Friday, July 31, 2026
Homeखेलकुदविश्व एक्वेटिक्स च्याम्पियनसिपका लागि नेपाली पौडी टोली सिंगापुर प्रस्थान

विश्व एक्वेटिक्स च्याम्पियनसिपका लागि नेपाली पौडी टोली सिंगापुर प्रस्थान

काठमाडौं । सिंगापुरमा जारी विश्व एक्वेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउन ६ सदस्यीय नेपाली टोली शुक्रबार राति ११ः०० बजे सिंगापुर प्रस्थान गरेको छ। प्रतियोगितामा २ पुरुष र २ महिला गरी ४ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै समान २–२ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

पुरुषतर्फ इर्भिन श्रेष्ठले १०० र २०० मिटर फ्रिस्टायलमा तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ओलम्पियन डुवाना लामाले १०० मिटर ब्रेस्टस्ट्रोक र २०० मिटर फ्रिस्टायल तथा आर्या महर्जनले ५० र १०० मिटर फ्रिस्टायल स्पर्धामा भाग लिनेछिन्।

टोलीमा व्यवस्थापकको रूपमा नेपाल पौडी संघका सदस्य विकास शर्मा र प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य पौडी प्रशिक्षक शंकर कार्की छन्। जुलाई ११ देखि सुरु भइसकेको प्रतियोगिता अगस्ट ३ सम्म चल्नेछ भने नेपालका खेलाडी जुलाई २७ देखि स्पर्धामा उत्रनेछन्।

प्रतिस्पर्धा तालिका अनुसार, जुलाई २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १०० मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २०० मिटर फ्रिस्टायल, २९ मा डुवानाले २०० मिटर फ्रिस्टायल, ३० मा इर्भिनले १०० मिटर फ्रिस्टायल, ३१ मा आर्याले १०० मिटर फ्रिस्टायल, अगस्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ तारिखमा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। टोली अगस्ट ४ मा नेपाल फर्कने कार्यक्रम छ।

टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले बिदाइ गरेका थिए। सो अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई आत्मविश्वासका साथ प्रदर्शन गर्न सुझाव दिए। अध्यक्ष श्रेष्ठले खेलाडीबाट कम्तीमा दुई राष्ट्रिय कीर्तिमानको अपेक्षा गरिएको जनाउँदै अभिभावकहरूको योगदानको प्रशंसा गरे। प्रशिक्षक कार्कीले प्रतियोगिताले २०औं एसियाली खेलकुदको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका