Monday, August 24, 2026
Homeअपराध र घटनाबालिका बलात्कार–हत्या प्रकरणको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

बालिका बलात्कार–हत्या प्रकरणको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या घटनामा पक्राउ परेका आरोपीको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

सोमबार बिहान अनुसन्धानका क्रममा आरोपीसँग सोधपुछ गरिएका विषयको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि प्रहरीले छानबिन थालेको थियो । छानबिनका क्रममा बारा प्रहरीले आफ्नै मातहतका प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो ।

बारा जिल्लामै दरबन्दी भएका विकले अनुसन्धानका क्रममा तयार भएको भिडियो आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएको र त्यहीँबाट भिडियो सामाजिक सञ्जालमा फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरका अनुसार गोपनीयताको अधिकार हनन गरेको आरोपमा विकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसअघि बालिकाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बयान दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो । अनुसन्धानका क्रममा तयार भएका संवेदनशील सामग्री सार्वजनिक भएको विषयमा प्रहरीले आन्तरिक छानबिनसमेत अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका