Thursday, September 3, 2026
Homeअर्थ र ब्यापारकृष्णभीर बाढीपछि काठमाडौंमा एलपी ग्यासको मूल्य बढ्यो, प्रतिलिन्डर रु. २,१६५.३८ सम्म

कृष्णभीर बाढीपछि काठमाडौंमा एलपी ग्यासको मूल्य बढ्यो, प्रतिलिन्डर रु. २,१६५.३८ सम्म

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको ढुवानी तथा वितरण प्रभावित भएको छ।

सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ग्यास ढुवानी लागत बढेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा आएको बाढीले पृथ्वी राजमार्गको केही भाग कटान गरेपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास सिलिन्डरको बिक्री–वितरणमा समस्या उत्पन्न भएको संघले जनाएको हो।

समस्या समाधानका लागि सोही दिन नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच छलफल भएको थियो। छलफलपछि काठमाडौं उपत्यकामा बजार व्यवस्थापन गरिरहेका ग्यास उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउन दिने निर्णय गरिएको थियो।

संघका अनुसार हेटौँडास्थित सहरा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा करिब १३१ किलोमिटर दूरी तय गर्नुपर्छ। यस क्रममा प्रतिसिलिन्डर थप रु. ९३.२६ ढुवानी खर्च लाग्ने र नियमानुसार लाग्ने करसहित उक्त रकम रु. १०५.३८ कायम गरिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघको ३१औँ वार्षिक साधारणसभाले काठमाडौं उपत्यकामा ग्यास बिक्री–वितरण गर्ने उद्योगहरूलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर रु. २ हजार ६० मा थप ढुवानी खर्चबापत रु. १०५.३८ भन्दा बढी नलिन आग्रह गरेको छ।

यसअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको प्रतिसिलिन्डर अधिकतम रु. २ हजार १६५.३८ मा बिक्री–वितरण गर्न संघले ग्यास उद्योगहरूलाई अनुरोध गरेको छ।

संघका अध्यक्ष दिवानबहादुर चन्दले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा विषम परिस्थितिलाई ध्यानमा राख्दै संघ, ग्यास उद्योगी तथा बिक्रेतालाई नयाँ सिलिन्डरको बजारीकरण नगर्न र नगराउनसमेत आग्रह गरिएको छ।

सडक अवरोधका कारण उत्पन्न असहज परिस्थितिमा ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ढुवानीको व्यवस्था गरिएको भन्दै संघले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम नतिर्नसमेत आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका