बैतडी: एसिसी मेन्स यु–१६ इस्ट जोन कप–२०२५ को सुदूरपश्चिम क्षेत्रीय छनोटमा कैलालीले लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशको दाबी बलियो बनाएको छ। पहिलो खेलमा अछामलाई ७१ रनले हराएको कैलालीले सोमबार दार्चुलामाथि ९४ रनको फराकिलो जित दर्ता गर्यो।
पहिले ब्याटिङ गर्दै कैलालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो। अविरल विकले अविजित ५३ रनको अर्धशतकीय पारी खेले। दार्चुलाका रोशन मिश्र र पुरषोत्तम रावलले दुई–दुई विकेट लिए।
१३१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दार्चुला १६.३ ओभरमै जम्मा ३६ रनमा अलआउट भयो। दार्चुलाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कैलालीका रुद्रप्रसाद आचार्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए। स्कोरर नुरेन अन्सारीका अनुसार यो दार्चुलाको लगातार दोस्रो हार हो, जसले टोली प्रतियोगिताबाट बाहिरिएको छ।
सोमबार नै तय भएको अछाम र कञ्चनपुरबीचको खेल वर्षाका कारण रद्द भयो, जसले दुवै टोलीले समान अंक बाँडेका छन्। आज (मंगलबार) हुने कैलाली र कञ्चनपुरबीचको खेलले फाइनलमा पुग्ने टोली तय गर्नेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशस्तरीय टोलीमा छनोट गरिने संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।
एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघले यही महिनाभित्र राष्ट्रिय स्तरको छनोट प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ।


