Friday, July 3, 2026
Homeराजनीतिसंसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षको शैली दुखद : महेश बर्तौला

संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षको शैली दुखद : महेश बर्तौला

काठमाडौं: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री बोल्न लाग्दा प्रमुख प्रतिपक्षले देखाएको कार्यशैलीलाई दुखद बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारेमा जवाफ दिने तयारीमा रहँदा प्रतिपक्षको अवरोध अस्वीकार्य भएको बताए।

उनले भने, “गृहमन्त्रीसँगको प्रश्नोत्तर हिजो प्रतिपक्षकै कारण रोकिएको हो। प्रमुख प्रतिपक्षले हिजोको बैठक रोकौं, भोलि सहज रूपमा अघि बढाऔं भन्ने प्रस्ताव राखेका कारण बैठक रोकिएको थियो। तर आज गृहमन्त्रीले जवाफ दिन लाग्दा उहाँको अभिव्यक्तिमा अवरोध गर्नु प्रमुख प्रतिपक्षको दुर्भाग्यपूर्ण कार्यशैली हो। यसरी संसद चलाउनु स्वीकार्य हुन सक्दैन।”

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले हालको गृह प्रशासनको कार्यशैलीप्रति आलोचना गर्दै सात वर्षमा सात लाख मानिस भिजिट भिसामा विदेश गएको र २० हजार मात्रै फर्किएको तथ्यांक गम्भीर भएको बताए।

उनले भने, “हामीले परिकल्पना गरेको व्यवस्था यो होइन। भुटानी शरणार्थी प्रकरण आयो, हामीले अपेक्षा गरेका थियौं कि गृहमन्त्री आउनुहुन्छ र छानबिन अघि बढ्छ। तर उहाँ त फाइल नै बन्द गर्न आउनुभयो। सात वर्षमा सात लाख मानिस भिजिट भिसामा विदेश गएका छन्, तर फर्किएका जम्मा २० हजार छन्। यो त गम्भीर समस्या हो, यस्ता तथ्यांकलाई नजरअन्दाज गर्न मिल्दैन।”

झाले संविधानअनुसार प्रस्तुत हुने भोलिको बजेटलाई अवरोध नगर्ने स्पष्ट पारे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका