खोटाङ: सोल्मा स्पोर्ट्स क्लब सोल्माको आयोजनामा सम्पन्न पाँचौँ संस्करणको ‘सोल्मा अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’ मा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले उपाधि जितेको छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेलमैदानमा भएको फाइनल खेलमा महादेवस्थानले दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो। पहिलो हाफमै दुई गोलको अग्रता लिएको महादेवस्थानले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गर्यो। निर्धारित समयमा कुनै गोल फर्काउन नसक्दा केएफए उपविजेतामै सीमित रह्यो।
विजेता महादेवस्थानले नगद रु १,३३,३३३ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता केएफएले रु ७१,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताका सेमिफाइनलिस्ट आयोजक सोल्मा स्पोर्ट्स क्लब सोल्मा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले जनही रु ३५,५५५ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कार प्रदान गरिएको थियो। महादेवस्थानका भुवन श्रेष्ठ ‘बेस्ट प्लेयर’ घोषित भए, जसले रु ५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। अन्य विधागत विजेताहरू निम्नानुसार रहेका छन्:
बेस्ट गोलकिपर: महादेवस्थानका कुसन राई
बेस्ट डिफेन्डर: सोल्माका आशिष राई
बेस्ट मिडफिल्डर: केएफएका सोइसन राई
हाइ स्कोरर: केएफएका शैलेन्द्र बजिमय
राइजिङ प्लेयर: केएफएका सुलभ भुजेल
बेस्ट कोच: महादेवस्थानका लोकेन्द्र केसी
यी विधागत विजेताहरूले जनही रु ३,३३३ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी, खेल पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएको भन्दै पत्रकार चिसाङ शेर्पालाई ‘खेल पत्रकारिता पुरस्कार २०८१’ प्रदान गरियो, जसअन्तर्गत उनले रु ५,५५५ नगद पुरस्कार प्राप्त गरे।
पुरस्कार वितरण कार्यक्रम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, अखिल नेपाल फुटबल संघ (एन्फा) कोशी प्रदेश उपाध्यक्ष समिर राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतका अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो।
प्रतियोगिता समापन अवसरमा समाजमा महत्वपूर्ण योगदान पुर्याएका सोल्माका २० जना व्यक्तिलाई सम्मान गरिएको आयोजक क्लबले जनाएको छ। यही फागुन २४ गते कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।
सोल्मा स्पोर्ट्स क्लबले विसं २०७२ मा ‘नगर कप’ प्रतियोगिता सुरु गरेको थियो। दोस्रो वर्षदेखि खुला पुरुष अन्तरवडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले आगामी संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने योजना बनाएको छ।


