Friday, June 26, 2026
Homeराजनीतिराष्ट्रियसभा सदस्य पूजा चौधरीद्वारा एक वर्षे कार्यकालको समीक्षा

राष्ट्रियसभा सदस्य पूजा चौधरीद्वारा एक वर्षे कार्यकालको समीक्षा

काठमाडौँ: राष्ट्रियसभा सदस्य पूजा चौधरीले आफ्नो एक वर्षे कार्यकाललाई समीक्षा गर्दै चुनौतीपूर्ण भए पनि इमान्दारीपूर्वक जिम्मेवारी पूरा गरेको बताउनुभएको छ। संसद्मा बोल्दा गहिरो अध्ययन, अनुशासन र तयारी आवश्यक पर्ने महसुस भएको उल्लेख गर्दै उहाँले बाढी, पहिरो, डुबान, आगलागी, भूकम्पजस्ता जनताका महत्वपूर्ण समस्या सभामा उठाउन सकेको बताउनुभयो।

सांसद चौधरीले महिला अधिकार, महिला हिंसा, मधेसी समुदायका मुद्दा, मुलुकमा बढ्दै गएको महँगी, भ्रष्टाचार, शान्ति सुरक्षा जस्ता विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो। साथै, संविधानको मर्मअनुसार कानुन निर्माणको प्रक्रियामा आफूले निरन्तर योगदान दिइरहेको र अझै थुप्रै मौलिक हकसम्बन्धी कानुनहरू बनाउन बाँकी रहेको कुरामा उहाँले जोड दिनुभयो।

महिला हक र समानुपातिक प्रतिनिधित्वको माग
चौधरीले महिलाको हकमा संविधान संशोधनको आवश्यकता रहेको बताउँदै, महिलाहरूलाई मात्र समानुपातिक प्रणालीबाट नभई प्रत्यक्ष निर्वाचनमार्फत संसद्मा ल्याउनुपर्ने धारणा राख्नुभयो। ३३ प्रतिशत प्रतिनिधित्व पर्याप्त नभएको भन्दै महिला-पुरुषबीचको प्रतिस्पर्धा हैन, महिला-महिलाबीचको प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले शिक्षामा लगानी गर्नुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, र महिलाको आर्थिक सशक्तीकरणलाई विशेष प्राथमिकता दिनुपर्ने चौधरीले बताउनुभयो।

संघीयता सुदृढीकरण र सुशासनको आवश्यकता

संघीयता सुदृढीकरणका लागि संघीय सरकारले निजामती सेवा ऐन, शिक्षा ऐन, प्रहरी ऐनलगायत कानुन तत्काल ल्याउनुपर्नेमा चौधरीले जोड दिनुभयो। नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति र भाषालाई समेट्ने नीति अपनाउनुपर्ने उहाँको धारणा छ।

सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने, संघीय, प्रदेश, र स्थानीय तीनै तहका सरकारले जनतालाई छिटो र प्रभावकारी सेवा दिनुपर्ने, र प्रशासनमा व्याप्त ढिलासुस्ती हटाउनुपर्ने चौधरीले बताउनुभयो।

रोजगार सिर्जना र शिक्षामा सुधारको आवश्यकता
चौधरीले नेपाली युवा विदेशीने क्रम रोक्न देशभित्र रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै, रोजगारमुखी शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको सुरक्षाका विषयमा सरकारले चनाखो रहनुपर्ने भन्दै उहाँले भारतमा हालै भएको प्रकृति लम्साल घटनालाई उदाहरणस्वरूप प्रस्तुत गर्नुभयो।

राजनीतिक दलप्रति असन्तोष
चौधरीले राजनीतिक दलहरू सरकार बनाउने र गिराउने खेलमै अल्झिएको आरोप लगाउँदै, नेताहरूले आफ्नो पार्टी र कार्यकर्ताको मात्र पक्षपोषण गर्ने प्रवृत्तिले मुलुकलाई क्षति पुर्याइरहेको बताउनुभयो। चुनावका बेला जनतालाई दिइएका आश्वासन पूरा गर्न सबै दलहरू गम्भीर हुनुपर्ने उहाँको भनाइ छ।

मधेसी समुदायका मुद्दा र आगामी प्राथमिकता
मधेसी समुदायमा व्याप्त अशिक्षा, गरिबी, र महिला हिंसाका समस्याहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको चौधरीले बताउनुभयो। अन्य प्रदेशहरूभन्दा मधेसमा महिला हिंसा उच्च रहेको भन्दै, यसको अन्त्यका लागि आफ्नो सक्रिय भूमिका रहने बताउनुभयो।

नेपाल सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नीतिलाई सार्थक बनाउन मधेसी समुदायलाई आर्थिक, सामाजिक, राजनीतिक, र सांस्कृतिक रूपमा सशक्त बनाउनुपर्ने, र शिक्षामा राज्यले लगानी गर्नुपर्ने चौधरीले बताउनुभयो।

राष्ट्रियसभा सदस्य पूजा चौधरीको परिचय

पूजा चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य हुनुहुन्छ। रौतहटको गुजरा नगरपालिका–८ की स्थायी बासिन्दा चौधरी विशेष गरी महिलाका अधिकार र सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय हुनुहुन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका