Sunday, May 3, 2026
Home Blog Page 1257

भारतमा एकैदिन थपिए १ लाख ३२ हजार सङ्क्रमित

0

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९६८ पुगेको हो ।भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ६० हजार ५४२ पुगेको अधिकारीहरुको भनाई छ ।

यही हप्ता दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी पुगेको शुक्रबार चौथो पटक हो । यसअघि गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए भने बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।

त्यसैगरी बिहीबार एक लाख २६ हजार ७८९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा पछिल्लो २४ घण्टामा ७८० जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या एक लाख ६७ हजार ६४२ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेपनि नौ लाख ७९ हजार ६०८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल एक करोड १९ लाख १३ हजार २९२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ

‘पार्टीलाई बलियो बनाउन जिल्ला कमिटी गठन’- माधव नेपाल

0

काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राख्नुभयो । नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशलाई आफूले सम्मान गर्ने बताउँदै पार्टीमा विसं २०७५ जेठ २ गते अगाडिको सबै निर्वाचित सबै पदाधिकारी कायम रहनुपर्नेमा जोड दिनुभयो । एक प्रश्नको जवाफमा उहाँले प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्ताव फिर्ता केही बाध्यताका कारण भएको बताउनुभयो । उहाँले वर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोबल घटाएको, सङ्गठन छिन्नभिन्न बनाएको आरोप लगाउँदै सबै कार्यकर्तालाई एकताबद्ध गरी सुदृढ पार्टी बनाउने दाबीसमेत गर्नुभयो ।

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट

0

काठमाडाैं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सविर वादे श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० आवेदक हात खाली भएका छन् ।

कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । जसमध्ये दुई प्रतिशतअर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशतअर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण गरिएको छ ।

आइपिओको नतिजा मेरोशेयर, सिडीएसले आइपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

मौसम खराबीले चार दिनदेखि आन्तरिक उडान प्रभावित

0

२६ चैत, काठमाडौँ । मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए । यान्त्रिक पद्धति (आईएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान प्रभावित भएको थियो, त्यसपछि केही दिन मौसम सफा भए पनि गत २३ गतेदेखि फेरि उडान प्रभावित भएको हो । काठमाडौं उपत्यकासहित देशभरको आकाशमा बाक्लो तुवाँलो लागेकाले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित बनेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । १२ उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाइयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भए । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्ध एयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीनदिन मौसम खराबी रहे पनि तुलनात्मक रूपमा बिहीबार काठमाडौंको आकाश सफा छ । तुवाँलो नभएपछि भिजिविलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार बिहीबार पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।

हल्का वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदलिरहेको छ । साथै देशका केही स्थानमा तुवाँलो लागेको अवस्था छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा अपराह्नतिर मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८.८ डिग्री सेल्सियस रहेको छ ।

अनलाईनखबर बाट साभार

गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

0

२६ चैत, कास्की । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ ।

प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए ।

प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको जानकारी दिँदै उनले यसमध्ये ६४ हजार ज्येष्ठ नागरिक रहेको बताए ।

उनका अनुसार सात हजार ७०० अतिविपन्न परिवारको स्वास्थ्य बीमा गरिएको छ । ज्येष्ठ नागरिक तथा अतिविपन्न परिवारको सरकारले निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

अनलाईनखबर बाट साभार

काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको ताकेता

0

२६ चैत, काठमाडौं । नेपाल ट्रष्ट कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न अन्तिम पटक भन्दै चेतावनी दिएको छ । गत असार ३ मा नै खाली भइसक्नुपर्ने काठमाडौं प्लाजामा विवाद नसल्टएपिछि ट्रस्टले सूचना जारी गर्दै चैत ३१भित्र खाली गर्न भन्दै सूचना जारी गरेको छ । कानुनअनुसार भवन खाली गराउँदा हुने क्षतिको जिम्मेवार स्वयम् व्यवसायी नै हुने ट्रष्टले बताएको छ ।

यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।

यो अलमल भएको १० महिनाको अवधिमा करिब साढे ६ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ ।

