Thursday, June 18, 2026
Home Blog Page 26

ओली, लेखक र गुरुङलाई कारबाहीका लागि सिफारिस

0

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग ले गत वर्ष भदौमा भएको जेन–जी आन्दोलन दमन प्रकरणमा तत्कालीन सरकारको उच्च राजनीतिक नेतृत्वलाई मुख्य जिम्मेवार ठहर गरेको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लाई मानवअधिकार उल्लंघनकर्ता किटान गर्दै कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो।

सरकारले विभिन्न सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा जेन–जी पुस्ताले आन्दोलन सुरु गरेका थिए। आयोगको प्रतिवेदनअनुसार आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा भदौ २३ र २४ गते १९ जना प्रदर्शनकारी युवाको मृत्यु भएको थियो।

घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्को आलोचना भएपछि आयोगले विस्तृत छानबिन अघि बढाएको थियो। अनुसन्धानका लागि आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो।

समितिले स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल र प्रमाणहरूको विश्लेषणपछि प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा आयोगको पूर्ण बैठकले तत्कालीन राजनीतिक नेतृत्वलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीको नीतिगत निर्णय, निर्देशन र दमनकारी कार्यशैलीका कारण नागरिकको शान्तिपूर्ण प्रदर्शनको अधिकारमाथि हस्तक्षेप भएको तथा १९ जनाले ज्यान गुमाउनुपरेको निष्कर्ष निकालेको छ।

यस घटनामा सुरक्षा निकायका उच्च अधिकारीसँगै तत्कालीन शीर्ष राजनीतिक नेतृत्वलाई पनि मानवअधिकार उल्लंघनकर्ताको सूचीमा राखेर कारबाही सिफारिस गरिएपछि नेपाली राजनीति र प्रशासनिक क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ।

आर्थिक अनियमितता आशंकामा डीडीसी कार्यालयमा सीआईबीको छापा

0

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा आकस्मिक छापा मारेको छ।

डीडीसीभित्र आर्थिक अनियमितता र वित्तीय कैफियत भएको विशेष सूचनाका आधारमा सीआईबीको टोलीले बुधबार बिहान कार्यालयमा पुगेर अनुसन्धान थालेको हो।

सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसी ले डीडीसीसँग सम्बन्धित केही गम्भीर र संवेदनशील सूचना प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन्। उनले अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताएका छन्।

प्रहरी स्रोतका अनुसार सीआईबीले छापामार कारबाहीका क्रममा डीडीसीको आर्थिक कारोबार, खरिद प्रक्रिया तथा प्रशासनिक निर्णयसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

डीडीसीभित्र लामो समयदेखि आन्तरिक विवाद, गुटबन्दी र वित्तीय पारदर्शितामाथि प्रश्न उठ्दै आएको थियो। ती गुनासोका आधारमा सीआईबीले विस्तृत अध्ययन सुरु गरेको बताइएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका कागजातहरूको अध्ययनपछि मात्रै सम्भावित वित्तीय अनियमितताको वास्तविक अवस्था र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान हुने छ।

बाह्य क्षेत्र मजबुत बन्दै, व्यापार घाटा अझै चुनौतीपूर्ण

0
काठमाडौं । विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको सरकारले जनाएको छ। डा. स्वर्णिम वाग्ले ले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले बाह्य क्षेत्र सुदृढ बन्दै गएको संकेत गरेको हो।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण भइरहेका बेला नेपालको वृद्धि सकारात्मक दिशामा रहेको सरकारको दाबी छ।

यस वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने तथा प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने प्रक्षेपण गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने उल्लेख गरिएको छ। बागमती प्रदेशले मात्रै कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान गर्ने अनुमान छ।

यद्यपि, धान उत्पादनमा भने गिरावट देखिएको छ। यो वर्ष धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणमा उल्लेख छ।

राजस्वतर्फ चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व ३.२ प्रतिशतले बढेको छ भने सरकारी खर्च १०.४ प्रतिशतले वृद्धि भएको छ। तर, पुँजीगत खर्चको अवस्था भने अझै कमजोर रहेको औँल्याइएको छ।

हाल नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो। चालु आर्थिक वर्षमा मात्रै सरकारले ३ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ।

बाह्य क्षेत्रतर्फ विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार देखिएको छ। रेमिट्यान्स ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, जसले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको बताइएको छ।

तर, व्यापार घाटा भने ११.२ प्रतिशतले बढ्दै १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ, जसलाई अर्थतन्त्रको मुख्य चुनौतीका रूपमा हेरिएको छ।

यसैबीच, डिजिटल भुक्तानी प्रणालीको प्रयोग पनि तीव्र रूपमा बढेको छ। फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

गोला प्रक्रिया हटाउने चर्चा भ्रामक : सर्वोच्च अदालत

0
काठमाडौं । सर्वोच्च अदालत ले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियामार्फत हुने पेशी व्यवस्थापन प्रणालीमा कुनै परिवर्तन वा पुनर्विचार गर्ने योजना नरहेको स्पष्ट पारेको छ।

केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिएको तथा हालको प्रणाली हटाउन लागिएको भन्ने समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला द्वारा जारी प्रष्टीकरणमा दैनिक पेशी व्यवस्थापनका लागि प्रयोग भइरहेको गोला प्रक्रियाबारे पुनर्विचार गर्ने कुनै औपचारिक सोच, धारणा वा योजना नरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार अदालतहरूमा ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ अनुसार नै मुद्दाको पेशी व्यवस्थापन भइरहेको छ र यही प्रणालीलाई निरन्तरता दिइने सर्वोच्च अदालतले स्पष्ट गरेको छ।

फागुनसम्म ४१ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरण, ६२ लाख सवारी दर्ता

0

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरिएको छ। हालसम्म देशभर कुल ४१ लाख १४ हजार १८१ थान स्मार्ट लाइसेन्स वितरण भइसकेको सर्वेक्षणमा उल्लेख छ।

यस्तै, चालु आवको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएकोमा पाँच हजार १८६ थान मात्र जडान गरिएको छ। हालसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भए पनि ८८ हजार ३४० थान मात्रै जडान भएका छन्।

सरकारले इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई थप सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार र मोटरसाइकललगायत दुई लाख ८१ हजार ९२१ सवारी साधन दर्ता भएका छन्।

हालसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ। तीमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

संविधान संशोधनमा तमलोपाको ८ बुँदे सुझाव, ‘मधेस आन्दोलन’लाई प्रस्तावनामा समेट्न माग

0

काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टी ले संविधान संशोधनका लागि गठित कार्यदललाई आफ्नो औपचारिक सुझाव बुझाएको छ। पार्टीले सङ्घीयताको सुदृढीकरण, निर्वाचन प्रणालीमा सुधार तथा मधेस आन्दोलनको पहिचानलाई केन्द्रमा राख्दै ८ बुँदे सुझाव पेश गरेको हो।

पार्टीले संविधान संशोधन प्रक्रिया अघि बढाउने क्रममा कार्यदलको कार्यशैली र कार्यविधिमाथि पनि प्रश्न उठाएको छ। संशोधनको आवश्यकता, उद्देश्य र मूल विषयवस्तुबारे कार्यदलले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेपछि मात्रै बहस प्रभावकारी हुने तमलोपाको भनाइ छ।

तमलोपाले संविधानको प्रस्तावनालाई मूल आत्मा र दर्शनको रूपमा व्याख्या गर्दै त्यसको आधारभूत संरचना परिवर्तन नगर्न आग्रह गरेको छ। साथै प्रस्तावनामा ‘जन आन्दोलन’ पछि ‘मधेस आन्दोलन र विद्रोह’ शब्द थप्न माग गरिएको छ।

पार्टीले गैरआवासीय नेपाली नागरिकतामा समान व्यवस्था हुनुपर्ने उल्लेख गर्दै संविधानको धारा १४ मा रहेको “दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेक” भन्ने व्यवस्था हटाउनुपर्ने सुझाव दिएको छ।

त्यसैगरी “समग्र मधेस दुई प्रदेश” को अवधारणाअनुसार पूर्वी र पश्चिमी मधेसका रूपमा पुनः सीमाङ्कन गर्नुपर्ने प्रस्ताव पनि तमलोपाले अघि सारेको छ।

पार्टीले बहुदलीय संसदीय लोकतान्त्रिक शासन प्रणाली यथावत् राख्नुपर्ने, सङ्घीयतालाई कमजोर बनाउने वा शक्ति केन्द्रीकरण गर्ने प्रयास अस्वीकार्य हुने धारणा पनि व्यक्त गरेको छ।

राष्ट्रियसभामा प्रदेशको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग पनि सुझावमा समेटिएको छ।

यस्तै स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्नुपर्ने प्रस्ताव पनि तमलोपाले कार्यदलसमक्ष राखेको छ।

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

0

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ। साथै अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्। साथै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ।

विदेशबाटै अनलाइन बयान र वकपत्र गर्न सर्वोच्च अदालतको अनुमति

0
काठमाडौँ । सर्वोच्च अदालत ले नेपालमा विचाराधीन मुद्दामा विदेशबाटै अनलाइनमार्फत बयान र वकपत्र गर्न सकिने महत्वपूर्ण आदेश दिएको छ।

