काठमाडौं । पूर्वी रोमानियाको बाकाउ शहरमा आइतबार बिहानै रेलको टक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ।
आपत्कालीन सेवा अधिकारीहरूका अनुसार दुर्घटना बाकाउको चिमिये स्ट्रिट नजिकै बिहान करिब ३:२१ बजे भएको थियो, जहाँ दुवै जनालाई गुडिरहेको रेलले ठक्कर दिएको थियो।
बाकाउ आपत्कालीन स्थिति निरीक्षकका अनुसार दुर्घटनाको खबर पाएलगत्तै अग्निनियन्त्रक र प्यारामेडिक्सको टोलीलाई दमकल, हेभी उद्धार वाहन, मोबाइल इन्टेन्सिभ केयर युनिट र प्राथमिक उपचार एम्बुलेन्ससहित घटनास्थलमा खटाइएको थियो।
घटनास्थलमा पुग्दा आपत्कालीन टोलीले दुवै पीडितलाई मृत अवस्थामा भेटेका थिए।
‘रेलमार्गमा ठक्कर परेका दुई जनालाई घटनास्थलमै पहिचान गरिएको थियो, उनीहरू दुवैमा जीवनको कुनै लक्षण थिएन। दुर्भाग्यवश, स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई मृत घोषणा गर्यो,’ आइएसयु बाकाउले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रारम्भिक जानकारी अनुसार मृतकहरू नेपाली नागरिक हुन्। अधिकारीहरूले हालसम्म उनीहरूको पहिचान भने सार्वजनिक गरेका छैनन्।
ती व्यक्तिहरू कसरी रेलको लिकमा पुगे र दुर्घटना कसरी भयो भन्नेबारे यकिन कारण पत्ता लगाउन प्रहरी र रेलवे अधिकारीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन्।


