वीरेन्द्रनगर (सुर्खेत), ४ असार: भेरीगङ्गा नगरपालिका–११ रामघाटका किसानहरू पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित हुँदै गएका छन्। परम्परागत रूपमा मकै खेती गर्दै आएका किसानहरू अहिले मकैका बारीमा लिची र आँपका बोट रोप्न थालेका छन्।
लिची र आँपलाई यस क्षेत्रका प्रमुख नगदे फलफूलका रूपमा लिइँदै आएको छ। पछिल्ला केही वर्षमा किसानहरूले मकैभन्दा फलफूलखेतीलाई बढी लाभदायक देखेपछि बारीको डिल, घरको आँगन र छेउछाउमा लिची र आँपका बिरुवा रोप्न थालेका हुन्।
गाउँभर अहिले लिची टिप्ने चटारो छ। किसानहरू भ¥याङ ठड्याएर लिची टिप्न व्यस्त छन्। रामघाट–११ की रूपा धौलाकोटीले करिब चार बिघा क्षेत्रफलमा ३० वटा लिची र १५० वटा आँपका बोट रोपेकी छन्। २५ वर्षअघि रोपिएका ती बोटहरू अहिले आम्दानीको प्रमुख स्रोत बनेका छन्। “यसपालि हावाहुरीले आँपमा असर गर्यो, तर लिची राम्रो फल्यो,” उहाँले बताउनुभयो।
धौलाकोटीका अनुसार लिची बोटमै प्रतिकिलो रु १०० देखि १५० मा बिक्री हुन्छ। ग्राहकहरू आफैँ घरमै आएर किन्ने भएकाले बजार खोज्न जानु नपर्ने र सोही ठाउँमै राम्रो मूल्य पाइने उहाँले बताउनुभयो। “लिचीबाट मात्र वार्षिक एक लाखभन्दा बढी आम्दानी हुन्छ,” उहाँले भनिन्, “घर खर्च चलाउन र केही बचत गर्न यसले सहयोग पुग्छ।”
उहाँले थप्नुभयो, “बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा धेरै हुने भएकाले उपभोक्ता स्वयम् बगैँचामै आएर किन्न थालेका छन्, जसले हामी किसानलाई बजारको झन्झटबाट मुक्त तुल्याएको छ।”
रूपा धौलाकोटी जस्तै रामघाट–११ का अर्का किसान टेकबहादुर धमला पनि लिची खेतीबाट लाभ उठाउँदै आएका छन्। पाँच रोपनी जमिनमा लिची खेती गर्दै आउनुभएका उहाँले यस वर्ष झण्डै एक लाख रुपैयाँ आम्दानी गर्न सफल भएको बताउनुभयो। “यो वर्ष कीराले केही असर गर्यो, तर आम्दानी सन्तोषजनक रह्यो,” उहाँले भन्नुभयो।
धमलाका अनुसार लिची खेतीले सस्तो लागतमा राम्रो आम्दानी दिन्छ। “पानी, मल र समयमै हेरचाह गर्न सके लिची राम्रो फल्याउँछ र बजारमा पनि माग उच्च छ,” उहाँले बताउनुभयो।
रामघाट क्षेत्रका अधिकांश घरमा दुई–चार वटा लिचीका बोट देखिन्छन्। कतिपय किसानहरूले भने लिची खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन्। धमलाले भने, “सुरुवाती लगानी धेरै नपर्ने र बजार सजिलो भएकाले लिची खेती किसानका लागि आकर्षक बन्दै गएको छ।” उहाँका अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए किसानहरू अझ बढी आकर्षित हुनेछन्।
हाल रामघाटका किसानहरूले वीरेन्द्रनगर, नेपालगञ्ज र दाङ लगायत आसपासका बजारमा लिची बिक्री गरिरहेका छन्। भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नं. ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन्। उहाँले भन्नुभयो, “वडा नं. १२, ७ र ८ मा पनि लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ।”
रामघाट क्षेत्रमा हाल आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती हुँदै आएको छ। कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशत भूभाग वडा नं. ११ र १३ मा पर्छ।
कृषि शाखा प्रमुख विसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्न विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। “कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरणको कार्यक्रम यस वर्ष पनि जारी छ,” उहाँले भन्नुभयो, “फलफूल बगैँचा सुधार र क्षेत्र विस्तार हाम्रो प्राथमिकता हो।”