३ असार २०५० मा तत्कालीन राजकीय सम्पत्ति कोष विभागका तत्कालीन सह-सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलका सुवासराज काफ्लेबीच वडा-३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो ।

काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रालिमा हस्तान्तरण भएपछि  २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम पुरानो करारनामाको अधिनमा रही पुनः करारनामा भएको थियो । त्यतिबेला सो जग्गा पूर्व राजपरिवारको भएकाले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको थियो ।

२०६६ पुस २३ गते नेपाल ट्रष्टको कार्यालयका तर्फबाट तत्कालीन उपसचिव टिकाराम घिमिरे र कन्सेप्ट डेभलपर्स प्रालिका तर्फबाट प्रवन्ध सञ्चालक सुनिलभक्त श्रेष्ठबीच सम्झौता पनि भएको थियो । सो सम्झौताको अवधि २०७७ असार २ सम्म थियो ।

सम्झौता सकिने भएपछि कन्सेप्ट डेभलपर्सले प्रतिमहिना ८ लाख दिने गरी नयाँ प्रस्ताव गर्यो । चल्तीको भन्दा कम मूल्य कबोल गरेको भन्दै ट्रष्टले पुनः सम्झौता नगर्ने निर्णय गर्‍यो ।

त्यसपछि कन्सेप्ट डेभलपर्सले २०७७ जेठ २८ गते मर्मत सम्भारमा ८ करोड खर्च गर्ने र सरकारी मूल्यांकनभन्दा दुई लाख बढी -प्रतिमहिना ६२ लाखसम्म) भाडा बुझाउने नयाँ प्रस्ताव पठायो ।

त्यसबेलासम्म ट्रष्टले भने यो भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय मन्त्रिपरिषदबाटै गराइसकेको थियो । काठमाडौं महानगरलाई मासिक ६० लाख भाडामा दिने गरी निर्णय भएको छ ।

तर ट्रष्ट र महानगरबीच अहिलेसम्म सम्झौता भएको छैन । महानगरलाई भाडामा दिने निर्णयविरुद्ध काठमाडौं प्लाजाका व्यवसायी र कन्सेप्ट डेभलपर्स अदालत गएका थिए, जसमा तत्काल सम्झौता नगर्न अन्तरिम आदेश भएको छ । यो मुद्दाको अन्तिम टुंगो भने लागेको छैन ।

अदालतबाट सम्झौता गर्ने खुला गर्ने गरी अन्तिम फैसला आएपनि महानगरका लागि सहज नहुने देखिएको छ ।

किनकी मन्त्रिपरिषदले तेस्रो पक्षलाई भाडामा लगाउन नदिने गरी महानगरलाई भाडामा दिने निर्णय गरेको छ । जबकी महानगरका कर्मचारीहरुको दाउ भवनको आधा हिस्सा भाडामा लगाउने थियो ।

यो भवन भाडामा लिने निर्णय गर्दा पनि महानगरले ११ स्थानमा कार्यालय सञ्चालन गर्दा सार्वसाधारणलाई असहज हुनुका साथै महिनाको २८ लाख बढी भाडा तिर्नु परेकाले प्लाजा भाडामा लिएर आधा आफूले उपभोग गर्ने र बाँकी भाग भाडामा लगाएर ट्रष्टलाई बुझाउनुपर्ने रकम जोहो गर्ने भनिएको थियो । तर मन्त्रिपरिषदले भाडामा चलखेल हुनसक्ने भन्दै भवनको पूर्ण उपयोग महानगरपालिका आफैंले गर्नुपर्ने गरी निर्णय गरेपछि महानगर अप्ठ्यारोमा परेको छ ।

यद्यपि महानगर भवन प्रयोगका लागि तयार रहेको बताउँछ । नेपाल ट्रष्टका सहसचिव भीष्मकुमार भुसालले दिइएको मितिसम्म भवन खाली गरिएन भने कानूनी प्रक्रियाअनुसार अघि बढ्ने बताए ।

अनलाईनखबर बाट साभार

नाजिरको स्टाइल

0

नेपाली चलचित्र क्षेत्रमा नायक नाजिर हुसेनको छुट्टै छाप छ । नाजिरको अभिनयले दर्शकको मन पनि छोएको छ । तर, पनि नाजिरका चलचित्रले व्यवसायिक रुपमा सफलता पाउन सकेका छैनन् । नाजिर लामो समयदेखि हिट चलचित्रको खोजीमा छन् ।

लकडाउनपछि भने नाजिरको व्यस्तता म्यूजिक भिडियोमा पनि उस्तै बढेको छ । उनले अभिनय गरेका केही गीतले दर्शकको मन जिते । नाजिरको अभिनय र उनको नृत्यलाई पनि दर्शकले रुचाए । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडलमा पर्छन् नाजिर ।

नेपाली चलचित्र क्षेत्रमा नायक नाजिर हुसेनको छुट्टै छाप छ । नाजिरको अभिनयले दर्शकको मन पनि छोएको छ । तर, पनि नाजिरका चलचित्रले व्यवसायिक रुपमा सफलता पाउन सकेका छैनन् । नाजिर लामो समयदेखि हिट चलचित्रको खोजीमा छन् ।

लकडाउनपछि भने नाजिरको व्यस्तता म्यूजिक भिडियोमा पनि उस्तै बढेको छ । उनले अभिनय गरेका केही गीतले दर्शकको मन जिते । नाजिरको अभिनय र उनको नृत्यलाई पनि दर्शकले रुचाए । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडलमा पर्छन् नाजिर ।

पहिरनको रोजाइको हकमा पनि नाजिरलाई धेरैले रुचाउछन् । उनको पहिरनप्रतिको चासो लोभलाग्दो छ । निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको एक लभ स्टोरी चलचित्रमा काम गर्न लागेका नाजिर एक कलाकार भैसकेपछि हरेक कुरामा सजग हुनुपर्ने बताउँछन् ।

अनलाईनखबर बाट साभार

काफल पाकेसँगै किन कराउँछ ‘काफल पाक्यो चरी’ ?

0

‘बेडू पाको बारो मासा, काफल पाको चैता मेरी छैला…’ भारतको उत्तराखण्ड लगायतको भेगमा प्रसिद्ध यो गीत स्व. मोहन चन्द्र उप्रेतीले लेखेका हुन् । उत्तराखण्डमा चर्चित रहेको यो गीतले काफलको महिमा र काफल पाकेसँगै आउने काफल पाक्यो चरीको व्याख्या गरेको छ । नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत विशेष रहेको कुरालाई पुष्टि गरेको छ ।

नेपाली लोक कथानुसार परापूर्वकालमा बुबाआमा गुमाएका (टुहुरा) दाजुबहिनी थिए । आमाबुबाको देहावसानसँगै गुजाराको अभावमा भोकै बस्नबाध्य दाजुबहिनीमध्ये दाजुले खानाको खोजीमा बाहिर जाने निर्णय गरे । बहिनी झनै रुन थाली । बाबुआमाले छाडेको दाइले पनि छाड्न लाग्नुभयो भनेर बिलौना गर्दा दाजुले काफलको बोट देखाएर काफल पाक्ने समयमा म बहिनी भेट्न आउँछु भनेर निस्किए ।

याम फेरियो बहिनीले जंगलमा फलफूल खाएर समय बिताइ, केही समयमा काफल पनि पाक्यो । तर अफसोच बहिनी छाडेर गएका दाजु फर्किएनन् । बहिनी आत्तिन थाली । एक्लोपनले उनलाई सतायो । काफल पाक्यो बरै मेरा दाजु आएनन् भन्दै उनी बिलौना गर्न थालिन् । त्यही चिन्ताले उनको देहावशासन भयो । अहिले जंगल जंगलमा काफल फाक्यो भन्ने जस्तो आवाज दिने चरा त्यही बहिनीको अर्काे जन्ममा लिएको चरा हो भन्ने लोक कथा छ ।

चैत वैशाखको समय अर्थात् जंगलभरि पाकेको काफलले राताम्मे बनाउने र ‘काफल पाक्यो चरीले’ आफ्नो धुनले जंगल थर्काउने समय हो । काफल विशेषगरी पहाडी भेगमा फल्ने एक किसिमको स्वादिष्ट र पौष्टिक फल हो । यो चैत र वैशाख महिनामा पाक्ने गर्छ ।

तर यसको वैज्ञानिक पक्ष अलिक अर्कै खालको छ । चरा विशेषज्ञ कमल मादेन ‘काफल पाक्यो’भन्ने जस्तो स्वर दिने चरा एक खालको घुमन्ते चरा रहेको बताउँछन् । यसको स्वरमा त्यस्तो आवाज सुनिएको भए पनि यसले काफल पाक्यो भन्ने आवाज भने ननिकाल्ने मादेन बताउँछन् ।

काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रोप्टेरस हो । यो नेपाल लगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानहरूमा पाइने गर्छ । यो चरा समुन्द्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेको जङ्गलहरूमा पाइने गर्छ ।

विशेषगरी नेपालमा चैत वैशाख महिनामा आउने यो चरा थाइल्याण्डमा अरु समयमा पनि कराउने गरेको भेटिएको मादेन बताउँछन् । अरु बेला दक्षिण पूर्वी एसियामा घुम्ने यो चरा वसन्त ऋतु आएपछि नेपाल आउँछ । यही समयमा यहाँ काफल पाक्ने सिजन पनि भएकोले काफल पाक्यो चरा आएको भन्ने भान भए पनि काफल पाक्यो चरा र काफलको प्रत्यक्ष सम्बन्धबारे भने प्रमाणित तथ्य नभेटिएको मादेन बताउँछन् ।

काफलको ‍औषधीय गुणहरू

काफल अमिलो-गुलियो एवं रसिलो फल हो । यो फलले जिब्रो मात्र लोभ्याउँदैन, यसमा औषधिय गुण पनि हुन्छ । विभिन्न समस्यामा काफलको दाना, बोक्रा प्रयोग गर्न सकिन्छ ।

ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ । खाना अरुची भएमा काफलको सेवनले लाभ मिल्ने बताइन्छ । साथै मधुमेह रोगको लागि पनि यो रामबाण हो । आयुर्वेद विशेषज्ञहरुले यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइने बताएका छन् । यस फलको सेवनले मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने बताइन्छ ।

कानको रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाई आदिमा काफलको धुलो, बोक्रा आदिको औषधी बनाएर सेवन गर्दा लाभ मिल्ने बताइन्छ । यसैगरी दम, नपुंशकतामा समेत काफल उपयोगी हुन्छ । बाहिरी घाउचोट निको बनाउन काफलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ ।

अनलाईनखबर बाट साभार

राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

0

२६ चैत, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौ राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । गत माघमा भएको क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपालले नै उपाधि जितेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विनितकुमारसहित ३ भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले एपीएफलाई २५-१४, २५-२०, २५-२२ को सोझो सेटमा पराजित गरेको हो ।

यसै प्रतियोगितामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपाल एपीएफसँग पराजित भएको थियो ।

नेपाल भलिबल संघको आयोजनामा भएको यस प्रतियोगितामा पुरुषतर्फ ७ टिमले प्रतिस्पर्धा गरेका थिए । जसको लिग चरणमा पहिलो र दोस्रो हुँदै हेल्प नेपाल रर एपीएफ फाइनलमा पुगेका थिए ।

हेल्प नेपालले उपाधिसंगै नगद ३ लाख रुपैयाँ पाएको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

यसै प्रतियोगिताको महिलातर्फको खेलको उपाधिका लागि न्यूडायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

अनलाईनखबर बाट साभार

कतारमा सडक दुर्घटनाले खोसियो छविलालको सपना

0

२६ चैत, कतार । घरबाट फर्किएको ६ महिना नबित्दै सल्यान जिल्ला कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्‍यो ।

कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा उनी दुर्घटनामा परे । त्यो नमिठो दिन सम्झँदै उनी भन्छन्, ‘२०१७ नोभेम्बर ७ तारिक मेरा लागि कालो दिन नै सिद्ध भयो । बाटो काट्दै थिएँ, गाडी धेरै स्पिड थियो, गाडीले ठक्कर दियो, मलाई ४८ घण्टा सम्म होस नै आएन ।’

उनले कतारको हमाद अस्पतालमा एक हप्ता उपचार पश्चात २ महिना कोठामै आराम गरे । दुई महिनाको अवधिमा ४ पटक खुट्टाको शल्यक्रिया गर्नु परेको उनले सुनाए ।

इमर्जेन्सी भएकाले लागेको सबै खर्च कतारको सरकारी अस्पताल हमालले नै व्यहोर्‍यो । ५५ सय रियालभन्दा बढी खर्च भएको थियो । उनले अस्पतालबाट डिस्चार्ज हुँदा एक थान वाकर र ह्विल चियर पनि पाए ।

अब उनी साङ्ग रहेनन् । ‘सडक दुर्घटनामा परेपछि खुट्टा काट्न पर्‍यो, मेरो जीवन नै अधुरो भयो,’ उनले टेलिफोन संवादमा भने ।
कृतिम खुट्टामा प्लाष्टिकको कभर भएकाले घाम, पानी र आगोबाट जोगाउन चिकित्सकले सल्लाह दिएको सुनाउँदै उनले कृतिम खट्टा फेर्नु पर्ने मिति नजिकिँदै आएकोले चिन्तित भएको बताए ।

उनले २०१८ मा कृतिम खुट्टा हालेका थिए । बैशाखीको सहाराले यताउता गरेर जीवन धानिरहेका उनी अब फेरि कृतिम खुट्टा हाल्न खर्च जुटाउन चाहन्छन् ।

तर, उनका लागि खर्च जुटाउन सजिलो छैन । कृतिम खुट्टाका लागि करिब १४ हजार ५ सय कतारी रियाल अर्थात करिब ५ लाखभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

बुढा सन् २००८ मा कतार छिरेका थिए । हालसम्म ४ पटक बिदामा घर गएर फर्किएका उनी २०१७ देखि कतारमै रहेका छन् ।
एउटा खुट्टा गुमाएका उनले लकडाउन र कोरोना कहरको सामना गर्नुपर्‍यो । ३ छोरासहित ७ जनाको परिवारको जिम्मेवारी बोकेका छविलाल परदेशबाट फर्किन सकेका छैनन् ।

परिवारले स्वदेश र्फकन भन्छन् । तर उनी फर्किन सकेका छैनन् । ‘परिवारले आऊ भनेर भनिरहेको छ, म अशक्त भएँ । अब गएर के गर्नु, खुट्टा फेर्न आर्थिक जोहो पनि गर्न नसक्ने भए, बोझ भएर कसरी जाऊ ?’

दुर्घटना गराउने विरुद्ध कतारको हाइकोटमा मुद्दा लडे पनि हाइकोटले आफूलाई दोषी देखाएको छविलाले बताए । उनले हाइकोटले दोषी देखाएपछि केही क्षितिपूर्ति नपाएको गुनासो गरे ।

सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाल कतारको अल वाकरास्थित आईटीसीसी (इमपिरियल ट्रेडिङ एण्ड क्न्ट्राक्टिङ) कम्पनीको स्काफोल्डिङ्मा काम गर्थे । खुट्टा गुमाएपछि छविलाल हाल कम्पनीकै स्टोरमा हल्काफुल्का काम गरिरहेका छन् ।

उनलाई चिकित्सकले ५ केजीभन्दा माथिको तौल नउठाउन भनेका छन् । परदेशमा उनी अहिले जीवन जीउनकै लागि संघर्ष गरिरहेका छन् ।

यसैबीच सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाललाई एनआरएनए कतारले हृविल चियर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी हृविलचियर प्रदान गरेको हो ।

लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त हृविल चियर उपलब्ध गराएको थियोे ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले छविलालको अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्यमा सहयोग गर्ने बताए ।

संघ अध्यक्ष मुसलमानले छविलाल जस्ता समस्यामा रहेका अन्य नेपालीलाई पनि गैरआवासीय नेपाली संघ कतारले सहयोग गरिरहेको बताए ।

अनलाईनखबर बाट साभार