Thursday, June 18, 2026
Home Blog Page 29

जलेश्वर कारागारबाट भागेका २५० कैदी अझै फरार, जीर्ण संरचना र भीडभाडले बढायो चुनौती

0

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागार बाट आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीमध्ये अझै २५० जना सम्पर्कविहीन रहेका छन्। कारागार प्रशासनका अनुसार भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेका छन्।

कारागार प्रमुख अशोककुमार क्षेत्री ले आन्दोलनको अवसर पारेर कारागार तोडेर भागेका कैदीबन्दीमध्ये ३१६ नेपाली र १० भारतीय नागरिक हालसम्म पुनः सम्पर्कमा आएको जानकारी दिए। उनका अनुसार कैदीबन्दी आफैँ उपस्थित हुने क्रम अझै जारी छ।

गत भदौ २४ गते देशव्यापी आन्दोलनका क्रममा महोत्तरी सदरमुकामस्थित जलेश्वर नगरपालिका–२ मा रहेको कारागारबाट कैदीबन्दी फरार भएका थिए। भाग्नेमध्ये ४० जना भारतीय नागरिक पनि रहेका थिए।

कारागार प्रशासनले घटनाको भोलिपल्टदेखि नै सबै फरार कैदीबन्दीलाई स्वेच्छाले फर्किन सार्वजनिक आह्वान गर्दै आएको थियो। प्रमुख क्षेत्रीका अनुसार केही कैदीबन्दी अझै पनि आफैँ उपस्थित भइरहेका छन्।

उनले कारागार ऐन, २०७९ तथा प्रचलित कानुनअनुसार फर्किने कैदीबन्दीमाथि कानुनी कारबाही हुने स्पष्ट पारे। फरार व्यक्तिलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही गरिने उनले बताए।

भागेका कैदीमध्ये १३ जनालाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई पुनः नेपाल फर्काएर कारागार प्रशासनलाई बुझाइएको थियो।

वि.सं. १९१३ मा निर्माण भएको जलेश्वर कारागार देशकै पुराना कारागारमध्ये एक मानिन्छ। केही नयाँ संरचना बने पनि अधिकांश भवन जीर्ण अवस्थामा रहेको प्रशासनको भनाइ छ। करिब ६ बिघा जग्गा उपलब्ध भए पनि नयाँ भवन निर्माणको काम अझै अघि बढ्न सकेको छैन।

कारागार प्रशासनका अनुसार २०० जना राख्ने क्षमता रहेको कारागारमा अहिले त्यसको दोब्बरभन्दा बढी कैदीबन्दी राखिएका छन्। धनुषा, महोत्तरीलगायत जिल्लाका कैदीबन्दी यहीँ राखिने भएकाले चाप बढ्दै गएको छ। वर्षायाम सुरु हुन लागेकाले डुबानको जोखिमसमेत रहेको बताइएको छ।

प्रमुख क्षेत्रीले खानेपानी र खानाको व्यवस्थापन सामान्य रहे पनि औषधिको अभाव गम्भीर समस्या बनेको बताए। बजेट अभावका कारण आवश्यक औषधि समयमा जुटाउन कठिन भइरहेको र भिडभाड तथा पुरानो संरचनाका कारण सङ्क्रमण फैलिने जोखिम बढेको उनको भनाइ छ।

उनका अनुसार नयाँ भवन निर्माण भए कैदीबन्दी व्यवस्थापन सहज हुनुका साथै पुस्तकालय, सीपमूलक तालिम, खेलकुद तथा सुधारमुखी कार्यक्रम सञ्चालन गर्न पनि सहज हुनेछ।

केही दिनअघि कारागार जीवन बिताएर छुटेका एक व्यक्तिले पनि कारागारभित्रको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले मनोरञ्जन, खेलकुद, पुस्तकालय तथा सीपमूलक कार्यक्रमको अभावले कैदीबन्दी मानसिक तनावमा पर्ने गरेको बताए।

यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ले फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरेर खोजतलास तीव्र पारिएको छ।

स्थानीय नागरिक समाजका अगुवा राकेश चौधरी ले पुरानो संरचना, सीमित स्रोतसाधन र अत्यधिक भीडका कारण कारागार गम्भीर चुनौतीमा परेको बताउँदै सुधारमुखी कार्यक्रमसहित नयाँ भवन निर्माण आवश्यक रहेको धारणा व्यक्त गरे।

आजको विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा

0
काठमाडौं । नेपाल राष्ट्र बैंक ले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५७ पैसा र बिक्रीदर १११ रुपैयाँ कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३९ पैसा तथा बिक्रीदर ११९ रुपैयाँ ८६ पैसा रहेको छ।

यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा रहेको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको नेपाल राष्ट्र बैंक ले जनाएको छ।

