काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
महासंघ सचिवालयमा आयोजित भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका सम्भावनाहरूमा छलफल गरिएको थियो।
दुवै पक्षले पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन, तथा संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययनका विषयमा थप छलफल गर्ने सहमति जनाएका छन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको खाडल कम गर्न सहकार्यले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराउन यो सहकार्य फलदायी हुनेछ। यस्तो सहकार्यका लागि हामी सकारात्मक छौं।”
नेपाल विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न मद्दत गर्ने बताउनुभयो। “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो। महासंघसँगको सहकार्यले यस दिशामा ठुलो योगदान पुर्याउनेछ,” उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी, विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्देश्य रहेको बताउँदै त्यसका लागि महासंघसँगको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
दुवै पक्षले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थी इन्टर्नशिप, तथा रोजगारी सिर्जना जस्ता क्षेत्रहरूमा सहकार्य गर्न सकिनेमा जोड दिएका छन्।