न्यायाधीश हरि फुयालबालकृष्ण ढकाल को संयुक्त इजलासले सूचना प्रविधिको विकासले भौगोलिक दूरीलाई सीमित बनाइरहेको अवस्थामा न्याय सम्पादनलाई सहज बनाउन यस्तो व्यवस्था आवश्यक रहेको ठहर गरेको हो।

अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भएर नेपालमा चलिरहेका मुद्दामा अनलाइनमार्फत बयान र वकपत्र गर्ने सुविधा उपलब्ध गराउनुपर्ने आदेश दिएको छ।

यसअघि विशेष अदालत मा विचाराधीन एक भ्रष्टाचार मुद्दामा अध्यक्ष टेकनारायण कुँवर ले विदेशबाट अनलाइन बयान र वकपत्र गर्न अनुमति दिन सकिने राय दिएका थिए। तर सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठरितेन्द्र थापा ले यस्तो अनुमति दिन नमिल्ने राय राखेका थिए।

विशेष अदालतको उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर भएपछि सर्वोच्चले विदेशबाट अनलाइन माध्यमद्वारा बयान र वकपत्र गर्न सकिने स्पष्ट आदेश दिएको हो।

पश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसमविद्ले बताएका छन्।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेश प्रदेश तथा अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न सरकारको आग्रह

0

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह का राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाह ले वर्तमान सरकार निजी क्षेत्रमैत्री नीति लिएर अघि बढिरहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उद्योगी–व्यवसायीहरूसँगको विशेष छलफलमा उनले निजी क्षेत्रसँगको सहकार्यबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै व्यवसायीहरूलाई निर्धक्क भएर लगानी तथा व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

संयोजक शाहले पछिल्लो समय फैलाइएका हल्लाजस्तो सरकारले कुनै व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको स्पष्ट पारे। उनले गम्भीर आपराधिक गतिविधि तथा राज्यलाई ठूलो क्षति पुर्‍याउने कार्यमा संलग्न व्यक्तिमाथि मात्रै कानुनी कारबाही भइरहेको बताए।

प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कसैलाई पक्राउ गर्न वा नगर्न कुनै राजनीतिक निर्देशन नदिइएको उल्लेख गर्दै उनले कानुनी प्रणाली स्वतन्त्र र निष्पक्ष ढंगले काम गरिरहेको दाबी गरे।

उनले व्यवसाय सञ्चालनका लागि कुनै व्यक्ति वा राजनीतिक दललाई चन्दा दिनुपर्ने अवस्था नरहेको भन्दै यदि त्यस्तो दबाब आए सरकारलाई जानकारी दिन आग्रह गरे। वर्तमान सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै ‘शून्य सहनशीलता’ नीति अपनाएको उनको भनाइ थियो।

आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री हुने संकेत गर्दै उनले व्यवसाय गर्ने वातावरण सहज बनाउन प्रशासनिक झन्झट घटाइने बताए। सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरिरहेको र उत्पादन, लगानी तथा उद्योगसँग सम्बन्धित नीतिमा सुधार भइरहेको जानकारी पनि उनले दिए।

ठूला परियोजनामा निजी क्षेत्रको सहभागिता बढाउन सार्वजनिक–निजी साझेदारीका विभिन्न मोडल लागू गरिने उनले बताए। विगतका नीतिगत अस्थिरताका कारण व्यवसायीहरू समस्यामा परेको स्वीकार गर्दै उनले कर छुट तथा सहुलियतका कार्यक्रम ल्याउन सकिने संकेत पनि गरे।

छलफलमा सहभागी उद्योगी तथा व्यवसायीहरूले संविधान संशोधनलाई राजनीतिक विषय मात्र नभई आर्थिक सुधार, लगानी सुरक्षा र निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए।

उनीहरूले निजी क्षेत्रलाई राष्ट्र निर्माणको साझेदारका रूपमा संवैधानिक मान्यता दिनुपर्ने माग गर्दै संविधानमा खुला, प्रतिस्पर्धात्मक र नवप्रवर्तनमुखी बजार अर्थतन्त्रलाई स्पष्ट रूपमा उल्लेख गर्न सुझाव दिएका छन्।

व्यवसायीहरूले दोहोरो कर प्रणाली, अस्पष्ट कानुनी व्याख्या तथा झन्झटिलो प्रशासनिक प्रक्रियाका कारण निजी क्षेत्र समस्यामा परेको गुनासो पनि गरेका छन्। साथै, विदेशी लगानी आकर्षित गर्न कानुनी स्थिरता र व्यवसायीहरूको सम्मानको संरक्षण आवश्यक रहेको उनीहरूको भनाइ थियो।

संयोजक शाहले उद्योगी–व्यवसायीहरूबाट प्राप्त सुझावहरूलाई संविधान संशोधन बहसपत्रमा प्राथमिकताका साथ समेटिने प्रतिबद्धता व्यक्त गरेका छन्।