Sunday, May 3, 2026
Home Blog Page 25

अमेरिका–इरान युद्धविराम वार्ता दबाबमा, होर्मुज जलमार्गमा तनाव र ऊर्जा आपूर्तिमा अवरोध

0

पाकिस्तान । अमेरिका र इरानबिच भएको दुई हप्ते युद्धविराम प्रक्रिया थप दबाबमा परेको छ। दुवै पक्षबिच पाकिस्तानमा वार्ता हुनुअघि नै तनाव बढेपछि वार्ता प्रक्रिया प्रभावित बनेको हो।

शनिबार इस्लामाबादमा दुई पक्षबिच औपचारिक वार्ता हुने तयारी छ। तर त्यसअघि नै दुवै देशले एकअर्कामाथि आरोप–प्रत्यारोप तीव्र पारेका छन्। अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानले सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ भने इरानले लेबनानमा जारी इजरायली आक्रमणलाई युद्धविरामको मुख्य विवादको विषय बनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले जलमार्गबाट तेल आपूर्ति अवरुद्ध गर्ने प्रयास गरिरहेको भन्दै कडा टिप्पणी गरेका छन्। उनले छिट्टै तेल आपूर्ति पुनः सुरु हुने दाबी गरे पनि त्यसका लागि चालिने कदमबारे स्पष्ट गरेका छैनन्।

युद्धविराम लागू भएको पहिलो २४ घण्टामा मात्र एउटा तेल ट्याङ्कर र पाँच वटा अन्य जहाजले उक्त जलमार्ग पार गरेको बताइएको छ। सामान्य अवस्थामा दैनिक करिब १४० जहाज आवतजावत गर्ने यस मार्गमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर परेको छ।

यसैबीच, इजरायलले लेबनानस्थित हिजबुल्लाह लक्ष्यहरूमा आक्रमण जारी राखेको छ। शुक्रबार बिहान इजरायली सेनाले १० वटा रकेट प्रक्षेपण स्थलमा आक्रमण गरेको जनाएको छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ मिसाइल प्रहार गरेको दाबी गरेको छ।

अमेरिका र इजरायलले हालको युद्धविराममा लेबनानलाई समावेश गर्न नसकिने बताएका छन् भने इरान र मध्यस्थकर्ता पाकिस्तानले लेबनान पनि सम्झौतामा समेटिएको दाबी गरेका छन्। इरानका संसद् सभामुख मोहम्मद बाकर कालिबाफले लेबनान र क्षेत्रीय सहयोगीहरू युद्धविरामको अभिन्न हिस्सा भएको बताएका छन्।

शनिबार पाकिस्तानमा हुने अमेरिका–इरान वार्ताले जारी द्वन्द्व समाधान गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ। इरानले यसअघि सार्वजनिक गरेको १० बुँदे प्रस्तावमा होर्मुज जलमार्गमा नियन्त्रण, आणविक कार्यक्रमको अधिकार स्वीकार र प्रतिबन्ध हटाउने माग राखिएको छ। यसैबीच, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आक्रमणको बदला लिने चेतावनी दिएका छन्।

आयल निगमले भन्यो, ‘दैनिक ९३ करोड घाटा, इन्धन बचत नगरे आपूर्ति शृङ्खला ठप्प हुन सक्छ’

0

काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपाल आयल निगम चरम वित्तीय संकटमा परेको छ। निगमले सार्वजनिक अपिल जारी गर्दै पेट्रोलियम पदार्थको खपत नघटाइए र मूल्य समायोजन नगरे इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न नसकिने तथा देशमा इन्धन आपूर्तिमा समस्या आउन सक्ने चेतावनी दिएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार ३० मार्चदेखि ८ अप्रिल २०२६ सम्मको मूल्य वृद्धिलाई आधार मान्दा निगमलाई पाक्षिक रूपमा करिब १४ अर्ब रुपैयाँ अर्थात दैनिक करिब ९३ करोड रुपैयाँ घाटा हुने देखिएको छ। सरकारले चैत २४ गते भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले त्यसको प्रभाव न्यून रहेको उनले बताए।

निगमले चैत २६ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाई इन्धनमा ६ रुपैयाँ मूल्य वृद्धि गरेको छ। तर, यसपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ८ अर्ब रुपैयाँ घाटा रहने प्रक्षेपण गरिएको छ।

निगमले ८ अप्रिलमा इन्डियन आयल कर्पोरेसनलाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने आगामी २३ अप्रिलमा १६ अर्ब ३७ करोड रुपैयाँ थप भुक्तानी गर्नुपर्ने दबाबमा रहेको छ।

