काठमाडौँ, २३ असार: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्था विद्यालय शिक्षा विधेयकमा समावेश गर्न प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ।
क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले समितिका सभापति अम्मरबहादुर थापालाई आज ज्ञापनपत्र बुझाउँदै शिक्षकको आत्मसम्मानको संरक्षण र सेवासुविधा समयानुकूल बनाउने व्यवस्था विधेयकमा सुनिश्चित गर्न माग गरेको हो। साथै, शिक्षक नियुक्ति पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट हुनुपर्नेमा जोड दिइएको छ।
संस्थाले परम्परागत रूपमा सञ्चालनमा रहेका धार्मिक विद्यालय—मदरसा, गुम्बा आदि—लाई समकक्षता दिई मूलधारमा ल्याउने विषयमा स्पष्ट नीति आवश्यक रहेको सुझाव दिएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिनुभयो। त्यस्तै, राष्ट्रिय पाठ्यक्रम परिषद् र पाठ्यक्रम विकास केन्द्रलाई गाभेर एउटै निकाय बनाउनु पर्ने प्रस्ताव पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
विधेयक लागू भएपछि पाँचदेखि १० वर्षभित्रमा निजी विद्यालयहरूलाई शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्ने र निजी गुठीका रूपमा सञ्चालन भइरहेका विद्यालयहरू १० वर्षभित्र सार्वजनिक गुठीमा परिणत गरी सञ्चालन गर्नुपर्ने सुझाव पनि क्रान्तिकारीले दिएको छ।


