Wednesday, May 20, 2026
Homeअन्तराष्ट्रियलस एन्जलस नजिक भीषण डढेलो, हजारौँलाई घर खाली गर्न आदेश

लस एन्जलस नजिक भीषण डढेलो, हजारौँलाई घर खाली गर्न आदेश

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिक पर्ने सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण झाडी तथा घाँसे डढेलो तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ।

आगो तीव्र रूपमा मानव बस्तीतर्फ फैलिन थालेपछि स्थानीय प्रशासनले हजारौँ बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ।

करिब एक लाख २५ हजार जनसंख्या रहेको सिमी भ्यालीमा सोमबार बिहानदेखि आगलागी सुरु भएको थियो। अग्निनियन्त्रण निकायका अनुसार प्रतिघण्टा ५६ किलोमिटरको गतिमा चलेको हावाले आगो नियन्त्रण प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ।

अधिकारीहरूका अनुसार आगो छोटो समयमै ५५२ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ। हालसम्म कम्तीमा एउटा घर जलेर नष्ट भएको पुष्टि भए पनि मानवीय क्षति वा घाइतेको विवरण सार्वजनिक भएको छैन।

आगो घना बस्तीतर्फ फैलिने जोखिम बढेपछि सिमी भ्याली र छिमेकी थाउजेन्ड ओक्सका विभिन्न क्षेत्रमा आकस्मिक निकासी आदेश जारी गरिएको छ। उत्तरी लस एन्जलसका केही आवासीय क्षेत्रमा भने सतर्कता चेतावनी जारी गरिएको छ।

लस एन्जलसकी मेयर करेन बासले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै परिस्थिति जुनसुकै बेला जटिल बन्न सक्ने चेतावनी दिएकी छन्। उनका अनुसार हाल आगो लस एन्जलस मुख्य सहरसम्म पुग्ने सम्भावना कम भए पनि मौसम र हावाको दिशामा परिवर्तन आए जोखिम बढ्न सक्छ।

साँझतिर हावाको गति केही कम भए पनि उच्च तापक्रम, कम चिस्यान र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण आगो नियन्त्रणमा लिन अझै कठिन भइरहेको अग्निनियन्त्रण निकायले जनाएको छ।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, खडेरी र अत्यधिक गर्मीका कारण क्यालिफोर्निया क्षेत्रमा यस्ता विनाशकारी डढेलोका घटना लगातार बढ्दै गएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका