Sunday, July 5, 2026
Home Blog Page 447

सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्‍यौं र संसद् खोलियोः अध्यक्ष प्रचण्ड

0

झापा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरूविरुद्ध केन्द्रित भएको स्पष्ट पारेका छन्।

झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराँव समुदायको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो धारणा व्यक्त गरे।

उनले भने, “हामी यथास्थितिवाद र प्रतिगमनविरुद्धको लडाइँमा छौं। एकातिर दलाल पुँजीवादीहरूको घेराबन्दी छ भने अर्कातिर गणतन्त्रविरोधी प्रतिक्रियावादी शक्तिहरूको चुनौती छ। यी सबैविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्नेछ।”

प्रचण्डले पछिल्लो संसद् अवरोधको उद्देश्य सरकार फाल्ने नभई भ्रष्टाचारविरुद्ध सुशासनको एजेन्डालाई प्राथमिकता दिलाउने रहेको स्पष्ट पारे। उनले भने, “हामी संसद् अनन्तकालसम्म रोक्ने सोचमा थिइनौं। नागरिकता, विद्यालय शिक्षा, निजामति सेवा जस्ता विधेयकहरू वर्षौंदेखि संसद्मा अल्झिएका छन्। ती विधेयकहरू हामीले नै सरकारमा रहँदा अघि बढाएका थियौं। यी जनजीविकासँग, शान्ति प्रक्रियासँग र संघीयताको कार्यान्वयनसँग सम्बन्धित छन्। सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनाएपछि संसद् सञ्चालनमा आएको हो।”

उनले माओवादी केन्द्र सधैं विचार, बहस र नीतिमा आधारित राजनीति गर्ने पार्टी भएको बताए। “हामी पद र शक्तिका लागि होइन, जनताको मुद्दा उठाउन कांग्रेस र एमालेसँग संसद्मा बहस गर्न चाहन्छौं,” उनले स्पष्ट पारे। “सरकार बनाउने कुरा हाम्रो प्राथमिकता होइन।”

प्रचण्डले माओवादी केन्द्रप्रति जनसमर्थनको लहर देखिएको वर्तमानमा पार्टीलाई बदनाम गर्न नियोजित षड्यन्त्रहरू भइरहेको गम्भीर आरोप पनि लगाए। उनले पार्टी सत्तामा रहेर होस् या बाहिर, उत्पीडित समुदाय र जनताको पक्षमा निरन्तर उभिइरहने प्रतिवद्धता जनाए।

उनले माओवादी केन्द्रले संघीय संरचना, समावेशी शासन प्रणाली र पहिचानको आधारमा अधिकार प्रत्याभूतिको पक्षमा निरन्तर संघर्ष गरिरहेको उल्लेख गरे।

त्यस्तै, काठमाडौं उपत्यकामा नेवार समुदायसँग प्रत्यक्ष संवादका लागि आयोजित ‘नेवा सम्मेलन’ र भेलाको स्मरण गर्दै, उनले पहिचान भएका सबै समुदायको सशक्त सहभागिता सुनिश्चित गर्न पार्टीले अग्रसरता लिएको जानकारी पनि दिए।

देशका अधिकांश भू–भागमा मनसुनको प्रभाव, भारी वर्षाको सम्भावनासहित सतर्कता आग्रह

0

काठमाडौँ, ३१ जेठ: हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। साथै, देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको समेत असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा पनि भइरहेको छ।

आजको मौसम पूर्वानुमान
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा, साथै बाँकी प्रदेशका केही उच्च भू–भागहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको अवस्था
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने अनुमान छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने भएकाले मौसम महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

जनजीवनमा प्रभावको सम्भावना
मौसमी गतिविधिका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

भरतपुर यातायात कार्यालयमा भ्रष्टाचार: सहायकसहित बिचौलिया पक्राउ, नगद र इलेक्ट्रोनिक उपकरण बरामद

0

काठमाडौँ: सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षा प्रक्रियामा भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनको भरतपुरस्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेर कार्यालय सहायकसहितका कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्यालय सहायक इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई रु १ लाख ८५ हजार नगदसहित कार्यालय परिसरबाट पक्राउ गरिएको हो। आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।

लाइसेन्स परीक्षामा पैसा लिएर पास गराउने
प्राप्त जानकारीअनुसार महालक्ष्मी, गुरुङ र कुमार ड्राइभिङ सेन्टरका सञ्चालक तथा यातायात कार्यालयका केही कर्मचारीको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीबाट सवारीको वर्गअनुसार रु १५ हजारदेखि २५ हजारसम्म रकम लिई पास गराउने अवैध कारोबार भइरहेको थियो।

प्रमुखसहितको मोबाइल, ल्यापटप र कागजात नियन्त्रणमा
आयोगले सो प्रकरणमा कार्यालय प्रमुख विष्णु भट्टराई, अन्य कर्मचारीहरू तथा विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूमाथि पनि अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका क्रममा ३१ थानभन्दा बढी मोबाइल फोन, २ थान ल्यापटप र अन्य महत्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।

हाल पक्राउ परेकाहरू तथा बरामद सामग्रीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सही नीति र सिद्धान्तमा अडिग छौं : अध्यक्ष माधवकुमार नेपाल

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको आर्थिक र सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीले सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको दाबी गर्नुभएको छ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले समाजवादी क्रान्तिका लागि पार्टीले देश र जनताको हितलाई सर्वोपरि राख्दै बलियो सैद्धान्तिक आधार तयार गरेको बताउनुभयो।

पार्टी विभाजन गराउने प्रयासप्रति आरोप
अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गर्दै आएको भूमिकाबाट आत्तिएर कतिपय शक्तिहरू पार्टी विभाजन गराउन उद्यत रहेको आरोप लगाउनुभयो। “कम्युनिष्ट आन्दोलनमा भइरहेका टुटफुटका कारण समाजका आधारभूत आवश्यकताहरू सम्बोधन हुन नसकेको अवस्था छ,” उहाँले भन्नुभयो, “यसले जनतामा निराशा र आक्रोश थपिएको छ।”

पतञ्जली जग्गा प्रकरणबारे प्रष्टोक्ति
पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली समूहलाई जग्गा सट्टापट्टा गरिएको विषय नीतिगत निर्णय भएको भन्दै आफू निर्दोष रहेको दाबी गर्नुभयो। “संविधानद्वारा मन्त्रिपरिषद्लाई दिइएको नीतिगत निर्णयको अधिकार अन्तर्गत जनहितका लागि स्वास्थ्य सेवा सञ्चालन गर्न जग्गा उपलब्ध गराइएको हो,” उहाँले स्पष्ट पार्नुभयो।

उक्त प्रकरणमा पार्टीले कानुनविद्हरू सम्मिलित कार्यदल गठन गरिसकेको उल्लेख गर्दै उहाँले अदालतबाट चाँडै न्याय प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

0

खोटाङ, ३१ जेठ: हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङसम्बन्धी सात दिने तालिम सम्पन्न गरेको छ। नगरपालिकाको रैथाने बाली ‘कोदो’लाई प्रवर्द्धन गर्दै युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।

‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं. ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजित तालिम शुक्रबार औपचारिक रूपमा समापन गरिएको हो। तालिममा एक जना स्थानीय महिला उद्यमी र १२ जना विद्यार्थी सहभागी थिए।

परिकार उत्पादन र प्रदर्शन
तालिममा सहभागीहरूले कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन लगायतका परिकारहरू तयार पारेर समापन समारोहमा प्याकेजिङसहित प्रदर्शनी गरेका थिए। यी उत्पादनहरू त्रिधार्मिक स्थल हलेसीमा सञ्चालित ‘कोसेली घर’मा बिक्री तथा पाहुनालाई उपहारस्वरूप प्रदान गर्ने योजना नगरपालिकाले अघि सारेको छ।

स्थानीय उत्पादनलाई ब्रान्डिङ
महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार हलेसी आउने दर्शनार्थी र भक्तजनले स्थानीय उत्पादनको खोजी गर्ने भएकाले कोदोको परिकारलाई प्रमुख स्थानीय उत्पादनको रूपमा स्थापित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। “सहभागीहरूले व्यावसायिक रूपमा उत्पादन गरेका परिकार नगरपालिकाले खरिद गर्नेछ र ती कोसेली घरमार्फत पाहुनालाई उपहारस्वरूप दिनेछौँ,” वडाध्यक्ष गिरीले बताए।

व्यावसायिक सीप र प्रेरणा
तालिम कृषि शाखाको समन्वयमा काठमाडौँबाट झिकाइएका खाद्य प्राविधिक आर्जन गौतमको सहजीकरणमा सञ्चालन गरिएको थियो। निःशुल्क तालिम पाएपछि सहभागीहरू उत्साहित बनेका छन्। तालिमले युवालाई सीपमार्फत सशक्त बनाउने र महिलालाई आम्दानीको अवसर दिने विश्वास नगरपालिकाको छ।

नगरप्रमुख विमला राईका अनुसार, “तालिमले केवल सीप मात्र होइन, आत्मविश्वास र प्रेरणा पनि दिएको छ। पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ सहभागीहरूले एकसाथ सिकेका छन्।” उहाँले तालिमले रैथाने बाली कोदोको उत्पादन, मूल्य अभिवृद्धि र स्थानीय रोजगारीमा टेवा पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो।

बजार र पोषण सुरक्षामा जोड
नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको आफ्नो क्षेत्रमा उत्पादन हुने कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन र एन्टी-अक्सिडेन्टजस्ता पोषकतत्वलाई ध्यानमा राख्दै पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोडेर यसको उपयोग विस्तार गर्ने प्रयास गरेको जनाएको छ।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले उत्पादन गरेका परिकारहरू उपस्थित अतिथिहरूले अवलोकन मात्र नभई स्वाद परीक्षणसमेत गरेका थिए। सहभागीहरूले उत्पादन गरेका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको प्रतिक्रिया दिएका छन्।

१५औं राष्ट्रपति रनिङ शील्ड: बागमती प्रदेश टिम च्याम्पियन

0

काठमाडौं: बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ। ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकसहित बागमती प्रदेशले सातै प्रदेशको सहभागिता रहेको प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भयो।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सम्पन्न प्रतियोगितामा गत संस्करणको विजेता सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित रह्यो। सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक प्राप्त गर्‍यो।

११, १२ र १३औं संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी प्रदेश यसपटक तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य पदक जित्यो।

अन्य प्रदेशहरूको प्रदर्शन यस प्रकार रह्यो:

गण्डकी प्रदेश: ४ स्वर्ण, ११ रजत, १७ कांस्य – चौथो स्थान

कर्णाली प्रदेश: ४ स्वर्ण, ६ रजत, १९ कांस्य – पाँचौं स्थान

मधेश प्रदेश: ३ स्वर्ण, २ रजत, १० कांस्य – छैटौं स्थान

कोशी प्रदेश: स्वर्णविहीन रहँदै ७ रजत र ८ कांस्य – सातौं स्थान

विजेताहरूलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी समिति सदस्यहरू कमलबहादुर भट्टराई, रञ्जना प्रधान, सुवर्ण श्रेष्ठ, सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई र योजना विभाग प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कार प्रदान गरे।

तीन दिनसम्म चलेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो। ६८६ खेलाडीहरूले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा ९ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान समेत कायम भए। प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई कुल १२ लाख रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको थियो।

थाइल्याण्डको फुकेटबाट दिल्ली उडेको एयर इन्डिया विमानमा बमको धम्की, आपतकालीन अवतरण

0

काठमाडौं: थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान एआई–३७९ मा बमको धम्कीपछि विमानलाई फिर्ता बोलाएर आपतकालीन अवतरण गराइएको छ। बीबीसीले थाइल्याण्डस्थित आफ्ना संवाददातालाई उद्धृत गर्दै जानकारी दिएको हो।

फुकेट अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पाइलटले स्थानीय समयअनुसार बिहान ९:३० बजे एयर ट्राफिक कन्ट्रोल (ATC) लाई विमानमा बमको धम्की प्राप्त भएको जानकारी गराएका थिए। तुरुन्तै विमानलाई आपतकालीन अवतरणका लागि अनुमति दिइएको थियो।

उडान ट्र्याकिङ वेबसाइटका विवरणअनुसार १५६ यात्रु सवार उक्त विमान स्थानीय समयअनुसार बिहान ९:१५ बजे प्रस्थान गरेको थियो। धम्कीपछि विमान सुरक्षित रूपमा फुकेट विमानस्थलमा अवतरण गरिएको छ।

हाल विमानको सुरक्षात्मक जाँच भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। यात्रुहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै सम्पूर्ण प्रक्रिया चाँडो सक्ने प्रयास भइरहेको छ। घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।

इरानद्वारा इजरायलमाथि ड्रोन आक्रमण, खामेनीले दिए कठोर सजायको चेतावनी

0

काठमाडौं: इरानले शुक्रबार बिहान इजरायलतर्फ करिब १०० ड्रोन प्रक्षेपण गरेको पुष्टि भएको छ। इजरायली डिफेन्स फोर्स (IDF) का अनुसार तीमध्ये अधिकांश ड्रोनहरूलाई आकाशमै खसालिएको छ। यस आक्रमणसँगै इरान–इजरायल तनाव नयाँ चरणमा प्रवेश गरेको छ।

IDF ले जनाएको छ कि इरानबाट आएको यो हमला हालसम्मकै ठूलो ड्रोन हमला हो, जसको सामना गर्न इजरायलको वायु रक्षा प्रणाली पूर्ण तयारीमा परिचालित गरिएको थियो। केही रिपोर्टहरूका अनुसार अमेरिकाले पनि इजरायलको सहयोगमा केही ड्रोनहरू खसाल्न प्रत्यक्ष सहयोग गरेको छ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले यो आक्रमण इजरायलको हालको उकसाउने कार्यको प्रतिक्रिया भएको बताएका छन्। उनले भने, “इजरायलले कठोर सजाय भोग्नैपर्छ, र हाम्रो सैन्य बलले त्यो सजाय दिनेछ।” खामेनीले हालै गाजामा गरिएको आक्रमण र सिविलियन मृत्युबारे आक्रोश व्यक्त गर्दै इजरायललाई “दण्डबिहीनता” को भ्रममा नपर्न चेतावनी दिएका थिए।

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “इरानले आफ्नो सार्वभौमिकताको रक्षा गर्न कुनै हिचकिचाहट गर्नेछैन। जबसुकै, जसरी आवश्यक पर्छ, सशस्त्र बलले पूर्ण शक्तिका साथ जवाफ दिनेछन्।”

यसबीच, विश्व शक्तिहरूले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, र केही खाडी राष्ट्रहरूले तनावको वृद्धि रोक्न कूटनीतिक प्रयास थाल्ने बताएका छन्।

विश्लेषकहरूका अनुसार यो घटनाले मध्यपूर्वमा गहिरिँदो अस्थिरता र सम्भावित युद्धको सम्भावनालाई अझ बलियो बनाएको छ। अमेरिका, ब्रिटेन, र फ्रान्सजस्ता इजरायल समर्थक राष्ट्रहरू स्थिति मूल्याङ्कन गर्दै ‘साझा सुरक्षा रणनीति’ बनाउने तयारीमा छन्।

आक्रमणको विस्तृत विवरण आउन बाँकी भए पनि, इरान–इजरायल सम्बन्ध पछिल्लो दशकको सबैभन्दा संवेदनशील मोडमा पुगेको छ।

गृहमन्त्रीको चेतावनी: पार्टी कार्यालयमा नक्कली पीडित खडा गर्नेहरुलाई कारबाही गरिन्छ

0

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि भिजिट भिसा प्रकरणमा जालसाजी गरेको गम्भीर आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडित खडा गरेर आफ्नाविरुद्ध झुटा जाहेरी दर्ता गर्न खोजेको दाबी गरे। उनका अनुसार केही पार्टी कार्यालयहरूमा व्यक्तिहरूलाई बोलाएर fabricated जाहेरी तयार पारिएको छ, जसको उद्देश्य उनको मानमर्दन गर्नु हो।

“केही पार्टी कार्यालयमा नक्कली पीडित बोलाएर मेरो नाममा जाहेरी लेख्ने र दर्ता गर्ने प्रयास भइरहेको छ,” उनले भने, “त्यस्ता पार्टी कार्यालय कुन हुन्, मलाई जानकारी भइसकेको छ। जालछाँट गरेर राजनीतिक लाभ उठाउने काम नगर्न म आग्रह गर्छु। दोषी पत्ता लगाएर कडा कारबाही गरिनेछ।”

गृहमन्त्री लेखकले रास्वपालाई सम्भावना बोकेको पार्टी भन्दै जालसाजीबाट टाढा रहन चेतावनी दिए। उनले रास्वपाका केही सांसदहरू आफूलाई पूर्व गृहमन्त्री रवि लामिछानेसँग जोडेर प्रतिशोधको राजनीति गरिरहेको आरोप पनि लगाए।

“हिजो श्रममन्त्री हुँदा मैले वैदेशिक रोजगार ऐन बनाएर चार देशसँग श्रम सम्झौता गरेको थिएँ। तर अहिले त्यसको सट्टा मलाई बदनाम गर्ने प्रयास भइरहेको छ,” उनले उल्लेख गरे।

गृहमन्त्रीले राजनीतिक मर्यादा कायम राख्दै सत्य र न्यायका आधारमा अघि बढ्न सबैलाई आग्रह गरे।

छानबिन नभएसम्म आन्दोलन जारी रहने रास्वपाको चेतावनी

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म आफ्नो आन्दोलन जारी रहने स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले वक्तव्य दिँदै संसदले गम्भीरतापूर्वक उच्चस्तरीय छानबिन समिति नबनाएसम्म रास्वपाले आन्दोलन नछाड्ने बताए। उनले सत्यतथ्य पत्ता लगाउने दायित्व संसदकै भएको उल्लेख गर्दै छानबिन बिना निष्कर्षमा पुग्न खोज्नु लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेप हुने धारणा व्यक्त गरे।

उनका अनुसार रास्वपाको आन्दोलन कुनै व्यक्तिगत स्वार्थ वा शक्तिको लोभमा आधारित नभई न्याय र पारदर्शिताको मागमा केन्द्रित छ। “जबसम्म निष्पक्ष र प्रभावकारी छानबिनको आधार तयार हुँदैन, तबसम्म आन्दोलन जारी रहनेछ,” उनले भने।