काठमाडौं। म्यान्मारकी पूर्व नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सु की करिब पाँच वर्षको लामो हिरासतपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन्।
म्यान्मारको सैन्य सरकारले सोमबार सु कीका केही तस्बिर सार्वजनिक गरेको हो। ती तस्बिरमा उनी इन्टरनेसनल कमिटी अफ द रेडक्रस (ICRC) का म्यान्मार प्रतिनिधि अर्नो डे ब्याकसँग भेटघाट गरिरहेको देखिन्छ। सन् २०२१ को सैन्य ‘कू’पछि बाह्य विश्वसँग उनको यो पहिलो सार्वजनिक सम्पर्क मानिएको छ।
सैन्य सरकारका अनुसार भेटघाट सोमबार बिहान भएको हो। तर, उक्त भेट कहाँ भएको थियो र छलफलका विषयवस्तु के थिए भन्नेबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।
सार्वजनिक गरिएका तस्बिरहरूमा ८१ वर्षीया सु कीले आफ्नो ८१औँ जन्मदिनको केक काट्दै गरेको दृश्य पनि समावेश छ। उनी मुस्कुराइरहेको र सामान्य अवस्थामा देखिए पनि उनको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन।
सन् २०२१ फेब्रुअरीमा म्यान्मारको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिएपछि सु कीलाई हिरासतमा राखिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी थिइनन् र बाह्य विश्वसँगको सम्पर्कसमेत पूर्ण रूपमा सीमित गरिएको थियो।
पाँच वर्षपछि सार्वजनिक भएका यी तस्बिरले म्यान्मारको राजनीतिक अवस्था र सु कीको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको चासो पुनः बढाएको छ।


