Wednesday, May 6, 2026
Homeअपराध र घटनाबैंक खाताबाट रकम चोरी बढ्दो, साइबर ब्यूरोले सतर्कता अपनाउन आग्रह

बैंक खाताबाट रकम चोरी बढ्दो, साइबर ब्यूरोले सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएपछि नेपाल प्रहरी साइबर ब्यूरो ले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरी ले जारी गरेको विज्ञप्तिमा अज्ञात आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्तालाई लक्षित गरी नयाँ शैलीमा ठगी गरिरहेको उल्लेख छ।

ती गिरोहहरूले कनेक्ट आइपिएस जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट सन्देश पठाउने गरेको पाइएको छ।

सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँचका लागि ‘एक्सेस’ गर्न आग्रह गरिन्छ र शङ्कास्पद लिङ्कहरू पठाइन्छन्। प्रयोगकर्ताले त्यस्ता लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत विवरण संकलन गरी बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर रकम चोरी गर्ने गरिएको ब्यूरोले जनाएको छ।

यस्ता साइबर अपराधबाट बच्न ब्यूरोले शङ्कास्पद लिङ्कमा क्लिक नगर्न, बैंकिङका लागि सधैं आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्न, गोप्य विवरण कसैसँग पनि साझेदारी नगर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैंकमा जानकारी गराउन आग्रह गरेको छ।

साइबर अपराधको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेकाले सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका