Sunday, April 26, 2026
Homeशिक्षाव्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

दमौली (तनहुँ): शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउने कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। हालै, विद्यालयले विद्यार्थीलाई लोकबाजामा आत्मनिर्भर बनाउन नौमती बाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीमा उत्साह बढेको छ।

विद्यालयले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा ‘तालबेँसी बाजा समूह’ गठन गरेको छ। प्रधानाध्यापक धु्रव वाग्लेले विद्यालयको सांस्कृतिक, शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीले नौमती बाजा बजाउन थालेको जानकारी गराउनुभयो। उहाँका अनुसार व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकेपछि विद्यार्थी बाजा बजाउन सक्षम भएका छन्, जसका कारण अभिभावक पनि उत्साहित छन्।

बाजा समूह कक्षा ७ का विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा गठन भएको छ। समूहमा सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा, रूविन बैदास, अर्विन परियार र प्रसुन पौडेल छन्। बाजा बजाएर विद्यार्थीहरूले सामान्य खर्च व्यवस्थापन गर्न सक्ने अवस्था सिर्जना भएको छ। विद्यार्थी अर्विन परियारले विद्यालयले आफ्नो इच्छालाई पूरा गर्न सहयोग गरेकोमा आभार व्यक्त गरे।

बाजा समूहका संयोजक सुकबहादुर विकका अनुसार शुक्लागण्डकी नगरपालिका–९ ले बाजाको सेट उपलब्ध गराएपछि आफूहरू व्यावसायिकतातर्फ पनि सोच्न थालेका छन्। विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नाका साथै नियमित रूपमा बाजाको प्रयोगलाई प्रोत्साहित गरिरहेको विकले बताए।

शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले विद्यालयको मागलाई प्राथमिकतामा राख्दै विद्यार्थीको क्षमता उजागर गर्न वडा कार्यालयले सहयोग गरेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले व्यावहारिक शिक्षातर्फ विद्यालयले निरन्तर कदम चालिरहेको उल्लेख गर्नुभयो।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दामोदर रेग्मीका अनुसार सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षामा बाजाको महत्वपूर्ण भूमिका छ। विद्यालयका विद्यार्थीहरूले तनहुँ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा कुशलतापूर्वक बाजा प्रदर्शन गरेर आफ्नो कलाकौशल प्रस्तुत गरिसकेका छन्। विद्यालयको यो पहलले विद्यार्थीलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका