भक्तपुर:भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा आठ वर्षदेखि ६८ वर्ष उमेर समूहका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्।
भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भएको प्रतियोगितामा भारत र इङ्ग्ल्याण्डसहित नेपालका २५ जिल्लाबाट पाँच महिलासहित १२७ जना खेलाडी सहभागी छन्। सहभागीमध्ये भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडी रहेका छन्।
नेपालका पहिलो अन्तरराष्ट्रिय आरबिटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिताअन्तर्गत शुक्रबार पाँच राउण्ड खेल सम्पन्न भएको र शनिबार थप चार राउण्ड खेलिने जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल बौद्धिक क्षमताले भरिएको खेल भएको बताउँदै अन्तरराष्ट्रिय स्तरमा नेपालको प्रभावशाली उपस्थिति सुनिश्चित गर्नका लागि दक्ष खेलाडी उत्पादन गर्न आवश्यक रहेको धारणा राख्नुभयो।


