काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ।
घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले जितसहित सुखद बनाउने लक्ष्य राखेको छ। अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रँदैछ भने अमेरिका हारको बदला लिने योजनामा रहेको छ।
अंक तालिकामा समान २७ खेल खेले पनि अमेरिका शीर्ष स्थानमा रहेको छ भने नेपाल पाँचौँ स्थानमा छ। अमेरिकाले १९ जितसहित ३८ अंक जोडेको छ। नेपालले १० खेलमा जित हात पार्दा १५ खेलमा हार बेहोरेर २२ अंकसहित पाँचौँ स्थानमा रहेको छ।
विश्वकप छनोटको सम्भावना कायम राख्न तथा एकदिवसीय मान्यता जोगाउन नेपाललाई अब बाँकी सबै खेल जित्नुपर्ने दबाब रहेको छ। अमेरिका भने शीर्ष स्थान सुरक्षित गर्दै उपाधि उचाल्ने लक्ष्यमा रहेको छ।
यसअघि कीर्तिपुरमै भएको भेटमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। उक्त खेलमा नेपालको प्रदर्शन प्रभावशाली रहेको थियो।
घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म चारमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो।


