काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो राजीनामाबारे फैलिएका अड्कलबाजीलाई अस्वीकार गर्दै आफू पदमै कायम रहने स्पष्ट पारेका छन्। इरानी सञ्चारमाध्यमहरूले उनको भिडियो सन्देश सार्वजनिक गरेका हुन्।
पछिल्ला दिनहरूमा इरानी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको परिवारसँग निकट मानिने धर्मगुरु मोहम्मद बगर खराजीको अभिव्यक्ति व्यापक रूपमा चर्चामा आएको थियो।
खराजीले मोजतबा खामेनेईलाई उद्धृत गर्दै, “यदि पेजेस्कियानले फेरि राजीनामा दिए भने हामी त्यसलाई स्वीकार गर्नेछौँ,” भन्ने दाबी गरेका थिए। त्यसपछि राष्ट्रपति पेजेस्कियानको सम्भावित राजीनामाबारे विभिन्न अड्कलबाजीहरू सुरु भएका थिए।
तर, राष्ट्रपति पेजेस्कियानले आफ्नो पछिल्लो सम्बोधनमार्फत ती सबै हल्लाको खण्डन गर्दै आफूले राजीनामा नदिने र आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गर्ने स्पष्ट पारेका छन्।
उनले सरकार र देशका सैन्य निकायबीच पूर्ण समन्वय रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको पनि बताए।
यसअघि उनले इरान आफ्नो सीमाको रक्षा गर्न सक्षम रहेको तर युद्धको दायरा विस्तार गर्ने कुनै उद्देश्य नरहेको बताएका थिए।


