काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
यद्यपि, अधिकारी अन्य मुद्दामा समेत थुनामा रहेकाले यस मुद्दामा धरौटी बुझाए पनि तत्काल थुनामुक्त भने हुने छैनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार ठेक्का सम्झौताअनुसार राजस्व ठेकेदार कम्पनीले नै तिर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको विपरीत राजस्व छुट दिइएको आरोपमा प्रतिवादीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ।
राजस्व छुटसम्बन्धी यसअघि दायर भएका यही प्रकृतिका मुद्दामा अन्य आरोपितहरू पनि धरौटीमा रिहा भइसकेका छन्।


