”

झाले संविधानअनुसार प्रस्तुत हुने भोलिको बजेटलाई अवरोध नगर्ने स्पष्ट पारे।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यकक्षमा तोडफोड

0

काठमाडौँ:त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरिएको छ। विभिन्न क्याम्पसहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष तथा अन्य पदाधिकारीहरूमा निर्वाचित भएका नेविसंघसम्बद्ध विद्यार्थीहरूले उक्त तोडफोड गरेका हुन्।

विद्यार्थीहरूले शैक्षिक क्यालेन्डर विपरीत परीक्षाको समयमा विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड गरेका हुन्। यसअघि पनि उनीहरूले विद्यार्थी भर्ना खोल्न माग गर्दै रेक्टर कार्यालय र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेका थिए। तोडफोडपछि उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरिएको छ।

सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसबाट नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्ष तथा सदस्यहरूले संयुक्त रूपमा आन्दोलन गरेका हुन्। उनीहरूले परीक्षा चलिरहेका बेला पनि नयाँ विद्यार्थी भर्ना गर्नुपर्ने माग गर्दै दबाब दिएका छन्।

यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न माग गरेका थिए। उनीहरूको भनाइमा, स्ववियु निर्वाचनका कारण विद्यार्थी भर्ना रोकिएको थियो र अब निर्वाचन सम्पन्न भइसकेकोले भर्ना प्रक्रिया तुरुन्त खोलिनुपर्छ। त्रिविले २०८१ माघ ११ गतेदेखि स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया रोकेको थियो।

विद्यार्थीहरूले तुरुन्त स्नातक तह प्रथम वर्षको भर्ना खोल्न माग गर्दै उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन्। सार्वजनिक युवा क्याम्पसका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, कैलाशकुट क्याम्पसका मुरारी गौतम, पद्मकन्या क्याम्पसकी भूपी ऐर, पाटन क्याम्पसका रोहित कपाली लगायत १९ जना नेताहरूले संयुक्त रूपमा यो माग प्रस्तुत गरेका हुन्।

गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी

0

काठमाडौं:गभर्नर विश्वनाथ पौडेलविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको गभर्नर नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा नेपालको संविधान तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनिवार्य योग्यता नपुगेका व्यक्तिलाई गभर्नरमा नियुक्त गरिएको दाबी गरिएको छ। पौडेलको सिफारिस, नियुक्ति र शपथसमेतको प्रक्रिया गैरकानुनी भएको उल्लेख गर्दै गम्भीर राष्ट्रिय महत्त्वका निर्णयहरूबाट राष्ट्रलाई असर पर्न सक्ने भन्दै उनीलाई कार्य सम्पादनबाट रोक्न परमादेशको माग गरिएको छ।

यसअघि पनि अधिवक्ताहरूले पौडेलको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। तर प्रशासनले त्यो रिट दरपिठ गरेको थियो र इजलासले पनि दरपिठ कायम राखेको थियो।

सरकारले अर्थ मन्त्रालयअन्तर्गतका निकायका पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ संशोधन गरेपछि उक्त संशोधन खारेज गर्न माग गर्दै उनीहरूले अर्को रिट पनि दायर गरेका थिए।

त्यस रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले वैशाख २ गते गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद हटाउन नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। यही रिटसँग सम्बन्धित आजको सुनुवाइमा गभर्नर नियुक्तिविरुद्धका दाबीमाथि छलफल हुनेछ।

संवैधानिक राजसंस्था पुनःस्थापनाको अभियानमा ‘स्वयंसेवक प्रशिक्षण तथा युवा भेला ’ कार्यक्रम हुने

0

काठमाडौं: संवैधानिक राजसंस्था पुनःस्थापनाको अभियानलाई सशक्त बनाउन ‘स्वयंसेवक प्रशिक्षण तथा युवा भेला’ कार्यक्रम आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिई राष्ट्र, धर्म र संस्कृतिप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ। कार्यक्रमको मिति, स्थान र वक्ताहरूको विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ।

जोमसोममा नेपालको सबैभन्दा उच्च स्थानमा ईभी चार्जिङ स्टेशन स्थापना, एमएडब्लू स्पीड चार्जर्सको ऐतिहासिक उपलब्धि

0

काठमाडौं: नेपालमा विद्युतीय सवारी साधन (ईभी) पूर्वाधार विस्तारमा ऐतिहासिक उपलब्धि हासिल गर्दै एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको CCS2 ईभी चार्जिङ स्टेशन स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरेको छ।

कठिन भौगोलिक अवस्थाको बाबजुद, जोमसोमजस्तो दुर्गम क्षेत्रमा प्रविधिमा आधारित यस्तो पूर्वाधारको विकास इन्जिनियरिङको दृष्टिले एक महत्वपूर्ण फड्को मानिएको छ। यस चार्जिङ स्टेशनको स्थापना पश्चात ईभी प्रयोगकर्ताहरूले अब पहाडी तथा पर्यटकीय क्षेत्रमा पनि सुरक्षित, सहज र भरपर्दो यात्रा गर्न सक्नेछन्।

एमएडब्लू स्पीड चार्जर्सले हालसम्म नेपालभर ११६ स्थानमा CCS2 चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याइसकेको छ। सहरदेखि सुदूर पर्यटकीय क्षेत्रसम्म चार्जिङ सुविधा विस्तार गर्नु कम्पनीको दीर्घकालीन रणनीतिक योजनाअन्तर्गत पर्छ, जसले देशको हरित यातायात प्रणालीलाई बलियो बनाउने लक्ष्य लिएको छ।

पर्यटकीय गन्तव्यको रूपमा प्रसिद्ध जोमसोममा यो चार्जिङ स्टेशनको स्थापना पर्यावरणमैत्री र दिगो पर्यटन प्रवर्द्धनतर्फको एक ठोस कदम मानिएको छ। कम्पनीका अनुसार, वातावरणप्रेमी यात्रुहरूका लागि हरित विकल्पप्रति आकर्षण बढाउने उद्देश्यले यो पूर्वाधार निर्माण गरिएको हो।

एमएडब्लू स्पीड चार्जर्सका प्रतिनिधिले भने, “हामी जहाँसुकै, जोकोहीका लागि स्वच्छ, सुरक्षित र भरपर्दो यातायात सम्भव बनाउने हाम्रो दृष्टिकोणतर्फ अघि बढिरहेका छौं। जोमसोम चार्जिङ स्टेशन केवल प्रविधिको उपलब्धि होइन, नेपाललाई हरित भविष्यतर्फ डोर्याउने हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो।”

नेपालकै पहिलो ईभी चार्जिङ नेटवर्कको रूपमा एमएडब्लू स्पीड चार्जर्सले घर, व्यवसाय र सार्वजनिक स्थानहरूमा स्मार्ट, पहुँचयोग्य र भरपर्दो चार्जिङ समाधान उपलब्ध गराउँदै दिगो मोबिलिटीलाई अघि बढाउने अभियानमा अगुवाइ गरिरहेको छ।

चार्जिङ स्टेशन तथा नेटवर्कसम्बन्धी थप जानकारीका लागि mawevcharging.com मा भ्रमण गर्न सकिनेछ।

सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य: लगेज खरिदमा ४० प्रतिशतसम्म छुट

0

काठमाडौं: अग्रणी अनलाइन ट्राभल प्लेटफर्म SastoTickets.com ले अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक साझेदारी गरेको छ।

यस सहकार्यअन्तर्गत सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुहरूलाई Swiss Military का लगेज र ट्राभल ब्यागमा ४० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। टिकट बुक गरेपछि यात्रुहरूले विशेष लिंक र क्युआर कोड प्राप्त गर्नेछन्, जसको प्रयोग गरी उनीहरूले उच्च गुणस्तरका Swiss Military लगेज तथा ब्याकप्याकहरूमा छुट लिन सक्नेछन्।

Swiss Military विश्वभर टिकाउ, स्टाइलिश र भरोसायोग्य ट्राभल गियरको लागि चिनिएको ब्रान्ड हो। हालै कम्पनीले नेपालमा आयात तथा वितरण सुरु गरेको छ र आफ्ना उत्पादनहरूमा १० वर्षको वारेन्टी सुविधा समेत प्रदान गर्दै आएको छ—नेपाली बजारका लागि एक विशेष र नयाँ सुविधा।

Swiss Military नेपालका प्रतिनिधि वासु सर्राफले भने, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। यो साझेदारीमार्फत नेपाली यात्रुहरूलाई उच्चस्तरीय लगेज किफायती मूल्यमा उपलब्ध गराउँदै समग्र यात्रा अनुभवलाई उत्कृष्ट बनाउने हाम्रो लक्ष्य हो।”

सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहालले भने, “पछिल्लो ८ वर्षमा हामीले उत्कृष्ट सेवा दिँदै ग्राहकहरूको विश्वास जितेका छौं। Swiss Military सँगको सहकार्यले यात्राको सुरुआतलाई अझ सहज र सन्तोषजनक बनाउन मद्दत पुर्‍याउनेछ।”

यो सहकार्य नेपालमा ट्राभल र ई–कमर्स क्षेत्रबीचको पहिलो प्रकारको पहल हो, जसले अनलाइन बुकिङसँग गुणस्तरीय भौतिक उत्पादनलाई जोड्ने अभ्यासको थालनी गरेको छ। दुबै कम्पनीले आगामी दिनमा थप नविन तथा मूल्यवर्धक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन्।

छुटको लाभ लिनका लागि ग्राहकले www.sastotickets.com/offers मा जान सक्नेछन् अथवा Swiss Military का आधिकारिक विक्री केन्द्रबाट पनि सामान खरिद गर्न सक्नेछन्।