काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यसअघि सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण मुद्दाबाट रिहा भएका मिश्र केही समयदेखि सम्पर्कविहीन रहेको भनिएको थियो। उनी आज जिल्ला अदालतमा उपस्थित भएपछि थुनछेक सम्बन्धी बहस भएको थियो। सो बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो।
यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआएपछि खोजी प्रक्रिया सुरु गरिएको थियो। उनी सोमबार अदालतमा उपस्थित भएपछि थुनछेक बहस सम्पन्न भएको थियो र सोही दिन उनलाई पनि तीन लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राति प्रहरीले पक्राउ गरेको थियो।


