Wednesday, August 5, 2026
Homeअपराध र घटनाचितवनमा एक वर्षमा अनलाइन ठगीबाट १२ करोडभन्दा बढी रकम ठगियो

चितवनमा एक वर्षमा अनलाइन ठगीबाट १२ करोडभन्दा बढी रकम ठगियो

चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ५२१ वटा अनलाइन ठगीका उजुरी दर्ता भएका छन्। ती उजुरीअनुसार अनलाइन माध्यमबाट १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ।

उनका अनुसार पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत शंकास्पद लिङ्क पठाउने, उपहारको प्रलोभन देखाउने तथा विभिन्न बहानामा रकम ठगी गर्ने घटना बढ्दै गएका छन्। दैनिक रूपमा अनलाइन ठगीका उजुरी आउने गरेको र २०० रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म ठगिएको घटनाहरू दर्ता हुने गरेको उनले बताए।

प्रहरीले अपरिचित व्यक्तिबाट आएका फ्रेन्ड रिक्वेस्ट वा सन्देश सहजै स्वीकार नगर्न, शंकास्पद लिङ्क नखोल्न तथा कुनै पनि अनलाइन कारोबार गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। अनलाइन ठगी भएको आशंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

त्यसैगरी, गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ३९० वटा निवेदन दर्ता भएका छन्। तीमध्ये ३७५ वटा फर्छ्योट भइसकेका छन् भने १५ वटा निवेदन अनुसन्धानकै क्रममा रहेका छन्।

प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसम्बन्धी ४११ वटा निवेदन दर्ता भएका थिए। तीमध्ये ३९८ वटा फर्छ्योट भएका थिए भने १३ वटा बाँकी रहेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका