काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो जीत दर्ता गरेको छ।
विराटनगर किङ्ग्सले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै सहजै पूरा गर्यो। लुम्बिनीका ओपनर डार्सी सर्टले उत्कृष्ट ५७ रन बनाए। विराटनगरतर्फ कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २/२ तथा बसिर अहमदले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोड्यो। लोकेश बमले ३५, बसिर अहमदले २८ र साम हिजलेटले २७ रनको योगदान गरे। लुम्बिनीका शेर मल्लले शानदार बलिङ गर्दै ३ विकेट झारे।
यो जीतसँगै लुम्बिनीले छ अंक बनाएर प्लेअफको सम्भावना बलियो पारेको छ। छ खेलबाट आठ अंक जोडेको विराटनगर पनि प्लेअफ दौडमै रहेको छ।


