सिरहा। सिरहाको गोलबजारमा हालै भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै छानबिन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो।
टोलीले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा अन्य उपलब्ध सूचनाहरू संकलन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, पीडित पक्ष र सरोकारवालासँग छलफल गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण, त्यसको पृष्ठभूमि तथा जिम्मेवारीबारे निष्पक्ष र वस्तुनिष्ठ अध्ययन गरी प्रतिवेदन तयार पारिने टोलीले जनाएको छ।
गृह मन्त्रालयले छानबिनलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जनाएको छ।
गोलबजार घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सरकारले घटनाको निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गर्ने उद्देश्यले उच्चस्तरीय छानबिन टोली गठन गरेको हो।


