भन्सार छली तथा माल वस्तुको चोरी पैठारी गरी राजस्व चुहावट गर्ने प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्गलाई राजस्व अनुसन्धान विभागले एक करोड २ लाख ६० हजार विगो दाबीसहित उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेको छ ।
स्थायी लेखा नम्बर (पान नं) ६०६७४५४१९ रहेको थापाथली ११, काठमाडौंका संचालक विज्ञानजंग राणा र वेदान्तजंग राणाले भन्सार चोरी पैठारी गरेको आरोपमा विभागले उक्त मुद्दा दर्ता गराएको हो ।
उक्त फर्मले राजस्व चुहावट तथा अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ विरुद्धको कार्य गरेकाले सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (ग) बमोजिम एक करोड २ लाख ६०० हजार विगो दाबी र सो ब्याज समेत असुल उपर गर्न उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
उक्त विगोदाबी सहितको ब्याज असुलपछि बरामत गरिएका माल वस्तु समेत जफत गरिने विभागले जनाएको छ ।