कांग्रेसमा एकता बलियो बनाउन सभापति थापालाई एनपी साउदको आग्रह

0
काठमाडौं । एनपी साउद ले नेपाली कांग्रेसभित्र मेलमिलाप र एकता सुदृढ गर्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग तत्काल समन्वय बढाउन सभापति गगन थापा लाई आग्रह गरेका छन्।

नेपाली कांग्रेस को सुदूरपश्चिम कार्यसमितिद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता साउदले पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले सर्वसम्मतिबाट टुङ्गिएको क्रियाशील सदस्यतासम्बन्धी विषयलाई थप विवादको विषय नबनाउन आग्रह गर्दै कसैले पार्टी अनुशासन उल्लंघन गरेको भए विधानअनुसार कारबाही गर्न सुझाव दिए।

साउदले निर्वाचन समिति र अनुशासन समिति गठन गर्दा सबै पक्षलाई स्वीकार्य हुने गरी समावेशी ढंगले गठन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार विशेष अधिवेशनमा सहभागी पक्ष र असहमत पक्षबीच बलियो एकता कायम भएपछि मात्रै पार्टीको आगामी १५औँ महाधिवेशन प्रभावकारी रूपमा सम्पन्न हुन सक्छ।

उनले पार्टीभित्रको आन्तरिक समझदारी र सहकार्यलाई मजबुत बनाउँदै कांग्रेसलाई अझ सशक्त र एकताबद्ध बनाउन नेतृत्वले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

बालविवाह र दाइजो प्रथा अन्त्य गर्न उपसभामुख ठाकुरको आग्रह

0

सर्लाही । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर ले छोरीलाई शिक्षित, आत्मनिर्भर र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन्।

सर्लाहीको चन्द्रनगर गाउँपालिका मा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’लाई आइतबार सम्बोधन गर्दै उनले विशेषगरी मधेश क्षेत्रमा गहिरो रूपमा जरा गाडेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिमसम्म संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले समाज परिवर्तनका लागि छोरीको शिक्षा अत्यावश्यक रहेको उल्लेख गर्दै दाइजो र बालविवाह नेपाली समाजकै कलंक बनेको बताइन्। “छोरी शिक्षित भए परिवार मात्र होइन, समग्र समाज नै सशक्त बन्छ,” उनले भनिन्।

उपसभामुख ठाकुरले विवाहपछि परिवार विखण्डन हुनु, सम्बन्ध बिग्रिनु र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठूलो भूमिका खेलेको उल्लेख गरिन्। दाइजो दुवै परिवारका लागि अभिशाप बनेको भन्दै उनले यसको अन्त्यका लागि सबै तहबाट संयुक्त अभियान आवश्यक रहेको धारणा राखिन्।

उनले पछिल्लो समय किशोर–किशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरिन्। युवापुस्तालाई अभिभावकको सुझावलाई सकारात्मक रूपमा लिन र आवेगमा निर्णय नगर्न आग्रह गरिन्।

कार्यक्रममा सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारी ले समाजमा रहेका कुरीति, कुसंस्कार र विभेद शिक्षा मार्फत मात्रै हटाउन सकिने बताइन्। उनले छोरीहरूको शिक्षामा विशेष ध्यान दिन आग्रह गर्दै शिक्षित छोरीले परिवार र समाज दुवैलाई सबल बनाउने धारणा व्यक्त गरिन्।

आर्थिक कूटनीतिमा जोड दिन परराष्ट्रमन्त्री खनालको आग्रह

0

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल ले बदलिँदो विश्व परिवेशअनुसार नेपालको परराष्ट्र नीतिलाई आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडेर अघि बढाउनुपर्ने बताएका छन्।

परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले परराष्ट्र सेवा केवल औपचारिक कूटनीतिक सम्बन्धमा सीमित नरहेको उल्लेख गर्दै यसलाई आर्थिक विकास, लगानी प्रवर्द्धन, पर्यटन विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताए।

उनले नेपालको परराष्ट्र सेवाको ६५ वर्षे इतिहास राष्ट्रको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षणसँग जोडिएको उल्लेख गर्दै विदेश सेवालाई निजामती सेवाको विशिष्ट शाखाका रूपमा कानुनी मान्यता दिइएको ऐतिहासिक दिनको स्मरण गरिएको बताए।

मन्त्री खनालले नेपालको कूटनीतिक इतिहास निर्माणमा योगदान पुर्‍याउने अग्रज कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्र अधिकारीहरूको प्रशंसा गर्दै सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच पनि उनीहरूले राष्ट्रिय हितको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले अग्रजहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्ताले उनीहरूको अनुभव र मार्गदर्शनबाट प्रेरणा लिनुपर्ने धारणा राखे। यस क्रममा उनले वैज्ञानिक Isaac Newton को चर्चित भनाइ उद्धृत गर्दै “दिग्गजहरूको काँधमा उभिएर अगाडि हेर्न सकिने” बताए।

मन्त्री खनालले नेपालको कूटनीतिक यात्रालाई वर्तमान राष्ट्रिय आवश्यकता र विकाससँग जोड्नुपर्नेमा जोड दिँदै परराष्ट्र सेवा देशको आन्तरिक नीति र प्राथमिकताभन्दा अलग रहन नसक्ने स्पष्ट पारे।

उनले नेपालको संविधानले राष्ट्रिय हितलाई केवल सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सीमित नगरी आर्थिक समृद्धि र नागरिकको कल्याणसँग समेत जोडेको उल्लेख गर्दै आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधि हस्तान्तरण सुनिश्चित गर्ने तथा नेपाली उत्पादनका लागि अन्तर्राष्ट्रिय बजार विस्तार गर्न कूटनीतिक सम्बन्धलाई अझ प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक छ।

मन्त्री खनालले परम्परागत कूटनीतिक अभ्यासलाई समयअनुकूल रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय साझेदारीलाई नेपालको विकास र समृद्धिको आधार बनाउने दिशामा परराष्ट्र सेवा केन्द्रित हुनुपर्ने बताए।

कार्यक्रमको अन्त्यमा उनले परराष्ट्र सेवामा कार्यरत अधिकारीहरूलाई व्यावसायिकता, राष्ट्रप्रतिको समर्पण र दूरदृष्टिका साथ काम गर्न आग्रह गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।

पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहर

0
Gemini AI created image

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लागेको छ।

मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। हाल कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। मधेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, पाँच कडा सर्त सार्वजनिक

0

काठमाडौं । अमेरिकाईरान बीच महिनौँदेखि जारी सैन्य तथा कूटनीतिक तनावका बीच सम्भावित शान्ति सम्झौताको रूपरेखा सार्वजनिक हुन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दुई देशबीचको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

ईरानको अर्ध–सरकारी समाचार संस्था फार्स न्यूज का अनुसार वासिङ्टनले तेहरानसमक्ष पाँचवटा मुख्य सर्त अघि सारेको छ, जसमा अहिले सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।

प्रस्तावित सम्झौतामा सबैभन्दा संवेदनशील विषय ईरानको परमाणु कार्यक्रम रहेको छ। अमेरिकी प्रस्तावअनुसार ईरानले आफूसँग रहेको करिब ४०० किलोग्राम उच्च संवर्धित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त राखिएको छ। पश्चिमी राष्ट्रहरूले लामो समयदेखि उक्त युरेनियमलाई परमाणु हतियार निर्माणको सम्भावित जोखिमका रूपमा हेर्दै आएका छन्।

यससँगै अमेरिकाले ईरानको परमाणु संरचनामाथि कडा नियन्त्रणको प्रस्ताव पनि अघि सारेको बताइएको छ। प्रस्तावअनुसार ईरानले भविष्यमा एउटा मात्र परमाणु केन्द्र सञ्चालन गर्न पाउनेछ भने अन्य सबै परमाणु गतिविधि बन्द गर्नुपर्नेछ।

आर्थिक तथा कूटनीतिक पक्षमा पनि अमेरिकाले कडा अडान राखेको जनाइएको छ। हालैको द्वन्द्वमा भएको क्षतिको क्षतिपूर्ति नदिने र विदेशमा रोक्का राखिएको ईरानी सम्पत्ति तत्काल फुकुवा नगर्ने अमेरिकी अडान रहेको बताइएको छ।

यद्यपि, सुरक्षा सम्बन्धी एक महत्त्वपूर्ण बुँदामा भने अमेरिका र उसका सहयोगी राष्ट्रहरूले ईरान वा उसका समर्थित समूहहरूमाथि आक्रमण नगर्ने तथा त्यसको बदलामा ईरानले पनि अमेरिका र उसका साझेदार राष्ट्रविरुद्ध पूर्वआक्रमण नगर्ने समझदारीको प्रस्ताव गरिएको बताइएको छ।

यस विषयमा हालसम्म दुवै देशले औपचारिक पुष्टि गरेका छैनन्। यसअघि ईरानले पनि वार्ताका लागि आफ्नै पाँच सर्त अघि सारेको बताइएको थियो। ती सर्तमा क्षेत्रीय युद्ध अन्त्य, आर्थिक प्रतिबन्ध हटाउने, रोक्का सम्पत्ति फिर्ता गर्ने, युद्ध क्षतिपूर्ति उपलब्ध गराउने तथा होरमुज स्ट्रेट मा ईरानको सार्वभौमिकता स्वीकार गर्नुपर्ने माग समावेश रहेका थिए।

दुई देशबीचको तनाव गत फेब्रुअरी २८ मा चरम अवस्थामा पुगेको थियो, जब अमेरिका र इजरायल ले ईरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा आक्रमण गरेका थिए। त्यसपछि करिब ४० दिनसम्म द्वन्द्व जारी रहेको थियो।

अप्रिल ८ मा युद्धविराम भएपछि इस्लामाबाद मा प्रत्यक्ष वार्ता सुरु भएको र पाकिस्तान को मध्यस्थतामा अहिले सम्भावित शान्ति सम्झौता अन्तिम चरणतर्फ अघि बढिरहेको जनाइएको छ।

हुम्ला–बाजुरा सीमा घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

0
काठमाडौं । गृह मन्त्रालय ले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा हालै भएको घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा उच्चस्तरीय विशेष टोली गठन गरेको छ।

गृह सचिवको संयोजकत्वमा रक्षा सचिव तथा विभिन्न सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आइतबार सिंहदरबारमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रालयका अनुसार विशेष टोलीलाई तत्काल घटनास्थलमा पुगेर निष्पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटना सार्वजनिक भएलगत्तै गृह मन्त्रालयले हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल को विशेष टोली परिचालन गरिसकेको जनाएको छ।

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रशासनलाई थप प्रभावकारी सुरक्षा रणनीति लागू गर्न सचेत गराइएको छ। साथै आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिइएको बताइएको छ।

मन्त्रालयले दीर्घकालीन समाधानका लागि जनप्रतिनिधि, स्थानीय अगुवा तथा सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठकहरू समेत गरिरहेको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले द्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रमा शान्ति कायम राख्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

मन्त्रालयले स्थानीय नागरिकलाई संयमता अपनाउन तथा अफवाहको पछि नलाग्न आग्रह समेत गरेको छ।

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

0
काठमाडौं । नेपाली कांग्रेस को भ्रातृ संस्था नेपाल तरुण दल को केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्।

पार्टी सभापति गगन कुमार थापा ले कोइरालालाई रिक्त रहेको तरुण दलको अध्यक्ष पदमा नियुक्त गरेको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्।

वैशाख २१ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति थापाले कोइरालालाई उक्त जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टी विधानअनुसार सांगठनिक म्याद समाप्त भएपछि तरुण दलको तत्कालीन केन्द्रीय कार्यसमिति स्वतः विघटन भएको थियो। त्यसपछि संगठनलाई पुनः सक्रिय बनाउन नयाँ नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ।

नवनियुक्त अध्यक्ष कोइरालालाई निर्धारित समयभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ। त्यसका लागि पार्टीले उनलाई ९ बुँदे कार्यादेशसमेत प्रदान गरेको बताइएको छ।

युवा राजनीतिमा सक्रिय कोइरालाको नियुक्तिसँगै लामो समयदेखि रोकिएको तरुण दलको महाधिवेशन प्रक्रिया अब अघि बढ्ने अपेक्षा गरिएको छ।

ग्वाङझाउमा ‘आरोहण २०२६’ एनआरएनए एशिया–प्रशान्त सम्मेलन आयोजना हुने

0

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजनामा आगामी अगस्त १५ र १६, २०२६ मा Crowne Plaza Guangzhou City Centre मा ११औँ एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आयोजना हुने भएको छ।

“Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले विश्वभर फैलिएका नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक तथा पुस्तान्तरणीय सम्बन्धमार्फत जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

सम्मेलनको संयोजकत्व दीपक कँडेल लाई दिइएको छ।

ग्वाङझाउ मा हुने सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापारिक साझेदारी, जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका विषयमा केन्द्रित छलफल गरिनेछ। साथै श्रमिक सुरक्षा, महिला उद्यमशीलता र युवा सहभागिताका विषयलाई पनि प्राथमिकता दिइने जनाइएको छ।

सम्मेलनमा दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई भाषा, संस्कृति, पर्यटन तथा मातृभूमिसँग जोड्ने विषयलाई विशेष महत्व दिइएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई नेपालसँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङसँग सम्बन्धित कार्यक्रमसमेत समावेश गरिनेछ।

दुई दिने सम्मेलनमा पाँचवटा विभिन्न सत्रमार्फत कार्यपत्र प्रस्तुत तथा विषयगत छलफल हुने आयोजकले जनाएको छ।

सम्मेलनको पहिलो दिन नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना हुनेछ। त्यसपछि “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयमा विशेष सत्र सञ्चालन गरिनेछ।

दोस्रो दिन पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विशेष छलफल हुने जनाइएको छ। सम्मेलनको समापनमा “ग्वाङझाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा एनआरएनए नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा दोस्रो पुस्ताका नेपाली युवाहरू सहभागी हुनेछन्।