खोटाङ: नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलमा आयोजना गरेको ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’ को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ।
नेपाल सितोरियो कराँते सङ्घ खोटाङसँगको सहकार्यमा आयोजित प्रतियोगिता ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत सम्पन्न भएको हो।
बुधबार सम्पन्न फाइनल खेलमा छ दशमलव पाँच अंक जोड्दै नेपालीले सात राउन्डको खेलमा प्रथम स्थान हासिल गर्नुभयो।
समान पाँच दशमलव पाँच अंक प्राप्त गर्दै सुनसरीका हिमाल राई दोस्रो र खोटाङका धिरेन राई तेस्रो स्थानमा रहनुभयो।
शीर्ष १० खेलाडीहरूको नतिजा:
४. रुपेश जैसवाल (रौतहट)
५. मुहाननर्सिङ श्रेष्ठ (सुनसरी)
६. सुमन श्रेष्ठ (झापा)
७. प्रदीप राई (भोजपुर)
८. नवीन तन्दुकार (काठमाडौँ)
९. राजन सुवेदी (झापा)
१०. उमेश राई (मोरङ)
प्रतियोगितामा विभिन्न जिल्लाबाट ४१ जना खेलाडी सहभागी थिए।
बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङका अनुसार, प्रतियोगिता दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न भएको हो।
पुरस्कार विवरण:
प्रतियोगितामा उत्कृष्ट १० स्थान हासिल गर्ने खेलाडीहरूलाई निम्नअनुसार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ:
प्रथम: रु २५,०००
द्वितीय: रु १५,०००
तृतीय: रु १०,०००
चौथो: रु ८,०००
पाँचौँ: रु ७,०००
छैटौँदेखि दशौँसम्म: जनही रु ४,०००
प्रतियोगिताबाट अनरेटेड, भेट्रान, जिल्ला प्रथम, १६ वर्षमुनिको उत्कृष्ट खेलाडी तथा नगर प्रथम खेलाडीहरू पनि चयन गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो।
टेबलटेनिस प्रतियोगिता पनि जारी
महोत्सवको पाँचौँ दिनसम्म खुला पुरुष तथा खुला जुनियर महिला/पुरुष टेबलटेनिस प्रतियोगिता पनि जारी छ।
खुला पुरुष टेबलटेनिसमा:
प्रथम हुनेलाई: रु २५,०००
द्वितीयलाई: रु १२,५००
सेमिफाइनलमा पुग्ने दुई जनालाई: जनही रु ६,२५०
नगद पुरस्कार प्रदान गरिनेछ।