यसैबीच, निगमले छिमेकी मुलुक श्रीलंका, पाकिस्तान र बंगलादेशले इन्धन संकट व्यवस्थापनका लागि कोटा प्रणाली, जोर–बिजोर प्रणाली तथा अनलाइन कक्षा जस्ता उपाय अपनाएको उदाहरण दिँदै नेपालमा पनि इन्धनको मितव्ययिता अपनाउन आग्रह गरेको छ।

निगमका अनुसार यदि एक बाइकले दैनिक १ लिटर र एक गाडीले पनि १ लिटर इन्धन बचत गरेमा राज्यले दैनिक करिब २६ करोड रुपैयाँ बचत गर्न सक्छ। यसरी १५ दिनमा करिब ३९० करोड रुपैयाँ जोगाउन सकिने भन्दै निगमले अनावश्यक सवारी प्रयोग नगर्न र इन्धन खपतमा संयमता अपनाउन उपभोक्तासँग आग्रह गरेको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पूर्ण रूपमा आयातमा निर्भर रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा खपत घटाउनु नै एकमात्र व्यवहारिक विकल्प रहेको जनाएको छ।

जनअपेक्षा पूरा गर्न सरकार र संसदलाई राष्ट्रपति पौडेलको आग्रह

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिएका छन्।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले जनताको चाहना पूरा गर्न संसदले प्रभावकारी र परिणाममुखी कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले बनेका कानुनहरूको कार्यान्वयन पनि प्रभावकारी रूपमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो अर्थमा सम्मान हुने बताए।

उनका अनुसार जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना तथा देशभित्रै रोजगारी सिर्जनाको अपेक्षा गरेका छन्।

उनले पछिल्लो समय युवा पुस्ताबाट भएको आन्दोलनले पनि यिनै भावना र आकांक्षा उजागर गरेको उल्लेख गर्दै सरकारलाई जनअपेक्षा अनुरूप काम गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवा पुस्ताको आकर्षण, विश्वास र सहभागिता बढ्दै गएको स्पष्ट सन्देश दिएको बताए।

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

0

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका दुवै जनालाई आज मन्त्रीमा नियुक्त गरिएको हो। उनीहरूको नियुक्तिसँगै सरकारमा नयाँ जिम्मेवारी थपिएको छ।

नवनियुक्त मन्त्री गौरीकुमारी यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छन् भने रामजी यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व गर्नेछन्।

दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

शपथपछि उनीहरूले आ–आफ्नो मन्त्रालयको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने छन्।

आफन्तलाई नियुक्ति नदिलाउन सांसदहरूलाई रास्वपा सभापति लामिछानेको निर्देशन

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफन्तहरूलाई नियुक्ति दिलाउने कार्यमा संलग्न नहुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले उक्त निर्देशन दिएका हुन्। आफूहरू जेनजीको बलिदानबाट आजको स्थानमा पुगेकाले उक्त मर्मलाई बुझ्न उनले सांसदहरूलाई आग्रह गरेका हुन्। बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए। यद्यपि उनले बैठकमा केही बोलेनन्।

राष्ट्रपति पौडेलद्वारा आज संसद् संयुक्त बैठकलाई सम्बोधन, मध्यरातदेखि अधिवेशन अन्त्य

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रबार (चैत २७) दिउँसो ३:०० बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो। राष्ट्रपतिले बैठकमा सहभागी हुन दुवै सदनका सदस्यहरुलाई आह्वान पनि गर्नुभएको छ।

यसैबीच, राष्ट्रपति पौडेलले आज राति १२:०० बजेदेखि लागू हुनेगरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको छ। संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसका आधारमा अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उल्लेखनीय छ कि सङ्घीय संसद्को चालु अधिवेशन चैत १९ गतेदेखि प्रारम्भ भएको थियो।

जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ

0
Gemini created image

सर्लाही । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका–९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान करिब ७ बजे नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–१२ निवासी बरही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सिन्धुलीको पर्खाल फुटाई फरार भएका थिए। उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका फरार प्रतिवादी हुन्।

सर्लाही प्रहरीले जनाएको अनुसार २०७८ चैत २० गते साँझ मलंगवा–१२ का ८ वर्षीय बालक मिठु भनिने आकाशकुमार ठाकुरको अपहरणपछि हत्या गरिएको घटनामा बरहीको संलग्नता रहेको छ। आरोपितले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरको कोठामा बन्धक बनाएका थिए।

पछि बालकको घाँटी गम्छाले कसी हत्या गरिएको र शवलाई प्लास्टिकको बोरामा राखी छिमेकीको घरको शौचालयको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको थियो।

पक्राउ परेका बरहीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि: पेट्रोल २१९, डिजेल २०७ रुपैयाँ

0

काठमाडौं, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेको उतारचढावलाई कारण देखाउँदै निगमले नयाँ दर लागू गरेको हो।

निगमका अनुसार आज (चैत २७) राति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको हो। सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँले मूल्यवृद्धि गरिएको छ।

यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल २०७ रुपैयाँ पुगेको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०१० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको भए पनि निगमको घाटा कम नभएको जनाउँदै मूल्य बढाउनुपरेको बताइएको छ। निगमका अनुसार हाल पनि पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ।

आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४८ नजिक, दिनार र पाउण्ड उच्च

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा तोकिएको छ।

यसैगरी, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा कायम भएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर २१ रुपैयाँ ७२ पैसा तोकिएको छ। साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १३ पैसा र बिक्रीदर २३ रुपैयाँ २२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ १८९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८० पैसा तथा ओमानी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ८७ पैसा कायम गरेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

रेडपाण्डा महोत्सव सफल: सन्दकपुरमा ‘रेडपाण्डा पर्यटन’ नयाँ ब्राण्ड बन्दै

0

इलाम । विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी र सन्दकपुर डाँडालगायत प्रमुख पर्यटकीय गन्तव्य समेटिएको सन्दकपुर गाउँपालिकामा आयोजित तेस्रो रेडपाण्डा महोत्सव उपलब्धिमूलक बनेको छ। गाउँपालिकाको पर्यटन पात्रोअनुसार चैत्र २० देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको थियो।

महोत्सवको मुख्य उद्देश्य माईपोखरी–ढापपोखरी–जौबारी जोड्ने पदमार्गलाई सक्रिय बनाउनु हो। यसअघि अलपत्र रहेको पदमार्गलाई प्रवद्र्धन गर्न २०८० सालमा पहिलो पटक पदयात्रामा आधारित महोत्सव आयोजना गरिएको थियो। सोही क्रममा पदमार्गलाई ‘रेडपाण्डा पदमार्ग’ नामकरण गरिएको हो।

पहिलो संस्करणदेखि नै नेपाल र भारतका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा जनप्रतिनिधिको सहभागिताले सन्दकपुरका पर्यटकीय गन्तव्यको व्यापक प्रचार भएको थियो। ५० किलोमिटर लामो यो पदमार्ग चार दिनमा पूरा गर्न सकिने र यस क्षेत्रमा १५ भन्दा बढी आकर्षक गन्तव्य तथा भ्यू–पोइन्ट रहेको अध्ययनले देखाएको छ।

दोस्रो संस्करणमा विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय निकायको सहकार्य बढ्दै गएको थियो। रेडपाण्डा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समुदायको सक्रियता बढेको देखिन्छ। स्थानीय बासिन्दाले होमस्टे सञ्चालन गर्दै आयआर्जन गर्न थालेका छन् भने वन्यजन्तु पर्यटनमा नयाँ व्यवसायी पनि आकर्षित भएका छन्।

महोत्सवले सन्दकपुर क्षेत्रमा पर्यटकको आकर्षण बढाएको छ। विशेषगरी रेडपाण्डा अवलोकनका लागि आउने पर्यटकको संख्या वृद्धि भएको छ। पहिले भारतीय बाटो प्रयोग गर्ने पर्यटकहरू अहिले नेपाली मार्ग हुँदै सन्दकपुर पुग्न थालेका छन्, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।

तेस्रो संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पर्यटन प्रवद्र्धक, संरक्षणकर्मी र संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो। यसले ‘रेडपाण्डा पर्यटन’लाई नयाँ ब्राण्डका रूपमा स्थापित गर्न थप बल पुगेको सरोकारवालाहरू बताउँछन्।

स्थानीय तहका अनुसार रेडपाण्डा संरक्षणसँगै पर्यटन विकासलाई जोडेर सन्दकपुरलाई वनजंगल पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य राखिएको छ। चरा, वन्यजन्तु र हिमश्रृंखलाको दृश्यावलोकनका लागि उपयुक्त क्षेत्र भएकाले सन्दकपुरमा पर्यटनको सम्भावना उच्च रहेको विज्ञहरू बताउँछन्।