Tuesday, August 4, 2026
Homeअन्तराष्ट्रियप्रशान्त किशोरको ऐतिहासिक जित, भाजपाको ३० वर्ष पुरानो गढ भत्कियो

प्रशान्त किशोरको ऐतिहासिक जित, भाजपाको ३० वर्ष पुरानो गढ भत्कियो

काठमाडौं। भारतको बिहार राज्यस्थित बाँकीपुर विधानसभा उपनिर्वाचनमा जनसुराज पार्टीका संस्थापक तथा चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर (पीके) ले ऐतिहासिक विजय हासिल गरेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा) को करिब तीन दशक लामो प्रभुत्व अन्त्य गर्दै पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सफलता हात पारेका हुन्।

अन्तिम मतपरिणामअनुसार किशोरले ६४,१५१ मत प्राप्त गर्दै भाजपाका उम्मेदवार नीरज कुमार सिन्हालाई १९,३२४ मतान्तरले पराजित गरे। सिन्हाले ४४,८२७ मत प्राप्त गर्दा राष्ट्रिय जनता दल (आरजेडी)की उम्मेदवार रेखा कुमारी १४,२७३ मतसहित तेस्रो स्थानमा रहिन्।

बाँकीपुर (साविक पटना पश्चिम) विधानसभा क्षेत्र सन् १९९५ देखि लगातार भाजपाको प्रभावमा रहँदै आएको थियो। यस क्षेत्रबाट भाजपाका नेता नितिन नवीन पाँच पटक विधायक निर्वाचित भएका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो।

गत नोभेम्बर २०२५ को बिहार विधानसभा निर्वाचनमा जनसुराजले २३८ सिटमा उम्मेदवारी दिए पनि कुनै सिट जित्न सकेको थिएन। तर यसपटक प्रशान्त किशोरले भाजपाको परम्परागत गढमै जित निकाल्दै आफ्नो राजनीतिक यात्रालाई नयाँ उचाइ दिएका छन्।

युवा आन्दोलनको समर्थन निर्णायक

प्रशान्त किशोरको जितमा बेरोजगारी, परीक्षा अनियमितता र सुशासनको माग गर्दै चलेको युवा आन्दोलनको समर्थन महत्वपूर्ण मानिएको छ। भ्रष्टाचारविरोधी अभियान र सुशासनको एजेन्डालाई प्राथमिकता दिएका किशोरले विशेषगरी युवा र महिलामाझ उल्लेखनीय समर्थन प्राप्त गरेको विश्लेषण गरिएको छ।

रणनीतिकारदेखि जनप्रतिनिधिसम्म

२० मार्च १९७७ मा बिहारको रोहतास जिल्लामा जन्मिएका प्रशान्त किशोरले सार्वजनिक स्वास्थ्य क्षेत्रमा काम गरेपछि भारतीय राजनीतिमा चुनावी रणनीतिकारका रूपमा आफ्नो पहिचान बनाएका थिए। उनले इन्डियन पोलिटिकल एक्सन कमिटी (I-PAC) स्थापना गरी भारतका विभिन्न प्रमुख राजनीतिक दल र नेताका लागि चुनावी रणनीति निर्माण गरेका थिए।

पछि २ अक्टोबर २०२४ मा जनसुराज पार्टी स्थापना गर्दै प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका किशोरले अब पहिलोपटक जनप्रतिनिधिका रूपमा निर्वाचन जित्दै आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा सफल बनाएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका